काठमाडौं : संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्न बनेको संसदीय समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ ।
मंगलबार समिति सभापति एवं कांग्रेस सांसद जीवन परियारले नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा सभामुख घिमिरेलाई प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदनमा राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडलाई मुख्य जिम्मेवार बनाइएको छ ।
आइतबारदेखि सोमबारसम्म लगातार छलफल हुँदा पनि सहमति नभएपछि रातभर छलफल भएको थियो । रातभरको छलफलपश्चात आज बिहान ४ बजे सर्वसम्मत रूपमा प्रतिवेदन पारित भएको हो ।
समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको हो । त्रुटि कसरी हुन्छन् भविष्यमा यस्ता त्रुटि हुन नदिन विशेषज्ञसँग परामर्श गरेर विशेष समितिले प्रतिवेदन तयार गरेको जनाइएको छ ।