रोल्पा : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०८४ को चुनावमा कांग्रेस एक्लै लड्ने बताएका छन् ।
आइतबार नेपाली कांग्रेस प्यूठानको आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेदेखि नै वडा, पालिका क्षेत्र जिल्लामा एक ढिक्का भएर अगाडि बढ्नुहोस् । त्यही अनुरुप नेपाली कांग्रेसका नेता कार्यकर्ता समेत लाग्नुपर्छ । ०८४ को चुनावमा कांग्रेस एक्लै लड्छ ।’
यस्तै उनले नेपाली कांग्रेसमा कोही सानो कोही ठूलो भन्ने नरहेको पनि बताए ।
उनले भने, ‘यहाँ कोही ठूलो, कोही सानो छैन । म मञ्चमा महामन्त्री भएर बसेको छु,पद मात्र,जिम्मेवारी मात्र हो,यहाँ उभिनु भएको ९ जवानको हैसियत छ, मेरो हैसियत पनि बराबर हो ।’ महामन्त्री थापाले नेपाली कांग्रेस पार्टी कुनै ‘बा’ को पार्टी नभएको बताए ।
अहिलेको सरकार निर्माणको बारेमा प्रसंग जोड्दै महामन्त्री थापाले भने, ‘अगाडि सरकार कसरी बन्यो भनेर चर्चा चल्यो,०७४ सालमा पाँचवटा दल मिलेर सरकार बनायौँ, त्यो गल्ती थियो, प्रचण्ड प्रधानमन्त्री बन्नुभयो । हामी चाहन्थ्यौँ पाँच दल मिलेर बनेको सरकार पाँच वर्षसम्म चलोस् भन्ने । नेपाली कांग्रेसले चाहन्थ्यो, प्रचण्ड आफै निर्णय गरेर कांग्रेसलाई छाडेर नेकपा एमालेसँग मिल्न जानुभयो,कांग्रेस कहि पनि सरकारको लागि र सत्ताको लागि बेइमानी गरेन’ उनले भने ।
संविधान संशोधनको प्रसंगलाई जोड्दै महामन्त्री थापाले नेपाली कांग्रेसको नेतृत्वमा संविधान जारी भएको जिकिर गर्दै भने, ‘संघीयता, गणतन्त्र, लोकतन्त्र, समानुपातिक केही पनि चल्दैन र रहन्छन् । जिल्ला समन्वय समिति किन चाहियो ?, किन राखेको उदाहरणका लागि यसलाई हटाउँछौं । यति धेरै सांसद संख्या किन चाहियो ?, किन यति धेरै राखेको,हामी सांसद संख्या घटाउँछौ । मन्त्री संख्या घटाउँछौ,सरकारको खर्च घटाउँछौं ।’
नेपाली कांग्रेसको महाधिवेशनको प्रसंगलाई जोड्दै थापाले भने, ‘नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा हुन्छ । ०८२ को मंसिरमा नेपाली कांग्रेसको १५औं महाधिवेशन हुने त्यसपछि ०८४ मा स्थानीय तह,प्रदेश तथा संघको चुनाव हुनेछ ।’