२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

जेनजीमा ओली र प्रचण्डले देखेको भूराजनीतिक चलखेल

shivam cement
जनक नेपाल
२०८२ असोज २५ गते ०६:३०
जेनजीमा ओली र प्रचण्डले देखेको भूराजनीतिक चलखेल

काठमाडौं : आमनागरिकलाई दिक्क लाग्नेगरी सत्ताको लुछाचुँडी गरेको वामपन्थी नेताद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनसँगै भएको विध्वंशलाई भने झन्डै एउटै आँखाले हेरेका छन् । २३ भदौको आन्दोलनबारे सत्ता र प्रतिपक्षीय मत राखे पनि २४ भदौको विध्वंशको दोष भने दुवैले भूराजनीतिक चलखेलमाथि थुपार्दै आआफ्नै शैलीमा प्रतिवादमा उत्रेका छन् । 

असुरक्षा बढेका बेला सुरक्षा घटाइएपछि राष्ट्रिय युवा संघ र वाइसिएलको घेरामा रहेका दुवै नेताका कैयन फरक र परस्परविरोधी धारणा छन् । तर जेनजी आन्दोलन र त्यसपछिको विध्वंशमा विदेशी घुसपैठ देख्ने आँखा भने समान छन् । आन्दोलनकै कारण सत्ता गुमाएका एमाले अध्यक्ष ओलीले सरकारको वैधतामाथि प्रश्न उठाउँदै नेपालीको नभएको आरोप लगाएका छन् । ‘यो सरकार कसैको प्रतिनिधि होइन । नेपालीको चाहिँ होइन,’ ओलीले भक्तपुरको गुन्डुमा सार्वजनिक रूपमै भने, ‘बलमिच्याइँबाट बनेको सरकारका कारण देशको परिस्थिति असाधारण र असामान्य बनेको छ ।’ 

जेनजी आन्दोलन चर्को प्रहरी दमनको भोलिपल्ट २४ भदौमा भड्किएको थियो । त्यसमा आफ्नो कमजोरी स्वीकार्नुको साटो उनी विदेशी चलखेललाई देखाएर राष्ट्रिय स्वतन्त्रताको नारा लगाइरहेका छन् । कतिसम्म भने काठमाडौंको आकाशमा विध्वंशको धुँवा उडिसक्दासम्म ओली बालुवाटारमा सुरक्षा अंगका प्रमुखलाई सिक्किम भारतमा विलयको प्रसंग सुनाउँदै थिए । यस्तोबेला आफूले छोड्दा देशको अस्तित्व नै तलमाथि हुन सक्ने दाबी गरिरहेका थिए । 

ओलीभन्दा भिन्न शैलीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शुक्रबार भूराजनीतिक चलखेल र सन्तुलनको व्याख्या गरेका छन् । काठमाडौंमा केही सम्पादकहरूसँग संवाद गर्दा उनको आँखामा २४ भदौको विध्वंशको भय त थियो नै सँगै भूराजनीतिक चलखेलको गहिरो अनुभूति । तर आफूलाई लागेको कुरा खुलस्त बोल्ने प्रचण्डको वाणीमा ‘सेल्फ सेन्सरसिप’ थियो । उनले धेरै कुरा बोले तर बोल्नैपर्ने विषयमा मौन रहे । देश इतिहासकै ठुलो संकटबाट गुज्रिरहेको  बारम्बार दोहोर्‍याइरहे । राष्ट्रिय स्वाधीनता, नेपालीको आत्मनिर्णयको अधिकारमाथि इतिहासमा कहिल्यै नभएको दबाब र हस्तक्षेप भएको बताए । तर कसले ग¥यो भन्न चाहेनन् । 

विध्वंश चर्किंदा प्रचण्ड विपक्षी दलहरूको बैठक बसेर प्रधानमन्त्री ओलीको राजीनामा माग्दै थिए । शीर्ष नेताहरूलाई निशाना बनाइएको त्यो घटनामा आफू कसरी बाँचियो भन्नेमै उनी आश्चार्यमा छन् । ‘कहिलेकाहीँ लाग्छ, हामी बचियो कसरी ?’ उनले भने, ‘सेनाले बचाएको हो कि ? जनताले बचाएको हो कि ? हाम्रो पार्टीका साथीहरूले बचाएका हुन् कि ? कसले बचायो ?’  

नेताहरूको भागदौड चलेपछि प्रचण्डका सुरक्षागार्डले बाहिर जाने स्थिति नरहेको जानकारी गराए । तर उनलाई न कसैले कतै लग्यो न त कसैले बोलायो । उनले सिंहदरबारबाटै सेनापति अशोकराज सिग्देललाई फोन गरे । सेनाले उनलाई सैनिक हेडक्वार्टर लगेर सुरक्षित राख्यो । 

प्रचण्डलाई सेनाले जोगाएको भन्ने लागेको छैन । ‘अल्टिमेट्ली हेर्दा त सेनाले बचायो । हामीलाई बचाउने सेनाले सिंहदरबार किन बचाउन सकेन ? सर्वोच्च अदालत र राष्ट्रपति भवन किन बचाउन सकेन ? हेर्दा बडो अनौठो चित्र अनुभूत हुन्छ,’ उनले भने, ‘जे भए पनि सेनाकै हेडक्र्वाटरमा बसेर सकुशल आउँदा सेनालाई धन्यवाद त दिनै प¥यो नि । नबचाउन चाहेको भए त हामी मुठीको (माखा)जस्तो भएका थियौं नि, किचिक्कै हुने ठाउँमा पुगेका थियौं । त्यसो त भइएन । के कारणले भइएन ?’ 

पूर्वप्रधानमन्त्री प्रचण्डले प्रस्टैसँग भूराजनीतिक चलखेल र सन्तुलनले जोगाएको बताएका छन् । ‘गहिरिएर विचार गर्दा हामीलाई भूराजनीतिक शक्ति सन्तुलनले बचाएको हो जस्तो लाग्छ । सबैको एउटै कुरा भएको भए हामी जे पनि हुन सक्थ्यौं,’ उनले भने, ‘नत्र बच्ने स्थिति थिएन ।’ 

उनी योभन्दा धेरै खुलेनन् । तर राष्ट्रिय स्वाधीनताका लागि दलहरूबीच सहमतिको खाँचो भने औंल्याएका छन् । सँगै, संविधान संशोधन र तोकिएकै समयमा आमचुनाव गरेर ट्र्याकबाहिर पुगेको संविधानलाई फर्काउनुपर्नेमा उनको जोड छ । ‘हामीले देखिसक्यौं, स्वतन्त्रता र स्वाधीनताको रक्षा एवं सुदृढीकरणका लागि अब दलहरू एक ठाउँ उभिनुपर्छ,’ प्रचण्डले भने, ‘त्यसका लागि संकटको यस घडीमा एकअर्कालाई दोषारोपण गरेर कोही पनि उम्किन मिल्दैन ।’ 

के भने प्रचण्डले ? 

हामी बचियो कसरी ? सेनाले बचाएको हो कि ? जनताले बचाएको हो कि ? हाम्रो पार्टीका साथीहरूले बचाएका हुन् कि । कसले बचायो ? 

अल्टिमेटली हेर्दा त सेनाले बचायो । हामीलाई बचाउने सेनाले सिंहदरबार किन बचाउन सकेन ? सर्वोच्च अदालत र राष्ट्रपति भवन किन बचाउन सकेन ? हेर्दा बडो अनौठो चित्र अनुभूत हुन्छ । बडो बिचित्र लाग्छ । हामीलाई त बचायो । मैले धन्यवाद दिएँ, हामीलाई बचाएकोमा धन्यवाद त दिनै पर्‍यो । नबचाउन चाहेको भए त हामी मुठीको (माखा)जस्तो भएका थियौं नि, किचिक्कै हुने ठाउँमा पुगेका थियौं । त्यसो त भइएन । के कारणले भइएन । जे भए पनि सेनाकै हेडक्र्वाटरमा बसेर सकुशल आउँदा सेनालाई धन्यवाद त दिनै पर्‍यो नि । तर, गहिरिएर विचार गर्दा हामीलाई भूराजनीतिक शक्ति सन्तुलनले बचाएको होजस्तो लाग्छ । नत्र बच्ने स्थिति थिएन । सबैको एउटै कुरा भएको भए हामी जे पनि हुन सक्थ्यौं । 

हामीलाई बचाउने सेनाले सिंहदरबार, सर्वोच्च र राष्ट्रपति भवन किन बचाएन ? 

प्रधानमन्त्रीलाई त हेलिकोप्टरबाटै लैजाने काम भयो, त्यो पनि दौडादौड । अरू नेतालाई पनि । म मात्र त्यस्तो नेता भए जसलाई कसैले लगेको पनि होइन, कसैले बोलाएको पनि होइन । सिंहदरबारभित्रै थिए, प्रतिपक्षको बैठकमा । बैठक गर्दै जाँदा ढिलो भयो । बाहिर वातावरण असहज भयो, अहिले बाहिर जान उचित छैन । तुलनात्मक रूपमा सुरक्षा यही छ भनेर सेक्युरिटीले भनेपछि त्यहाँ बसे म । त्यहाँबाट प्रधान सेनापतिसँग सम्पर्क गरेर हामी यही बस्न पर्ने भयो भनेपछि आफैंले सेनासँग सम्पर्क गरेर सेनाकोमा गएको म मात्र रहेछु । यसलाई राम्रो, नराम्रो सबैले मूल्यांकन गर्दा हुन्छ । प्रत्यक्ष रूपमा संवाद गर्ने, सम्माननीय राष्ट्रपतिसँग दिनमा तीन÷चारपटक संवाद गर्ने र परिस्थिति कसरी सहज बनाउन सकिन्छ ? भन्नेबारे सुझाव राख्ने अवसर पनि भयो । सेनापतिलगायतसँग संवाद गर्ने र परिस्थिति कसरी सहजीकरण गर्न सकिन्छ भन्ने अवसर पनि प्राप्त भयो । प्रधानसेनापतिले नै बोलाएर राष्ट्रपतिले रातभरि छलफल गरेको पनि थाहा पाइसक्नुभयो । 

एउटा बिन्दुमा यो भयानक एपिसोड भयो यसलाई तत्काललाई सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने, अघिल्लो प्रधानमन्त्रीको सिफारिसमा संसद्बाट अनुमोदन गराउने भर्चुअल मिटिङबाट भए पनि गरौं भन्ने थियो । त्यो हुन सकेन । संविधान केही ट्र्याक आउट त भएको छ असहमति पनि छ तर ६ महिनापछि निर्वाचन गर्ने घोषणा भइसकेको स्थितिमा अब हामी निर्वाचनतिरै लाग्नुपर्छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise