काठमाडौं : वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने प्रलोभनमा पारी ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । धनुषा विदेह नगरपालिका– ५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका– ५ बस्ने २९ वर्षीय विशाल ठाकुर र सिरहा नगरपालिका– ८ घर भई काठमाडौं महानगरपालिका– ३२ बस्ने ३३ वर्षीय रमेशकुमार ठाकुरलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने प्रलोभनमा पारेर २ जनाबाट २१ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको जाहेरी परेको र सोही जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशलाई काठमाडौं तीनकुनेबाट र विशाललाई कोटेश्वरबाट पक्राउ गरेको हो ।
उनीहरू दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले बताएको छ ।