काठमाडौं : प्रधानमन्त्री कप क्रिकेटमा आइतबार भएको खेलमा सुदूरपश्चिम र त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको पहिलो खेलमा सुदूरपश्चिमले कोशीलाई ३१ रनले पराजित गरेको हो ।
२४३ रनको लक्ष्य पछ्याएको कोशी ओभरमा रनमा अलआउट भयो । कोशीका लागि शकिब हकले अर्धशतकीय पारी खेले । हकले ६६ बलमा ११ चौका प्रहार गर्दै ६२ रनको योगदान गरे । तर, जितको लागि पर्याप्त हुन सकेन ।
सुदूरपश्चिमका लागि सौर्य श्रेष्ठले ३ विकेट लिए । भोज राज भट्टले २ तथा शेर मल्लले १, नारायण जोशी तथा राहुल भण्डारीले १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम ४३.४ ओभरमा २४२ रनमा अलआउट भएको थियो ।
सुदूरपश्चिमका लागि किरण ठगुन्नाले शतकीय पारी खेले । उनले किरणले ११५ रन प्रहार गर्दै एकै सिजनमा २ शतक प्रहार गर्ने कीर्तिमानीसमेत बनाएका छन् । कोशीका लागि ज्ञानेन्द्र श्रेष्ठले ४ विकेट लिए ।
यस्तै, दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले सातौं जित हासिल गरेको छ ।
सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा आइतबार भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई १३१ रनले पराजित गरेको हो ।
आर्मीले दिएको २४४ रनको लक्ष्य पछ्याएको लुम्बिनी २७.१ ओभरमा ११२ रन बनाएर अलआउट भयो ।
लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ३७ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
आर्मीका लागि साहब आलमले ४ विकेट लिए । उनले ९.१ ओभरमा २५ रन खर्चेर २ मेडन पनि फाले । नरेन साउदले २ तथा बसिर अहमद, आकाश चन्द र सोमपाल कामीले १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको आर्मी ४९.२ ओभरमा २४३ रनमा अलआउट भएको थियो ।
आर्मीका बसिर अहमदले अर्धशतकीय पारी खेले । उनले १०४ बलमा ६ चौका प्रहार गरे । भीम सार्कीले ४४ रन बनाए । लुम्बिनीका लागि अजय चौहानले ४ विकेट लिए ।