२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

मधुवन नगरपालिका-४ बालविवाहमुक्त वडा घोषणा

Nada
सन्तोष पौडेल
२०८१ फागुन २५ गते २०:२०
Shares
मधुवन नगरपालिका-४ बालविवाहमुक्त वडा घोषणा

बर्दिया : बर्दिया मधुवन नगरपालिका वडा नम्बर ४ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले एक कार्यक्रमकाबीच उक्त वडालाई बालविवाहमुक्त घोषणा गरिएको हो । 

ncell

घोषणा सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री तिमिल्सिनाले वडालाई बालविवाहमुक्त बनाउने अभियानमा स्थानीयले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको बताए । उनले प्रदेश सरकार समुदायमा सामाजिक समस्याको रुपमा रहेको बालविवाह अन्त्यको लागि हातेमालो गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । उनले सरकार, राजनीतिक दल, संघसंस्था तथा समुदायमा रहेको सम्पूर्ण संयन्त्रहरु एकजुट भएर बालविवाहविरुद्धमा उभिए बालविवाह अन्त्य गर्न सकिने विश्वास व्यक्त गरे ।

मधुवन नगरपालिका उपप्रमुख अनिता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सन् २०३० सम्म नेपाललाई बालविवाह मुक्त बनाउने राष्ट्रिय रणनीति अनुसार वि.स. २०८३ सम्ममा मधुवन नगरपालिकालाई बालविवाहमुक्त पालिका बनाउने कार्ययोजना अन्तर्गत पहिलो वडाका रुपमा वडा नम्बर ४ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको नगर प्रमुख तेजबहादुर भाटले बताए । 

कार्यक्रममा बोल्दै वडाध्यक्ष बलिराम चौधरीले नगरपालिकासँगको समन्वयमा प्लान इन्टरनेशन नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (बिग्रुप) बाँकेद्वारा संचालित बालविवाह न्यूनीकरण परियोजनासहित अन्य संघसंस्थाहरु र सामाजिक अगुवाहरुको पहलमा सचेतना मुलक कार्यक्रम लगायतको सहयोगबाट मात्र वडालाई बालविवाहमुक्त वडा घोषणा सम्भव भएको बताए ।

घोषणा कार्यक्रममा सचेतनामुलक साँस्कृतिक झाँकीसहित स्थानीय कलाकारहरुको कला प्रस्तुती प्रदर्शन गरिएको थियो भने बालविवाह न्यूनीकरण अभियानमा नगरपालिकालाई सहयोग पुर्‍याउँदै आएको सहयोगी संस्था प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय विशिष्टता समुह (बि ग्रुप), बाँकेलाई सम्मान समेत गरिएको थियो ।

सम्बन्धित खबर