२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

कांग्रेस राजनीति : नियमित महाधिवेशनको पापड बेल्दै नेताहरू

shivam cement
जीवन शर्मा
२०८२ असोज २६ गते ०६:४०
कांग्रेस राजनीति : नियमित महाधिवेशनको पापड बेल्दै नेताहरू

काठमाडौं : १४औं महाधिवेशनको चारवर्षे कार्यकाल सकिन लाग्दासमेत देशको पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसले आफ्नो नियमित महाधिवेशनका लागि पापड बेल्नुपरेको छ । मंसिर मसान्तमा कार्यकाल समाप्त हुने वर्तमान केन्द्रीय समितिको बैठक आज (२८ असोज)बाट बस्दै छ । उक्त बैठकले पार्टी आन्तरिक जीवनसहित पछिल्लो देशको राजनीतिक उथलपुथल र २१ फागुनका लागि सरकारले घोषणा गरेको प्रतिनिधि सभाको निर्वाचनको विषय छलफल गर्नेछ ।

केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा पदाधिकारी र पूर्वपदाधिकारी र कार्यसम्पादन समितिको बैठकले भएको थियो । सो छलफल जेनजी आन्दोलनको रापले खुइलिएको कांग्रेसलाई जनतामाझ लैजान नयाँ अनुहार र नयाँ सोचका साथ अघि बढ्नुपर्ने विषयले प्राथमिकता पाएको थियो । तर पार्टीको नियमित महाधिवेशनका सन्दर्भमा समेत पार्टीभित्र ध्रुवीकरण देखिएको छ ।  

डा. शेखर कोइरालाले आजभन्दा दुई वर्षअघिबाटै समयमा महाधिवेशन गर्ने जग तयार गर्न पार्टी नेतृत्व र पदाधिकारीको ध्यानाकर्षण गर्दै आएका थिए । उनले अहिले पनि नियमित महाधिवेशनलाई नै प्राथमिकता दिएका छन् । तर नियमित महाधिवेशन यो वा त्यो बहानामा टार्ने अवस्था आए विशेष महाधिवेशनका लागि ५० प्रतिशत महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षर बुुझाएर अघि बढ्ने तयारी यस समूहको नेताहरूले बताएका छन् । कतिपयले हस्ताक्षर गरेर महामन्त्रीलाई नबुझाई बोकेर बसेका छन् । संस्थापनइतर समूहका नेता कोइराला पक्षले विशेष महाधिवेशन प्राथमिकता दिन नहुने बताएका छन् । 

विशेष महाधिवेशनका नाममा फेरि पनि यही कार्यसमितिका सभापति, पदाधिकारीले आफ्नो म्याद थप गर्न खोजेको भन्दै कांग्रेसको नियमित महाधिवेशन मंसिरमै गर्न सकिने केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलको भनाइ छ ।  ‘यस्तो परिस्थितिमा छोटो समयमै नियमित महाधिवेशनको तयारी गर्न पार्टीका सबै तहबाट लाग्नुपर्छ सम्भव छ । यदि कुनै पनि हालतमा नियमित नहुने अवस्था भए मात्रै विशेष महाधिवेशनबाट नयाँ नेतृत्वसहित नयाँ नीति लिएर आगामी चुनावमा जानुपर्छ,’ उनले मध्यान्हसँग भने, ‘नयाँ परिस्थितिअनुसार हाम्रा नीति, कार्यक्रम, नेतृत्व, कार्यशैली सबै बदल्नुपर्नेछ । महाधिवेशनले मात्र रूपान्तरण हुन्छ ।’ 

यद्यपि कांग्रेसको संस्थापन समूहका नेताहरूले नियमित महाधिवेशनका नाममा कार्यावधि थप गर्ने योजना बनाएको महामन्त्री गगन थापा समूहका नेताहरूले आरोप लगाएका छन् ।  ‘सकभर नियमित महाधिवेशन नै गर्ने हो । यदि नियमित हुन सक्ने अवस्था नरहेको खण्डमा देशभरका महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन बोलाउन तयारी छ । विशेष महाधिवेशनमा जानुको विकल्प छैन,’ केन्द्रीय सदस्य प्रतिमा गौतमले भनिन् । संस्थापन पक्षका नेताहरूले भने विशेष महाधिवेशनमा जान नहुने स्पष्ट जवाफ दिएको छ ।  

पार्टी पुनर्गठनका लागि वर्तमान केन्द्रीय समिति नै भंग गरेर कोही नेतालाई कार्यवाहक तोकेर जानुपर्ने विषयमा समेत बहस हुन थालेको छ । कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले केन्द्रीय समिति भंग गरी कार्यवाहक सभापति तोक्न माग गरे । कोइरालाले भने, ‘अब विशेष र नियमित महाधिवेशन भनेर अल्झिरहनुहुँदैन । नियमित महाधिवेशन गर्नैपर्छ । केन्द्रीय समिति विघटन गरेर एक जनालाई कार्यवाहक दिनुपर्छ । कार्यवाहक तोकेपछि उनैले महाधिवेशनको मिति तय गर्छन् । यस्तोमा मंसिरभित्र महाधिवेशन गर्न सकिन्छ ।’ 

कार्यसम्पादन परामर्श समितिको बैठकले केन्द्रीय समितिको बैठक दुई दिनका लागि सार्न परामर्श दिएको र सोहीअनुसार बैठकको मिति २८ गतेलाई सारिएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए । संसद् विघटन असंवैधानिक भए पनि राजननीतिक दृष्टिकोणबाट निर्वाचनमा जाने विषयमा पनि छलफल भइरहेको उनको भनाइ छ । ‘छलफलमा कांग्रेसको नियमित महाधिवेशन विधिसम्मत ढंगले सबैको प्रतिनिधित्व हुनेगरी छिटोभन्दा छिटो गर्नुपर्ने भन्ने अधिकांश नेताहरूको मत रहेको छ,’ उनले भने ।

पार्टीलाई जनतामाझ जाने सक्ने बनाउन नियमित महाधिवेशन नै उपयुक्त हुने नेताहरूको भनाइ छ । जेनजी आन्दोलनपछि पार्टीलाई पुनर्संरचित गरेर जानुपर्ने भएकाले कोही नेतृत्व मात्रै परिवर्तन हुँदैमा पार्टी नयाँ ढंगले जान नसक्ने युवा नेता भूपेन्द्रजंग शाहीले बताए । ‘नेपाली कांग्रेसमा व्यापक सुरधार र आमूल रूपान्तरणको खाँचो छ । विशेष महाधिवेशनका लागि ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर बुुझाएपछि तीन महिना लाग्छ । विशेष महाधिवेशनमा पुरानै महाधिवेशन प्रतिनिधिले केन्द्रीय नेतृत्व मात्रै छान्ने हुँदा कुनै पनि संरचनागत सुधार हुने अवस्था रहँदैन । पार्टी रूपान्तरण हुँदैन ।’ मंसिरमा कार्यकाल सकिने भएकाले मंसिरमा नियमित महाधिवेशनकै लागि संरचना तयार गरिनुपर्ने उनको भनाइ छ ।

गाउँ तहदेखि नै क्षेत्र, जिल्ला प्रदेश र केन्द्रसम्म फ्रेस अनुहार लिएर जनतामाझ जाने सके मात्रै कांग्रेसमा रूपान्तरणको अनुभूति हुने उनले जिकिर गरे । मंसिरमा हुनुपर्ने नियमित महाधिवेशन विधानतः एक वर्षपछि सारेर जाने विषयमा यसअघि नै पार्टी सभापतिसहित पदाधिकारीबीच भद्र सहमति भएको थियो । तर पछिल्लो जेनजीको आन्दोलनबाट राज्य प्रणाली र राजनीतिक दलहरू नै क्षतविच्छेदजस्ता बनेका छन् ।  यस्तो अवस्थामा पार्टीलाई जनतामाझ लैजान पुरानै नेतृत्वबाट सम्भव नेताहरूले देखेका छैनन् । 

जेनजी आन्दोलनपछि मुलुकको बिँग्रदो राजननीतिक अवस्थाबारे चिन्ता व्यक्त गर्दै मूलधारका दलसँगको समन्वयमा देशको संकटपूर्ण अवस्थालाई संवैधानिक र कानुनीतवरबाटै समाधान खोज्न कांग्रेसले आवश्यक पहल गर्नुपर्नेमा नेताहरूले जोड दिएका छन् । पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘मुलुकको राजनीतिक अवस्था अत्यन्त तरल छ ।  जेनजी आन्दोलनका नाममा देशका सबै संयन्त्र ध्वस्त भएका छन् । शान्ति सुरक्षादेखि भूराजनीतिक विषयलाई समेत मिहीन ढंगले अध्ययन गरेर मूलधारका सबै राजनीतिक दललाई समेत सँगै लिएर समस्या समाधान गरिनुपर्छ भन्ने विषयमा नेताहरूको चासो र चिन्ता रहेको छ ।’

ADV

सम्बन्धित खबर

Advertise