२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

मैदानमा माधव र घनश्याम

ADV
दिवाकर अधिकारी
२०८१ असार १६ गते ०७:०५
मैदानमा माधव र घनश्याम

काठमाडौं : राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । ‘दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौं, समाजवादको दिशामा अघि बढौं’ भन्ने नाराका साथ सुरु हुने महाधिवेशनको तयारी पूरा भएको शनिबार पत्रकार सम्मेलन गरेरै जानकारी गराइएको थियो । 

अध्यक्ष माधवकुमार नेपाल सहित सवै शीर्ष नेताहरु उपस्थित भएर महाधिवेशनको तयारीबारे पत्रकार सम्मेलन गरिएको थियो । पत्रकार सम्मेलनमा नेताहरुले महाधिवेशनबाट राजनीतिक, संगठनात्मक, कार्यदिशा र विधान प्रतिवेदन पारित गर्ने बताएका छन् । 

एकीकृत समाजवादीले यसअघि नै यी प्रतिवेदनहरुमा सहमति जनाइसकेको छ । अध्यक्ष नेपालले राजनीतिक, पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी कार्यदिशा, उपाध्यक्ष बेदुराम भुसालले विधान र महासचिव घनश्याम भूसालले संगठनात्मक प्रतिवेदन तयार पारेका छन् । यी प्रतिवेदनहरु महाधिवेशन हलबाट पारित हुँदैछ । 

चार वटै प्रतिवेदन पारित भएपछि २१ सदस्यीय पदाधिकारी रहेको २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी महाधिवेशनबाट चयन हुनेछ । बुधबार मात्र सचिवालयको बैठक बसेर पदाधिकारीको संख्या बढाउने निर्णय भएको थियो । बुधबारको निर्णय अनुसार, सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष पद थप भएको छ भने आवश्यकताका आधारमा वरिष्ठ नेता थपिनेछ । 

केन्द्रीय कमिटीको संख्या एक सय थपिएको छ । यसअघि गत माघ दोस्रो साता काठमाडौंमै सम्पन्न केन्द्रीय परिषद् बैठकले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो । 

तर महाधिवेशनमा सर्वसहमतिबाट नेतृत्व चयनको संभावना कमजोर हुँदै गएपछि फेरि पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउनेतिर नेताहरु लागेको देखिन्छ । यो महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल फेरि दोहोरिन चाहेका छन् । 

नेकपा एमाले विभाजन गरेर आफैले एकीकृत समाजवादी गठन गरेकाले एकपटक नेतृत्व गर्न पाउनुपर्ने अध्यक्ष नेपालले दाबी गर्दै आएका छन् । ९ भदौ २०७८ मा एमालेबाट अलग गरेर माधव नेपालकै अध्यक्षतामा एकीकृत समाजवादी गठन भएको थियो । 

तर माधव नेपाल नेतृत्वको यो अवधिमा पार्टीले गति लिन नसकेको अर्का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको निष्कर्ष छ । माधव नेपालबाट पार्टी अगाडि बढ्न नसक्ने निष्कर्ष सहित खनालले नेतृत्व परिवर्तनको एजेण्डा उठाएका छन् । नेतृत्व परिवर्तनका लागि भनेर आफू समर्थितहरुको पंक्ति पार्टीभित्र तयार पारेका खनालले महाधिवेशनको नजिकिइरहँदा भने महासचिव घनश्याम भूसाललाई साथ दिने प्रष्ट संकेत गरेका छन् । 

महासचिव भूसाललाई पार्टीको नेतृत्व दिदा आकर्षण आउने खनालको निष्कर्ष छ । यद्यपि सर्वसम्मति भए आफै अध्यक्ष हुने खनालको मनसाय देखिन्छ । तर सर्वसम्मतिको संभावना कमजोर रहेकाले माधव नेपाल र घनश्याम भूसालबीच चुनावी प्रतिस्पर्धा हुने देखिन्छ । 

माधवलाई निरन्तरता दिनुपर्ने पक्षधरहरुले अनुभवी नेताले पार्टीलाई अगाडि बढाउने दावी गरिरहेका छन् । तर २०३२ सालदेखि पार्टी नेतृत्वमा रहेका माधवबाट पार्टीमा कुनै आकर्षण नआउने भएकाले पुस्तान्तरण गर्नुपर्ने खनाल र भूसाल पक्षकाहरुले नारा लगाइरहेका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise