काठमाडौं : एएफसी महिला यु–२० एसियन कप छनोट अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा नेपालले साउदी अरेबियामाथि संघर्षपूर्ण जित निकालेको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा शुक्रबार भएको खेलमा नेपालले साउदीलाई १-० गोलअन्तरले पराजित गरेको हो ।
निर्णायक गोल खेलको ९०औं मिनेटमा शुक्रिया मियाँले ट्याप–इन मार्फत गरिन् । उनले मिना देउवाको पासलाई सजिलै गोलमा परिणत गर्दै नेपाललाई महत्वपूर्ण तीन अंक दिलाइन् ।
यसअघि ३७औं मिनेटमा नेपालले पेनाल्टीको अवसर पाए पनि मिना देउवाको प्रहार गोलबारमा लागेर गोल हुन सकेन । खेलभरि नेपालले साउदीलाई दबाबमा राखेपनि गोलका लागि अन्तिम क्षणसम्म पर्खिनुपर्यो ।
यो जितसँगै नेपाल समूहको दोस्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमा नेपाल भुटानसँग १–१ को बराबरीमा रोकिएको थियो भने साबिक विजेता उत्तर कोरियाले साउदीलाई १५–० ले हराएको थियो ।
यस सिंगल राउन्ड समूह चरणमा शीर्ष स्थान हासिल गर्ने टोली मात्र प्रत्यक्ष एसियन कपमा पुग्नेछ । साथै, तीन उत्कृष्ट उपविजेता टोलीले पनि छनोटको मौका पाउने प्रावधान छ । अब नेपालले आइतबार बलियो टोली उत्तर कोरियासँग खेल्नेछ ।