काठमाडौं : राष्ट्रपतिबाट बिदा भएपछि राजनीतिमा नदेखिने धेरैको आँकलन चिर्दै छन् पूर्वराष्ट्रपति विद्या भण्डारी । नेकपा एमालेबाट राजनीति गर्दा गर्दै राष्ट्रपतिको जिम्मेवारीमा पुगेको बताउने उनी पुनः राजनीतिमा सक्रिय हुनुलाई अन्यथा लिन नहुने आग्रह गर्छिन् ।
आफ्नो सक्रियता कुनै पद प्राप्तिका लागि नभएर नेपालको कम्युनिस्ट एकताका लागि हुने उनको दलिल छ । यस्तो दलिलको आधार उनले सार्वजनिक कार्यक्रमहरूमार्फत दिने प्रयास गरिरहेकी छन् ।
सोमबार काठमाडौंमा आयोजित ‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ नामक पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति भण्डारीले पुनः कम्युनिस्ट एकताको चाहना रहेको सुनाइन् ।
पुनः कम्युनिस्ट एकताका लागि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको योगदान आवश्यक रहेको उनले औंल्याइन् । ओलीले एमालेको आन्तरिक जीवनलाई लोकतान्त्रीकरण गर्न, कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन तथा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ बनाउन निर्वाह गरेको भूमिका ऐतिहासिक रहेको भन्दै सराहना गरिन् ।
भविष्यमा समेत ओलीबाट रचनात्मक पहलकदमी र अग्रसरता कायम राख्दै नेपाली कम्युनिस्ट आन्दोलनलाई थप एकताबद्ध बनाएर सफलताको अर्को सिँढी उकाल्न ओलीबाट योगदान पुग्ने विश्वास व्यक्त गरिन् । अर्थात्, ओलीको पहलकदमीबाट पुनः कम्युनिस्ट एकता होस् भन्ने पूर्वराष्ट्रपति भण्डारीको चाहना छ ।
ओलीसमेतको पहलमा २०७४ सालमा ठूला २ कम्युनिस्ट पार्टीले वाम गठबन्धन बनाएर चुनाव लडेका थिए । त्यसबेला करिब ६८ प्रतिशत मत वाम एकताको पक्षमा खसेको थियो । जनादेशअनुसार करिब दुई तिहाइ बहुमतको कम्युनिस्ट सरकार पनि बन्यो ।
त्यसबेला भण्डारी कम्युनिस्ट पार्टीहरूकै तर्फबाट राष्ट्रपतिमा दोहोरिएकी थिइन् । तर, भण्डारी राष्ट्रपतिबाट बिदा नहुँदै कम्युनिस्ट आन्दोलन विभाजित भयो । दुई तिहाइ बहुमतको तत्कालीन नेकपाले सरकार पूर्ण कार्यकाल चलाउन सकेन ।
३ जेठ २०७५ मा एमाले र नेकपा (माओवादी केन्द्र) एकीकृत भएर नेकपा बनेको थियो । तर, त्यो लामो समय टिकेन । २३ फागुन २०७७ को सर्वोच्च अदालतले नै नेकपा एकता भंग गरिदियो र एमाले र माओवादी केन्द्र ब्युँत्याइदियो ।
त्यसपछि २०७८ भदौ पहिलो साता एमाले पनि विभाजित भयो र माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) बन्यो । नेकपा एकीकरण नटिकेर ३ वटा बने । २०७९ सालको चुनावसम्म आइपुग्दा विभिन्न टुक्रामा विभाजित कम्युनिस्टको पक्षमा जम्मा ४८ प्रतिशत मत खस्यो ।
तथापि, विगतबाट पाठ सिक्नुपर्ने र नेपालका कम्युनिस्ट पार्टीहरू पटक–पटक विभाजन हुनुको कारण खोज्नुपर्ने बताउँछिन् पूर्वराष्ट्रपति भण्डारी ।
नेपाली कम्युनिस्ट आन्दोलनमा पटक–पटक देखिने गरेको फुट र विभाजन र साँच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकांक्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो भन्नेजस्ता विषयमा समीक्षा गरेर ठोस निष्कर्ष निकालेर अगाडि बढ्नुपर्नेमा उनको जोड छ । भविष्यमा थप सफलता हासिल गर्न पनि विगतको समीक्षा आवश्यक रहेको उनको तर्क छ ।
पुनः कम्युनिस्ट एकताका लागि आवश्यक परे आफैं सक्रिय हुने एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति भण्डारीको तयारी छ । आफ्नो राजनीतिक भूमिका कुनै पद प्राप्तिका लागि नरहने पनि उनको दलिल छ ।