२०८१ फागुन १३ गते मङ्गलवार / Feb 25 , 2025 , Tuesday
२०८१ फागुन १३ गते मङ्गलवार
Ads

माधव–झलनाथ दुरी बढ्दै

hardik ivf
जीवन शर्मा
२०८१ फागुन ११ गते ०६:३०
माधव–झलनाथ दुरी बढ्दै

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खलाबीच असमझदारी चुलिँदै गएको छ । अध्यक्ष नेपालसँग पहिलादेखि नै फरक मत राख्दै आएका खनालले शुक्रबारदेखि जारी दोस्रो केन्द्रीय कमिटी बैठकमा आफूलाई ‘सामान्य सदस्य’ भन्दै फरक मत दर्ज गरेपछि २ नेताबीचको असमझदारी थप छताछुल्ल भएको हो ।  

पार्टीको विधानमा सम्मानित र बरिष्ठ नेता केन्द्रीय कमिटीको बैठकले निर्वाचित गर्नुपर्ने व्यवस्था गरेकोप्रति नेता खनालले असन्तुष्टि जानाउँदै बैठकमा फरक मत राखेको बताए । 

खनालले पार्टीको स्थायी र पोलिटब्युरो बैठकमा लिखित रूपमा ‘गलत निर्णयलाई सच्याऔं, पार्टीलाई एकताबद्ध बनाएर अघि बढौं’ भन्दै लिखित प्रस्ताव पेस गरेका थिए । त्यस्तै, अनेरास्ववियु र युवा संघको नेतृत्व पविर्तनका विषयमा शुक्रबारको केन्द्रीय कमिटी बैठकमा असन्तुष्टि राख्दै खनालले पार्टीभित्र निरंकुश र नोकरशाही तरिका भएको संज्ञा दिएका छन् । उनले अहिले मात्र होइन, यसअघि पनि पार्टी अध्यक्ष माधव नेपालविरुद्ध ‘फरक मत’ राख्दै आएका थिए । 

बैठकमा युवा र विद्यर्थी फाँट हेर्ने नेताहरूको जिम्मेवारी हेरफेरका विषयमा अध्यक्षविरुद्ध खनिएका छन् । अपानिमार्फत अनेरास्ववियुकी अध्यक्ष आरती लामा र युवा संघका अध्यक्ष कृष्ण विकलाई दोहोरो जिम्मेवारीका नाममा पदमुक्त गरेको थियो । त्यस विषयमा अनेरास्ववियु अध्यक्ष लामा समूहका नेताहरूले समानान्तर केन्द्रीय कमिटी घोषणाका लागि गत साता झनाथ खनालकै उपस्थितिमा कार्यक्रम आयोजना गरेका थिए । त्यसपछि पार्टीमा नेपाल–खनालबीच थप तिक्तता छाएको छ ।

‘यो अवस्थामा फेरि टीके प्रथामा नियुक्ति गर्ने, मन नपर्नेलाई हटाउने, मनपरेकालाई ठाडो नियुक्ति गर्ने, छँदा खाँदाका कमिटीहरू विघटन गर्ने, उनीहरूका आफ्ना सम्मेलन र अधिवेशन गर्न नदिने, मनोमानी ढंगले नियुक्ति गर्ने, संगठनका साथीहरूमा विभाजन ल्याउने तरिका भनेको गुटबन्दीपूर्ण, विभाजनकारी र विघटनकारी तरिका हो । हाम्रो पार्टीले यस्ता तरिकाको दृढतापूर्वक विरोध र अस्वीकार गर्नुपर्छ’, उनले भनेका छन् ।   

पार्टीका बरिष्ठ नेता बेदुराम भुसाल नेतृत्वको कार्यदलले तयार पारेको विधानमा विधान छापिएर आउँदै सम्मानित नेता केन्द्रीय कमिटीले तोक्ने व्यवस्था उल्लेख भएर आएपछि खनालले चर्को असन्तुष्टि व्यक्त गरेका थिए । सोही असन्तुष्टिलाई पार्टीको केन्द्रीय कमिटी बैठकमा पनि दर्ज गरे ।

खनालले असन्तुष्टि जनाएको विधानमा भनिएको छ, ‘केन्द्रीय कमिटी पदाधिकारीसहित २९९ सदस्यीय हुने छ । यस २९९ मा केन्द्रीय कमिटीबाट मनोनीत हुने सदस्य संख्या र केन्द्रीय कमिटीले तोक्ने सम्मानित नेता एवं बरिष्ठ नेताहरूको संख्या थप हुने छ ।’ 

विधानमा सम्मानित नेता केन्द्रीय कमिटीको बैठकले तोक्ने छापिएर आएपछि उनले बैठकमा पेस गरेको लिखित प्रस्तावमा आफ्नो पद ‘साधारण सदस्य’ मात्र लेखेर फरक मत राख्दै आपत्ति जनाएको उनी निकट नेताहरूले बताएका छन् । गत असारमा भएको पार्टीको १०औं महाधिवेशनमा आफैं अध्यक्ष बन्न खोजेका खनालले चुनाव जित्न सक्ने अवस्था नदेखेपछि नेता घनश्याम भुसाललाई अध्यक्षमा अघि सार्ने तयारी गरेका थिए ।

लामो रस्साकस्सीका बीच घनश्यामलाई महासचिव बनाएर अध्यक्ष बनेका नेपाललाई खनाल समूहले महाधिवेशनयता खासै सहयोग नगरेको पोलिटब्युरो सदस्य दिलु पन्तले बताइन् । ‘सम्मानित नेता केन्द्रीय कमिटीले तोक्ने व्यवस्था छ’, उनले मध्यान्हसँग भनिन्, ‘सोही विषयलाई लिएर नेता खनालले फरक मत राख्नुभएको हो । केन्द्रीय समितिका सबै नेताहरूले निर्णय गरेपछि त्यसलाई मान्ने कुरा सामान्य हो ।’

अपानिबाट संगठनका अध्यक्षहरूलाई हटाइयो, अधिवेशन गर्न दिइएन भन्ने कुरामा फरक मत राखेका खनाललाई केन्द्रीय कमिटी बैठकले गरेको निर्णय मान्दिनँ भन्न नमिल्ने माधव नेपाल समूहका नेताहरूले टिप्पणी गरेका छन् ।

‘पार्टीले गरेको निर्णय त उहाँले पनि मान्नुपर्‍यो नि !’, पोलिटब्युरो सदस्य पन्तले भनिन्, ‘त्यो उहाँको फरक मत मात्र हो । परिवर्तन हुँदैन । पूर्ण केन्द्रीय कमिटीको बैठकले गरेको निर्णय सबैले मानेरै अघि बढ्नुपर्छ ।’

अध्यक्ष नेपालले हालै जारी गरेको अपानिमा अनेरास्ववियुको अध्यक्षबाट आरती लामा र युवा संघबाट कृष्णकुमार विश्वकर्मालाई बिदा गरिएको थियो । लामा र विश्वकर्मा दुवै झलनाथ र महाससचिव घनश्याम भुसाल निकट मानिन्छन् । 

अहिले अनेरास्ववियुको जिम्मेवारी महेश श्रेष्ठलाई दिएपछि झनाल पक्षले समानान्तर गतिविधिको तयारीसमेत गरिरहेको छ । विधानको विषय सच्चाउने पार्टीले निर्णय गरेपछि नेता खनालले अनेरास्ववियु पुनर्गठन गरिनु नेतृत्वको निरंकुश र नोकरशाही शैली भएको आरोप लगाएका छन् । 

नेपाल र खनालबीच पार्टी निर्माणपछि सबैजसो महत्त्वपूर्ण निर्णयमा भिन्न मत देखिँदै आएको छ । पार्टीको सैद्धान्तिक कार्यक्रमबाटै नेपाल र खनालबीच फरक मत देखिएको थियो । 

अध्यक्ष नेपाल र उनी निकट नेताहरू, एमालेकै जस्तो जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने पक्षमा थिए । तर, त्यसमा खनालले फरक व्याख्या गरे ।

‘अब जबज हाम्रो मार्गदर्शक सिद्धान्त बन्न सक्दैन । माक्र्सवाद–लेनिनवाद नै हाम्रो मार्गदर्शक सिद्धान्त हो’, खनालले त्यसैबेला भनेका थिए । खनालले लिएको अडान र तर्कमा अध्यक्ष नेपाल सहमत नहुँदा अहिले पनि एकीकृत समाजवादी सैद्धान्तिक मतभेद कायमै छ ।

ADV

सम्बन्धित खबर

Advertise