२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

पूर्वराजालाई काउन्टर जबाफ : ‘धेरै चुरीफिरी नगर्नुस्, चुनाव लड्नुस्’

draupadi film
निमिष झा
२०८१ फागुन २४ गते ०६:२५
पूर्वराजालाई काउन्टर जबाफ : ‘धेरै चुरीफिरी नगर्नुस्, चुनाव लड्नुस्’

काठमाडौं : ७५औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको वक्तव्यपछि तातिएको राजनीतिक माहोल अझै सेलाएको छैन । ७ फागुनमा ७५औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले जारी गरेको वक्तव्यपछि गणतन्त्रवादीहरू झस्किएका छन् भने राजावादीहरू उत्साहित भएका छन् ।

पूर्वराजाको वक्तव्यपछि राजावादीहरूले केही स्थानमा राजतन्त्रको पक्षमा प्रदर्शन गरेका छन् भने गणतन्त्रवादीहरू ‘काउन्टर’ जबाफमा उत्रेका छन् ।

पूर्वराजाले गणतन्त्रवादी नेताहरूलाई चुनौती दिँदै उनीहरूकै कारण देशको इतिहास मेटिँदै गएको र नेपालको अस्तित्व नासिँदै गएको कटाक्ष गरेका थिए । वक्तव्यमा उनले आफूलाई साथ दिन घुमाउरो ढंगबाट आह्वान पनि गरेका थिए । 

‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौं । अब नेपालको उन्नतिका लागि हामीबाट अरू केको त्याग गर्नुपर्ने हो, हामी तयार छौं । अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिको निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौं’, वक्तव्यमा उनले भनेका थिए ।

पूर्वराजाको उक्त अभिव्यक्तिपछि राजावादी र गणतन्त्रवादी स्पष्ट रूपमा २ कित्तामा विभाजित बनेका छन् । लामो समयदेखि राजतन्त्र पुनर्वहालीको अभियान संचालन गर्दै आएको कमल थापा नेतृत्वको राप्रपा हौसिएको छ भने गणतन्त्रवादी नेताहरू पूर्वराजालाई चुरीफुरी नगर्न चेतावनी दिइरहेका छन् । 

पूर्वराजा शाहको वक्तव्यबाट हौसिएर राप्रपा सडक र सदन दुवैबाट राजसंस्था पुनर्वहालीको एजेन्डा चर्काउनेतिर लाग्दा ठूला दलका शीर्ष नेताहरू भने एकसाथ प्रतिवादमा उत्रिएका छन् ।

मिलेको संयोग

बिहीबार यस्तै संयोग मिलेको छ । संयोग पनि कस्तो प¥यो भने सत्ता र प्रतिपक्षका शीर्ष नेताहरूले एक दिन एकै पटक एउटै जिल्लाको भ्रमण गरे ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार एकै दिन महोत्तरी पुगे ।

प्रधानमन्त्री ओली गौशाला– १ स्थित नेपाल पल्प एन्ड पेपर इन्डष्ट्रिज प्रा. लि.को उद्घाटन गर्न पुगेका थिए भने सभापति देउवा पार्टी कार्यक्रमका लागि बर्दिबासमा भएको कार्यक्रममा सहभागी भए । यस्तै, अध्यक्ष दाहाल सम्सीमा ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’को कार्यक्रममा सरिक भएका थिए ।

यी शीर्ष नेताहरूको महोत्तरी भ्रमण एकै दिन पर्नु संयोग मात्र थियो । उनीहरू आ–आफ्ना पार्टीको कार्यक्रममा त्यहाँ पुगेका थिए । कसैको कुनै कार्यक्रमसँग सरोकार र सम्बन्ध थिएन ।

तर, शीर्ष नेताहरूले दिएका मन्तव्य संयोगवश मिलेका छन् । पूर्वराजाले प्रजातन्त्र दिवसमा दिएको अभिव्यक्तिप्रति उनीहरूले महोत्तरीमा एकै पटक रोष प्रकट गरेका छन् ।

महोत्तरी पुगेका ओली, देउवा र दाहालले शाहको भनाइको एकसाथ विरोध र प्रतिवाद गरे । उनीहरूले शाहलाई धेरै फुरफुर र चुरीफुरी नगर्न चेतावनी दिए ।

ओलीले चुनौती दिँदै भने, ‘पूर्वराजा लोकप्रिय छन् भने चुनाव लडेर मैदानमा आउनुपर्छ ।’ प्रधानमन्त्री ओलीले देशमा सामन्ती राजतन्त्र, जन्मिँदै राजा हुने कोही, कोहीले जुनसुकै क्षमता भए पनि रैती भएर बस्नुपर्ने यस्तो प्रणाली कदापि मान्न नसकिने बताए ।

पूर्वराजालाई सुझाव दिँदै उनले भने, ‘संवैधानिक लोकतान्त्रिक बाटोबाट अघि बढ्नुस् । विधिको बाटोबाट अघि बढ्नुस् । बलमिच्याइँ, अराजकता र झाडीको बाटोबाट कोही सिंहासनमा बस्छु भन्ने ठानेको छ भने नेपाली जनतालाई त्यो कुरा स्वीकार्य छैन ।’

यता, कांग्रेस सभापति देउवाले पनि गणतन्त्रमा राजालाई कुनै पनि भूमिका दिन नसकिने प्रस्ट पारे । राजाकै कारण गएको राजसंस्था ज्ञानेन्द्र शाहबाट पुनस्र्थापना हुन नसक्ने देउवाको भनाइ छ ।

‘राजा स्वयं नै कारक भएर गणतन्त्र आयो’, उनले भने, ‘राजाले सत्ता सम्हालेपछि नेताहरूलाई यातना दिने, थुन्ने, जेल हाल्ने अलोकतान्त्रिक हर्कत गरे । ज्यादती गरेपछि गणतन्त्र आयो । गणतन्त्र स्थापना हुनुमा राजा स्वयं कारण हुन् ।’

अध्यक्ष दाहालले पनि राजसंस्था फर्काउने दुस्साहस कुनै पनि हालतमा सफल नहुने बताए । उनले पूर्वराजालाई पार्टी खोलेर चुनाव लड्दा पनि झन् ठूलो मूल्य चुकाउनुपर्ने बताए । अब जनताले निरंकुश राजतन्त्रलाई नमान्ने चेतावनी दाहालको थियो ।

महोत्तरीबाट एकसाथ ३ दलका शीर्ष नेताहरूले राजावादीमाथि कडा प्रहार गरे पनि राजसंस्थाको चर्को वकालत गर्दै आइरहेको राप्रपा र अन्य राजावादी समूहले भने राजतन्त्रका पक्षमा सक्रियता देखाएका छन् ।

राप्रपाले प्रजातन्त्र दिवसपछि पोखरा, भैरहवा, धनगढी र काठमाडौंमा प्रदर्शन गरिसकेको छ । 

पूर्वराजा शाहले पनि केही समयदेखि देशभित्र मात्र नभएर बाह्य शक्तिलाई पनि साथमा लिने प्रयास गरेका छन् । उनले पटक–पटक गोप्य रूपमा भारत पुगेर राजनीतिक भेटघाट गरेका छन् । उनले केही महिनाअघि भुटानको पनि भ्रमण गरेका थिए । भुटान सरकारले उनलाई राजाको हैसियत प्रदान गरेको थियो ।

यी सबै घटनाक्रमबाट ढिलोचाँडो राजतन्त्र पुनर्वहालीको आन्दोलन चर्किनेमा शाह ढुक्क देखिएका र गणतन्त्रवादी नेताहरू प्रतिवादमा उत्रन बाध्य भएका राजावादीहरूको दाबी छ ।

राजावादीहरूको सक्रियता बढेपछि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले त पूर्वराजा शाहलाई नियन्त्रणमा लिएर नजरबन्दमा राख्नुपर्ने अभिव्यक्तिसमेत दिएका छन् ।

पूर्वराजाको पछिल्लो अभिव्यक्ति, राजावादीहरूको उत्साह र गणतन्त्रवादीहरूको प्रतिवादलाई विश्लेषकहरूले राजनीतिक दलहरूको कुशासनलाई कारण मानेका छन् ।

‘जब वर्तमान अन्योलपूर्ण हुन्छ र भविष्य निराशाजनक हुन्छ, त्यो बेला मानिसहरू पश्चगामी यात्रातिर जान रुचाउँछन्,’ विश्लेषक मुमाराम खनाल भन्छन् ।

‘दल र नेताहरू भ्रष्टाचार, कुशासनतिर लिप्त हुँदा जनतामा उकुसमुकुस बढेको छ’, खनालले भने, ‘अर्को कुनै भरपर्दो वैकल्पिक शक्ति नभएकाले खाली ठाउँ लिन पूर्वराजावादीहरू सक्रिय भएका हुन् ।’

ADV

सम्बन्धित खबर

Advertise