काठमाडौंः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सेवा गरेर बस्न सल्लाह दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन् ।
उनले विद्रोह गरेर नयाँ पार्टी बनाउने अनि अहिले विद्रोह गरेको औचित्य छैन भन्नेकुरा गर्न पार्टीको अनुशासन विपरित रहेको तर्क गरे । उनले विद्रोहको औचित्य छैन भने एमालेमा गएर अध्यक्ष ओलीको सेवा गर्न सल्लाह दिए । पार्टीको हित र पक्षमा मात्रै प्रचार प्रसार गर्न र सञ्चारमाध्यममा अभिव्यक्ति दिन उनको निर्देशन छ । संविधान मिच्ने, संसद विघटन गर्नुको कारण नै एमालेबाट विद्रोह गरेर नयाँ राजनीतिक दल बनाएको उनको स्पष्टोक्ति छ ।
अध्यक्ष नेपालले भने, ‘पार्टीको हित र पक्षमा प्रचार प्रसार गर्नुपर्छ । पार्टीको प्रतिष्ठा बढाउनका लागि, पार्टी हितको रक्षा गर्न, पार्टीको अनुशासन पालना गर्नुपर्छ । विरुद्धमा होइन । मिडियामा जाने पार्टीको विरोध गर्ने, मिडियामा जाने विद्रोहको औचित्य छैन भन्ने । किन आउनुपर्यो रु विद्रोह ठिक लागेन भने । केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि । हामीले ठिक गरेका छौँ । दृढतताका साथ पहल गरेका छौँ । कसैले पार्टीको अनुशासन उल्लंघन गर्दछ, जथाभावी संविधान मिच्ने काम गर्दछ, संविधान मिचेर संसद भंग गर्दछ । भंग गरेको संसदलाई गफ गरेर पुनः स्थापना हुँदैन । त्यसलाई विधि र प्रक्रियाबाट पुनः स्थापना गर्न सकिन्छ । तर कस्ता पात्रहरु ज्याद्रा छन् भने दोस्रो पटक भंग गरे । फेरि हामी दोस्रो पटक लाग्नुपर्यो । त्यो गरेर गल्ती गरियो रु विद्रोह गर्नु हुँदैन थियो । केपीजीको चाकरी गरेर त्यहाँ बस्नुपर्दथ्यो ? कि के गर्नुपर्दथ्यो ? ठिक गर्यौँ हामीले । संविधान जोगाउने मात्रै होइन, कम्युनिष्ट आन्दोलन बद्नाम गर्ने काम भइरहेको थियो । हामीले रहरले त्यो पार्टी छोडेको होइन ।’
अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट आन्दोलनलाई आफूहरुले जोगाएर ल्याएको दाबी समेत गरे ।