२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

'आधुनिक प्रविधि किसानमाझ नपुग्दा धान उत्पादनमा वृद्धि भएन'

ADV
ओमप्रकाश यादव
२०८१ असार १५ गते १६:३२
'आधुनिक प्रविधि किसानमाझ नपुग्दा धान उत्पादनमा वृद्धि भएन'

रौतहट : रौतहटसहित देशभर शनिबार २१औं राष्ट्रिय धान दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र रौतहटको आयोजनामा गरुडा नगरपालिका-५ महम्मद्पुमा यस वर्षको धान दिवस धान रोप्दै, दही, चिउरा र आँप खाएर मनाइएको छ ।

सो अवसरमा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जयसवाल, कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख सुरेन्द्र प्रसाद कुर्मी, नेता बृज किशोर यादव, नेता राम भरोस यादवलगायतका व्यक्तिहरुले खेतको हिलोमा धानको बेर्ना रोपेका थिए । "जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि" भन्ने मूल नाराका साथ यस वर्षको धान दिवस मनाइएको हो ।

मानो रोपेर मुरी फलाउने दिनका रूपमा यस दिन अधिकांश स्थानमा रोपाइँ गरी धान दिवस मनाउने गरिन्छ । खेतमा रोपाइँ गरी दही, चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ ।

कार्यक्रममा गरुडा नगरपालिकाका प्रमुख जयसवालले सरकारले आजका दिनलाई दिवसका रूपमा मनाउँदै आएपनि आधुनिक प्रविधि आमकिसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्धि हुन नसक्नु दु:खद भएको बताए ।

नेपाल कृषि प्रधान देश भएको र तराइ मधेशलाई अन्नको भण्डारको रूपमा चिन्ने गरिएको भएपनि पर्याप्त मात्रामा धान उत्पादन हुन नसक्दा भारतलगायत देशबाट खाद्यान्न आपूर्ति गर्नुपर्ने अर्थात चामल किन्नुपर्ने बाध्यता रहेको मेयर जयसवालले बताए । चाहिने जति धान आफ्नै देशमा उत्पादन गर्न सक्ने खालको योजना ल्याउन तीनै तहको सरकारले कुनै कसर बाँकी राख्न नहुनेमा मेयर जयसवालले जोड दिए ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख कुर्मीले धानको उत्पादन वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान र विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यक रहेको बताए । जलवायु परिवर्तनका कारण धानलगायत बालीहरूमा परेको नकारात्मक असर न्यूनीकरण गरी उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको प्राथमिकतामा रहेको कार्यालय प्रमुख कुर्मीले बताए ।

खडेरी तथा प्राकृतिक प्रकोप, मलबिउको अभाव, सिँचाइमा समस्यालगायत कारणले उत्पादनमा घटबढ हुने गरेको भएपनि धानको उत्पादन बढाउन स्थानीय सरकारले समेत कृषिलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका नेता बृज किशोर यादवले सरकारले कागजमा मात्र दिवस मनाउने गरेको आरोप लगाए । धान उत्पादन गर्न किसानलाई समयमा मलखाद, उन्नत जातको बिउ र सिँचाइको समस्या रहेको भएपनि सरकार किसानका समस्या समाधान गर्न उदासिन रहेको नेता यादवले बताए । 

नेपालमा ८५ प्रतिशत खेतीयोग्य जमिन रहेपनि खाद्यान्नमा अरु देशमाथि निर्भर रहनुपरेको अवस्थालाई अन्त्य गर्न उनले तीनै तहको सरकारले कृषिमा विशेष लगानी गर्नुपर्ने बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ कार्यालय सर्लाही र जोन कार्य क्षेत्र रौतहटका कृषि प्राविधिक सत्रुधन महतोले कार्यक्रम सञ्चालन गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise