२०८२ असोज १७ गते शुक्रवार / Oct 03 , 2025 , Friday
२०८२ असोज १७ गते शुक्रवार
Ads

विद्यालय जाँदैनन् मुसहर र डोम बालबालिका, भर्ना भएकाहरूलाई विद्यालयमा टिकाउनै गाह्रो

shivam cement
धर्मेन्द्रकुमार साह
२०८२ असोज ११ गते ०६:५०
विद्यालय जाँदैनन् मुसहर र डोम बालबालिका, भर्ना भएकाहरूलाई विद्यालयमा टिकाउनै गाह्रो

काठमाडौं : रौतहटका अधिकांश ठाउँमा बस्तीछेउमै विद्यालय छन् तर अधिकांश बालबालिका विद्यालय जाँदैनन् । गरिबीर चेतनाको अभावमा ती बालबालिका विद्यालयबाहिर रहेका हुन् । 

विद्यालय प्रांगणमै बसे छ तर रौतहटको राजदेवी पथरा टोलका डोम बालिका विद्यालय जाँदैनन् । राजदेवी नगरपालिका–१ मा रहेको करिब १५ घर परिवारमा ५७ बालबालिकामध्ये अधिकांश विद्यालय जाँदैनन् । छोराहरू कहिलेकाहीँ विद्यालय गए पनि बालिकाहरूले भने विद्यालयमा पाइला टेकेका छैनन् । गरिबी र अभावमा रहेका कारण ती बस्तीका बालिकाहरूले पढ्न पाएका छैनन् । 

त्यस्तै, गौर नगरपालिका–४ गढवामा रहेको एक डोम बस्तीको कथा पनि उस्तै छ  । सय मिटरको दूरीमा प्राथमिक विद्यालय भए पनि बस्तीभित्रका करिब सय बालबालिकामध्ये कोही पनि विद्यालय जाँदैनन् । उनीहरू बिहानैदेखि सुँगुर डुलाउनेलगायत घरायसी काममा लागेका हुन्छन् । 

रौतहट जिल्लामा रहेका अधिकांश डोम बस्तीको अवस्था यस्तै छ । रौतहटमा करिब २ सय ४० परिवारमा गरी करिब १४ सय डोम बसोबास गर्छन् । तर शिक्षाको स्तर ५ प्रतिशतभन्दा पनि कम छ । डोम जातिको उत्थानमा कार्यरत सामाजिक कार्यकर्ता विजय मली सरकारले घोषणा गरेको निःशुल्क शिक्षासम्बन्धी नीतिले प्रभाव पार्न नसकेको बताउँदै विशेष पहल आवश्यक रहेको जोड दिन्छन् ।

चन्द्रपुर नगरपालिका–८ माझी टोलकी श्रीपती माझी आफ्नो टोलका अधिकांश बालबालिका विद्यालय बाहिर रहेको बताउँछिन् । टोलका केही बालबालिका विद्यालयमा भर्ना भए पनि बीचमै पढाइ छोड्ने गरेको उनी बताउँछिन् । सामाजिक कार्यकर्ता रमिता राम अन्य बालबालिकासरह विद्यालयमा टिकाई राख्न विशेष पहल आवश्यक रहेको बताउँछिन् । 

रौतहट जिल्लाकै परोहा नगरपालिका–८ मा ६० घर मुसहर बस्ती छ । तर सो टोलका कुनै पनि बालिका विद्यालय गएका छैनन् । विद्यालय पढ्ने उमेर समूहका अधिकांश बालिकाको विवाह हुने तथा तिनीहरू घरमा कुरुवा भई बस्नुपरेकाले तिनीहरू विद्यालय जान नपाएका हुन् । बस्तीको छेउमै आधारभूत विद्यालय छ तर सो टोलमा विद्यालय उमेरका करिब २ सय बालबालिमध्ये चार जना बालक मात्र विद्यालय जान्छन् । 

स्थानीय वीरेन्द्र माझीको छोरा २ कक्षामा पढ्छन् । गरिबी र अभावका कारण बस्तीका बालबालिका विद्यालय नगएको उनी बताउँछन् । सात घरका विद्यालय उमेर समूहका १३ बालबालिकामध्ये कोही पनि विद्यालय नजानु चिन्ताको विषय भएको उनी बताउँछन् । बस्तीमा अधिकांश १०/१२ वर्षका बालबालिका मदिरा सेवन गर्ने गरेको सामाजिक कार्यकर्ता सम्सिदा खातुनले बताइन् । त्यसैले सानो प्रयास मात्र मुसहर तथा डोम बालबालिकालाई विद्यालयमा ल्याउन नसकिने उनको भनाइ छ । 

इश्नाथ नगरपालिका–२ मा ३५ घर परिवारको मुसहर बस्ती रहेको छ । औरिया हिमालिवास जोड्ने मुख्य सडकखण्डछेउमै रहेको सो बस्तीका बालबालिका पनि विद्यालय बाहिर छन् । स्थानीय रमकलिया देवी मुसहरानी टोलका अधिकांस बालबालिका विद्यालय नपुगेको बताउँछिन् । उनी गरिबी, अभाव तथा विद्यालयमा हुने दुव्र्यवहारका कारण विद्यालयमा पढाउन नसकिएको बताउँछिन् । केहीको उमेर नपुग्दै विवाह हुने गरेको छ भने टोलका केही बालकहरू विद्यालयमा भर्ना भए पनि टिक्न सकेका छैनन् । 

सामाजिक कार्यकर्ता गुडु साह भन्छन्, ‘अधिकांस मुसहर र डोम परिवार विपन्न छन् । दैनिक काम गरेर खाने परिवारका बालबालिका पढाउनु राज्यको जिम्मेवारी हो ।’ 

कतिपय बालबालिकाको पढ्ने रहर भए पनि विद्यालय जान सकेका छैनन् । अभिभावमा पनि ‘पढेर के हुन्छ र ?’ भन्ने धारणा छ । 

नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय उपाध्यक्ष नथुनी माझी अधिकांस मुसहर बालबालिका विद्यालयबाहिर रहनुको मुख्य कारण गरिबी र बेरोजगारी रहेको बताउँछन् । ‘सरकारले माध्यमिक शिक्षा निःशुल्क गरे पनि अभाव र भोकका कारण बालबालिका विद्यालय जान सकेका छैनन् । परिवारजन रोजगारीका लागि बाहिर जाने हुँदा बालबालिका पढ्न पाएका छैनन्,’ उनले बताए । 

रौतहटमा करिब ६० टोलमा मुसहर समुदायको २ हजार ५६ घरधुरी छ । महिला, पुरुष तथा बालबालिकाको संख्या १५  हजार ७ सय ९६ भन्दा बढी छ । तीमध्ये जम्मा ६ सय ३५ जना मात्र  साक्षर छन् । अर्थात् कुल जनसंख्याको करिब ४ प्रतिशत मात्रै छ । साथै उच्च शिक्षासम्म अध्ययन गर्नेको संख्या ४० जनाभन्दा कम छ ।

ADV

सम्बन्धित खबर

Advertise