काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको निम्तोको पखाईमा रहेको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बताएकी छिन् ।
भारतीय पत्रिका द हिन्दूमा पत्रकार सुहासिनी हैदरसँग भएको कुराकानीमा मन्त्री राणाले नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आगामी अप्रिलमा हुने विमस्टेक सम्मेलनको क्रममा ‘साइडलाइन’ भेटवार्ता हुने आशा व्यक्त गरेकी छिन् । उनले यस वर्षको बीचमा प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो आउनसक्ने सम्भावना पनि व्यक्त गरेकी छिन् ।
‘प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबिच भेट हुने र सन् २०२५ को ‘पहिलो भाग’मा प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो आउने आशा छ’, मन्त्री राणाले भनेकी छन् ।
ओली सरकार गठन भएपछि २ पटक भारत पुगेकी राणाको भनाइले दुई देशबिचको सम्बन्धमा असहजता कायम नै रहेको संकेत द हिन्दुले गरेको छ ।
भारतबाट भ्रमणको निम्तोमा ढिलाइ हुने संकेत पाएपछि नै प्रधानमन्त्री ओलीले सन् २०२४ को नोभेम्बरमा चीनको भ्रमण गरेका थिए ।
यद्यपि, गत हप्ता मस्कटमा इन्डियन ओसन कन्फरेन्सका दौरान भारतीय विदेशमन्त्री एस जयशंकरसँग सौहार्दपूर्ण कुराकानी भएको राणाले बताएकी छन् । उनका अनुसार जयशंकरसँग नेपाली सामग्रीको गुणस्तर क्लियरेन्स, जलविद्युत आयोजनाको प्रगति, पोखरा र भैरहवा विमानस्थलका लागि हवाई रुट लगायत विषयमा छलफल भएको थियो ।
‘दुई विदेशमन्त्रीबिच प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति तय भएको हो ?’ भन्ने प्रश्नमा राणाले ‘निमन्त्रणा आउने बित्तिकै’ भारत भ्रमण गर्ने खुलाइन् । यसको अर्थ हालसम्म भारतबाट कुनै पनि औपचारिक निमन्त्रणा आएकै छैन ।
सन् २०२४ को सेप्टेम्बरमा नै प्रधानमन्त्री ओली र मोदीबिच न्यूयोर्कमा भेट भएपछि पनि परम्परागत रूपमा नै दिइँदै आएको निमन्त्रणाका लागि किन यति धेरै समय लगाइयो ? भन्ने प्रश्नमा मन्त्री राणाले भारतमा जारी रहेको विधानसभा निर्वाचनको कारण देखाइन् । उनले भनिन्, ‘सुरुमा मैले प्रधानमन्त्री मोदी निर्वाचनका लागि व्यस्त हुनुहुन्छ भन्ने सूचना पाएको थिएँ । मलाई आशा छ सन् २०२५ को पहिलो भागमा नै प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्नुहुन्छ ।’
२ देखि अप्रिल ४ सम्म थाइल्याण्डमा हुने बिमस्टेक सम्मेलनमा ओली र मोदी भाग लिँदैछन् । त्यहाँ पनि उनीहरूबिच भेटघाट हुने अपेक्षा गरिएको छ ।
मन्त्री राणाले प्रधानमन्त्री ओलीको चीन भ्रमण र बीआरआईको फ्रेमवर्कमा हस्ताक्षरपछि भारतले निमन्त्रणा पठाउन ढिलाइ गरेको कुरालाई अस्वीकार गरिन् । उनले भारतले अहिलेसम्म चीनको कुनै पनि बीआरआई परियोजनाबारे औपचारिक रूपमा आपत्ति नजनाएको बताइन् । उनले बीआरआईमा हस्ताक्षर गरे पनि नेपाल असंलग्न राष्ट्र नै रहेको स्पष्ट पारिन् ।