२०८२ भदौ २२ गते आइतवार / Sep 07 , 2025 , Sunday
२०८२ भदौ २२ गते आइतवार
Ads

'जेन-जी' आक्रोश अब सडकमा

shivam cement
मध्यान्ह
२०८२ भदौ २२ गते १४:०४
'जेन-जी' आक्रोश अब सडकमा

काठमाडौं : सामाजिक सञ्जालमा सुरु भएको युवापुस्ताको आक्रोश अब सडकमा उत्रिन लागेको छ । इन्डोनेसिया र फिलिपिन्स हुँदै नेपालसम्म फैलिएको ‘नेपो बेबी’ अभियानले सोमबार राजधानीका सडकमा आन्दोलनको तयारी गरेको छ ।

‘नेपो बेबी’ भन्नाले शक्तिशाली परिवारको हैसियतका कारण विशेषाधिकार पाउने र सुविधासम्पन्न जीवनशैली देखाउने सन्तानलाई जनाइन्छ । हालै इन्स्टाग्राम र टिकटकमार्फत नेपाली नेताका छोराछोरी तथा नजिकका व्यक्तिहरूको महँगो जीवनशैली सार्वजनिक हुन थालेपछि युवापुस्ताले यसलाई असमानताको प्रतीक ठहर गर्दै विरोधको तयारी गरेका हुन् ।

भ्रष्टाचारविरुद्ध उठेको यो अभियानको नेतृत्व औपचारिक रूपमा कसले गरेको भन्ने प्रष्ट छैन । तर सामाजिक सञ्जालमार्फत सक्रिय युवाहरूले आफूलाई ‘जेन-जी’ पुस्ता भन्दै सोमबार बिहान नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि विरोध प्रदर्शनमा सहभागी हुन आह्वान गरिरहेका छन् ।

उनीहरूले प्लेकार्ड, नारा र सांस्कृतिक प्रस्तुति मार्फत भ्रष्टाचारविरुद्धको आवाज बुलन्द गर्ने तयारी गरेका छन् ।

युवाहरूले यो आन्दोलनलाई ‘इतिहास लेख्ने दिन’ भन्दै जनतालाई सडकमा उत्रिन आह्वान गरेका छन् । उनीहरूको भनाइमा सत्ताले करदाताको पैसाले आफ्ना सन्तानलाई विलासी जीवन दिने तर सामान्य जनता महँगी र बेरोजगारीमा धकेलिने अवस्था अब सहन सकिँदैन ।

यसअघि इन्डोनेसियामा राष्ट्रपति जोको विडोडोका छोरा गिब्रान उपराष्ट्रपति उम्मेदवार बनेपछि सुरु भएको ‘नेपो बेबी’ ट्रेन्ड छिमेकी फिलिपिन्स हुँदै नेपालसम्म आएको हो । त्यहाँ नेताका सन्तानको लक्जरी जीवनशैली र भ्रष्टाचारबीचको सम्बन्ध उजागर गर्दै आक्रोश फैलिएको थियो । नेपालमा पनि सोही शैलीमा नेताका परिवारका विलासी जीवनशैली सार्वजनिक भइरहेका छन् ।

को हुन् जेन-जी ?

सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका पुस्तालाई जेन-जी भनिन्छ । अहिले उनीहरूको उमेर झन्डै १३ देखि २८ वर्षको आसपास छ ।

डिजिटल युगमै हुर्किएको यो पुस्ता इन्टरनेट, स्मार्टफोन र सामाजिक सञ्जालसँग अत्यन्तै नजिक छ । यही कारण उनीहरूलाई 'डिजिटल नेटिभ्स' पनि भनिन्छ ।

यो पुस्ता सामाजिक मुद्दा, असमानता र राजनीतिक भ्रष्टाचारमा खुलेर अभिव्यक्ति दिन सक्ने, र सञ्जालमार्फत तत्काल प्रतिक्रिया जनाउने पुस्ताका रूपमा परिचित छ ।

नेपालमा पनि यही समूहले टिकटक, इन्स्टाग्राम र रेडिटमार्फत नेताका छोराछोरीको विलासी जीवनशैली सार्वजनिक गर्दै भ्रष्टाचारविरुद्ध स्वर बुलन्द गर्न थालेका छन् । अहिले यही अभियान सडकसम्म ल्याउने मुख्य शक्ति पनि यही पुस्ता देखिन्छ ।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयसँगै युवापुस्ताको असन्तुष्टि झन् बढेको छ । अब सञ्जालमा मात्र लाइक र कमेन्ट गरेर पुग्दैन, सडकमा देखिनुपर्छ भन्ने उनीहरूको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेतले यस अभियानलाई समर्थन जनाएको छ । रास्वपा सचिवालय सदस्य दीपक बोहराले सामाजिक सञ्जालमा लेखेका छन्, 'सोच, शैली र संस्कार बदल्न सञ्जालबाट अब सडकमा ।'

ADV

सम्बन्धित खबर

Advertise