२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

रोजगारीका अवसर सिर्जनाका लागि सरकारभन्दा निजी क्षेत्र बढी क्रियाशील हुनुपर्छ : प्रधानमन्त्री ओली

draupadi film
मध्यान्ह
२०८१ फागुन २६ गते १४:१७
रोजगारीका अवसर सिर्जनाका लागि सरकारभन्दा निजी क्षेत्र बढी क्रियाशील हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राेजगारकाे पर्याप्तताका लागि उद्यमशीलताको विकासमा जाेड दिएका छन् । आन्तरिक राेजगारीमा वृद्धि गरी वैदेशिक राेजगारीमाथिकाे बढ्दाे निर्भरता कम गर्ने मुख्य लक्ष्यसहित राजधानीमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ सुरु भएको छ ।

उक्त सम्मेलनकाे उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त उद्यमशीलताको विकास नगरी रोजगारी सिर्जना नहुने भएकाले सबै सराेकारवालाले राेजगारी सिर्जनामा ध्यान दिन आवश्यक रहेको बताए ।

श्रम बजारमा आउने जनशक्तिको तुलनामा सरकारी जागिर न्यून रहेको भन्दै प्रधानमन्त्री ओलीले रोजगारीका अवसरहरु सिर्जनाका लागि सरकारभन्दा निजी क्षेत्र बढी क्रियाशील हुनुपर्ने उल्लेख गरे ।

श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले आन्तरिक राेजगारी सिर्जना नगरेसम्म वैदेशिक राेजगारीमा जाने क्रम नराेकिने भएकाले मन्त्रालय आन्तरिक राेजगारी सिर्जनामा केन्द्रिकृत भएको र मन्त्रालयमा आन्तरिक राेजगार व्यवस्थापन महाशाखा स्थापना गरी अघि बढेको बताए ।

प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा. युवराज खतिवडाले प्रत्येक वर्ष ४ लाख युवायुवती श्रम बजारमा आउने, तर पारिश्रमिककाे न्यूनतालगायतका समस्याले उनीहरू आन्तरिक राेजगारीमा आकर्षित नभएकाले सम्मेलनमार्फत नीतिगत कमजोरी पत्ता लगाउनुपर्ने बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आन्तरिक राेजगारी सिर्जनामा मन्त्रालय अन्तरमन्त्रालय समन्वयको आधारमा अघि बढेको भन्दै श्रम र श्रमिकको सम्मानकाे संस्कृति विकास गर्न जरुरी रहेको धारणा राखे ।

पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन मुलत: नेपाल श्रम शक्तिको उपयाेग गर्न सिर्जनात्मक राेजगारी बढाउने क्षेत्रकाे पहिचान तथा प्रवर्द्धन र वैदेशिक राेजगारबाट प्राप्त सीप, ज्ञान र पुँजीकाे यथाेचित प्रयोगमा केन्द्रित रहने श्रम मन्त्रालयले जनाएको छ । सम्मेलनका लागि उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक राेजगारीकाे दिगो आधार नारा तय गरिएको छ ।

सम्मेलनकाे उद्घाटन मन्त्रालयका सचिव कृष्णहरि पुष्करको सभापतित्वमा भएको थियो । सम्मेलनमा राेजगारी सिर्जना गर्ने भूमिकामा रहेका नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल हाेटल संघ, नेपाल वैदेशिक राेजगार व्यवसायी संघ, ट्रेड युनियन प्रतिनिधि, नेपाल सुनचाँदी व्यवसायी संघ, रिटर्नी कामदारलगायत करिब ३ दर्जन संस्था र विज्ञहरूसहित ५०० जनाको सहभागिता रहेकाे छ ।

मंगलबार समापन हुने सम्मेलनमा आन्तरिक राेजगारी सिर्जनाका लागि सम्भावित क्षेत्रकाे पहिचान र प्रवर्द्धन, नेपालमा राेजगार सेवा तथा सुविधाको विकास र विस्तार, श्रम आप्रवासन व्यवस्थापनका विविध आयामहरू, वैदेशिक राेजगारमा लैंगिक मुद्दाहरू, वैदेशिक राेजगार व्यवसायका चुनाैती र सुधारसहित प्राप्त पुँजी प्रविधिकाे उत्पादनमा प्रयोग, सूचना प्रविधिको विकासमा नेपालकाे सम्भावना र राेजगारी सिर्जना शिर्षकमा आधा दर्जन बढी प्यानल छलफल गर्ने तयारी छ ।

मन्त्रालयले आन्तरिक राेजगारीकाे वृद्धिका लागि यसअघि  २०५४, ०६१, ०६९ र ०७६ साल गरी ४ पटक श्रम तथा राेजगार सम्मेलन गरिसकेकाे छ । तर काेराेना भाइरस (काेभिड-१९) काे विश्वव्यापी महामारीले ती सम्मेलनले निर्दिष्ट गरेका लक्ष्य प्राप्तिमा व्यवधान उत्पन्न भई निरन्तररूपमा वैदेशिक राेजगारमा नै निर्भर हुनुपरेको कारणले यसपटक आन्तरिक राेजगारका सम्भावना केलाउन बृहत् आकारको सम्मेलन गर्नु परेको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए ।

ADV

सम्बन्धित खबर

Advertise