२०८२ वैशाख १४ गते आइतवार / Apr 27 , 2025 , Sunday
२०८२ वैशाख १४ गते आइतवार
Ads

संसदमा सत्तापक्ष र प्रतिपक्ष आमने–सामने : राजावादीलाई सन्देश, एक अर्कोलाई प्रश्न

जीवन शर्मा
२०८१ फागुन २८ गते ०६:४०
संसदमा सत्तापक्ष र प्रतिपक्ष आमने–सामने : राजावादीलाई सन्देश, एक अर्कोलाई प्रश्न

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्ति र उनको स्वागतको नाममा भएको शक्ति प्रर्दशनलाई लिएर प्रतिनिधि सभामा चर्को बहस भएको छ । 

मंगलबार बसेको संसद बैठकमा राजावादीको गतिविधि बढ्नुको कारण गणतन्त्र पक्षधर भित्रै एक अर्कोको भूमिकाप्रति हिलो छ्यापाछ्याप गर्ने प्रयास गरेका छन् । 

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले एकै स्वरमा लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने सन्देश पूर्वराजा ज्ञानेन्द्र शाहलाई दिए पनि सत्ता पक्ष र प्रतिपक्षले एकअर्कालाई दोषारोपण गर्न भने छाडेका छैनन । 

राजावादीको सक्रियता बढ्नुमा एक अर्कोको व्यवहार मुख्य रहेको भनेर संसदमा सत्ता र प्रतिपक्षबीच जुहारी नै चल्यो ।

संसद बैठकको सुरुमै बोलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी र सत्तापक्षका कारण लोकतन्त्रमाथि धावा बोल्न थालिएको टिप्पणी गरे । ‘कि अब हामीले एकातिर सरकारको गलत क्रियाकला(पविरुद्ध र अर्कोतिर प्रतिगामी चलखेलकाविरुद्ध एकैसाथ जुध्नुपर्ने विशिष्ट स्थिति सर्जना भएको छ’ उनले भने । 

संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर दलहरूबीचको फाटोले वर्तमान व्यवस्थामाथि चुनौति थपेको संकेत नेताहरूको अभिव्यक्तिेले संकेत गरेको छ ।  एकातिर राजावादीहरूले हिन्दु राज्यसहित राजसंस्थाको एजेण्डालाई स्थापित गर्न अनेकन फण्डाहरू रचिरहेको अवस्थामा गणतन्त्रवादी दलहरू आफ्नै पक्षमा रोटी सेकाउन लाग्दा व्यवस्थामाथि खतरा बढ्नसक्ने शंशय उत्पन्न भएको छ ।

संसदका २ ठूला दल सम्मिलित नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार यतिवेला विपक्षीको मात्र होइन, सत्तारुढ दलहरूकै प्रश्नको घेरामा परेको छ । प्रतिपक्षको कडा आलोचना खेप्दै आएको सरकारको सेवाप्रवाह, सुशासन, विकास र भ्रष्टाचार नियन्त्रण र कानुनी सवालमा सत्ताधारीहरूलाई नै सन्तुष्ट हुने ठाउँ राख्न सकेको देखिदैँन । 

सत्ताको मुख्य सहयात्री दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै क्षेत्रमा विश्वासको वातावरण आर्जन गर्ने गरी काम गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । प्रतिनिधिसभामा मंगलबारको बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले भने, ‘सरकारले कानुन निर्माण गर्दा वृहत्तर सार्वजनिक हितलाई ध्यान दिनुपर्छ । कुनै एउटा व्यक्ति वा समूहले त्यसको लाभ लिनुहुँदैन भन्ने जसरी प्रश्न उठेको छ, यसमा सरकार सचेत रहनुपर्छ ।’ उनले सरकारका निर्णयका सन्दर्भमा पटकपटक प्रश्न उठेको भन्दै प्रत्येक कुरामा आफ्नो कामबाट, निर्णयबाट संसद्, आम राजनीतिक दल र जनताको विश्वास जित्ने वातावरण बनाउन आग्रह गरे ।

यो मात्रै होइन प्रतिनिधिसभा बैठकमा राजतन्त्र र गाणतन्त्रवादीबीच चर्काचर्की भइरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेका नेताहरूबीच समेत भनाभन भयो । गणतन्त्रवादीहरू नै एकआपसामा आरोप प्रत्यारोपमा उत्रिएपछि राजावादीलाई थप बल पुगेको कतिपय नेताहरूले नै टिप्पणी गरेका छन् । आफूलाई गणतन्त्रको मसिहा ठान्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूसँगै सत्तापक्षलाई गाली मंगलबारको संसद बैठकमा गरेका थिए । 

सरकारको विश्वसनीयता सकिएका कारण पुरातनवादी शक्तिहरू हौसिएको भन्दै प्रचण्डले भने ‘सरकार असफल भइरहेको र पुरातनवादीले समेत प्रतिगमन र प्रतिक्रान्तिको तरवार चलाउने सपना देखिरहेकाले सरकारका गलत क्रियाकलाप र प्रतिगामी चलखेलविरुद्ध जुध्नु पर्ने विशिष्ट अवस्था सृजना भएको छ ।’ आफू ८ महिना अघिसम्म सरकारमा रहँदा नदेखिएको असन्तुष्टि अहिलेको सरकार बनेपछि जनतामा असन्तुष्टि र आक्रोश बढ्दै गएको दाहालको दाबी छ । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लोकतन्त्रभित्र आफ्नो ठाउँ खोज्नसमेत सुझाव दिए ।

अध्यक्ष प्रचण्डले दुई तिहाइको घोडा सरकारका प्रधानमन्त्री र मन्त्रीले चलाएको नदेखेको टिप्पणी गर्दै सरकारलाई विचौलियाले चलाइरहेको आरोप लगाए । सरकारले संसद् सञ्चालनमा प्रतिपक्षलाई स्थान नदिएको गुनासो समेत उनले गरे । 

पूर्वप्रधानमन्त्री समेत रहेको विपक्षी दलका नेता प्रचण्डको अभिव्यक्तिलाई काउण्टर दिदै सत्तापक्षका सांसद एवं एमाले सचिव गोकर्ण विष्टले आफैं यात्रा गरिरहेको डुंगामा प्वाल नपार्न आग्रह गरे । ‘सत्ताबाट निस्केको ६÷७ महिनामै देश बिग्रेको दोष अरुलाई दिएर उम्किन मिल्छ ? विगतमा विचौलियाहरूसँग उठबस गरेकाले प्रचण्डलाई अहिले पनि सरकार विचौलियाले चलाएको भान परेको हुनसक्छ’, उनले भने । गणतन्त्रको डुंगा डुब्दा प्रचण्ड पनि डुब्ने भन्दै विष्टले सत्ता बाहिरको छटपटीलाई संयमित भएर व्यक्त गर्न प्रचण्डलाई सुझाव दिए ।

प्रतिपक्षले राजनीतिक धर्मअनुसार सरकारको आलोचना गरेपनि सत्ता पक्षबाटै आलोचित हुन थालेपछि सरकारका काम कारबाही सच्याउन दबाब बढ्ने राजनीतिक विश्लेषकहरू बताउँछन् । सत्तापक्षका सांसदहरूबाटै सरकारको कमजोरीलाई छर्लङ पार्ने कोसिस भएपछि प्रतिपक्षी दलको विरोधको स्वर बढेको छ भने राजावादीहरूलाई यो व्यवस्थाप्रति भ्रम छर्न थप बल पुग्ने उनिहरूको भनाई छ । यद्यपि कतिपयले लोकतन्त्रमा आफ्नै सरकारलाई सच्याउन सांसदले सुझाव दिनुलाई सकारात्मक लिएका छन् ।  

राजनीतिक विश्लेषक शंकर तिवारी भन्छ ‘लोकतन्त्रिक व्यवस्थाको सौन्दर्य नै आफैभित्र प्रश्न गर्न पाउने र सच्चिन सुझाव दिनु हो । सरकार संसदका २ ठूला दलको भएकाले यस सरकारलाई असफल हुने छुट छैन । असफलतातिर सरकार नजाओस् भनेर नै सत्तापक्षका महामन्त्रीले सरकारलाई सुझाव दिएको हो । जुन लोकतन्त्रमा आवश्यक हुन्छ ।’ 

१५ चैतमा समाजवादी मोर्चाको बृहत् प्रदर्शन 

समाजवादी मोर्चाले आगामी १५ चैतमा काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । देशलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रलाई प्रतिकार गर्न १५ चैतमा काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको हो । 

मंगलबार नेकपा (एकीकृत समाजवादी)को कार्यालय आलोकनगरमा बसेको बैठकले गणतन्त्रको पक्षमा र प्रतिगमनको विरुद्ध विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय भएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए । पछिल्लो पटक राजावादीहरूको चलखेल बढेको भन्दै गाणतन्त्र पक्षधरहरूले राप्रपालगायत राजावादीको गतिविधिप्रति आलोचना गर्दै आएका छन् । 

यसअघि समाजवादी मोर्चाले २४ चैत सभा गर्ने निर्णय गरेको थियो । ‘देशलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रलाई प्रतिकार गर्न १५ चैतमा काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय निर्णय गरेका छौं’, विश्वकर्माले भने ‘यसमा गणतन्त्रबादीहरू सबैलाई समेट्ने प्रयास हुन्छ ।’ 

कार्यक्रमलाई प्रभावकारी र सशक्त बनाउन १ चैतमा बुद्धिजीवीसँग अन्तरक्रिया गर्ने र त्यही दिन पत्रकार सम्मेलन गर्ने निर्णय गरिएको विश्वकर्माले जानकारी दिए । देशलाई प्रतिगमनतर्फ लैजाने हर्कत सह्य नहुने निष्कर्ष निकालिएको उनको भनाइ छ । 

प्रवक्ता प्रकाण्डले देशलाई अशान्तितर्फ धकेल्ने घटनालाई प्रतिकार गर्न आमजनतामा अपिल गरिने पनि बताए ।

ADV

सम्बन्धित खबर