नरेन्द्र आर/मध्यान्ह
अछाम, १६ माघ । नेपाली समाजमा राजनीतिक क्षेत्रमा स्थापित बन्न पाको हुनुपर्छ, उमेर धेरै हुनुपर्छ भन्ने छ । हरेक राजनीतिक दलको नेतृत्वमा हेर्ने हो ६०÷६५ वर्ष कटेका राजनीतिज्ञहरुको बर्चस्व छ । ‘देश निर्माणको जिम्मा युवाको काँधमा छ’ भन्ने गरिएपनि नेतृत्वमा भने युवाहरूलाई अक्सर मौका दिइएको पाइँदैन । तर अछाम जिल्ला मंगलसेन नगरपालिकाकी लक्ष्मी बोगटीले समाजमा स्थापित मान्यतालाई चिर्दै अगाडि बढिरहेकी छिन् ।
हालसालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा समानुपातिक उम्मेदवारका रूपमा मात्रै नभएर केही समय अगाडि सम्पन्न स्थानीय तहको निर्वाचनमा मंगलसेन नगरपालिकाको उपप्रमुखमा उनको चर्चा थियो । यसबाट पनि प्रष्ट हुन्छ उनको राजनीतिक सफलता । छोटो समयमा लक्ष्मीले हासिल गरेको सफलता लोभ लाग्दो छ । राजनीतिकलाई दुरुपयोग गर्ने जमातमा लक्ष्मी भने फरक विचार बोकेर अगाडि बढेकी छिन् । राजनीति समाजका लागि निस्वार्थ रुपमा गरिने त्याग हो भनेर उनले राम्रोसँग बुझेकी छिन् ।
सुदूरपश्चिमको दुर्गम जिल्ला अछाममा २०५५ सालमा जन्मिएकी लक्ष्मीले समाजमा जरा गाडेका छाउपडी, कुप्रथा, जातीय भेदभाव, लैंगिक विभेद लगायत सामाजिक समस्याहरूलाई नजिकबाट नियाल्ने मौका पाइन् । ति समस्या समाधानका लागि उनी निरन्तर सक्रिय छिन् । सानैबाट समाजमा रहेका विकृतिका विरुद्धमा लड्ने अठोट उनीभित्र पलाउँदै गयो । विद्यालयस्तरमा हुने साँस्कृतिक, वक्तृत्वकला लगायतका कार्यक्रममा लक्ष्मी कहिल्यै दोस्रो भइनन् । जसले गर्दा उनको नेतृत्व विकासमा झन्–झन् टेवा पुग्दै गयो । विद्रोही स्वभाव भएकी लक्ष्मीले अन्याय र आफूलाई चित्त नबुझेका कुरामा बोल्न कहिल्यै छोड्दिनन् । अशिक्षा, गरिबी, भेदभावले दबिएको समाजमा परिवर्तन र एउटा सम्भावनाको दियो बनेर चम्किएकी छिन् उनी । लक्ष्मीबाट गाउँ समाजले पनि निकै आशा राखेको छ । यसै पनि लक्ष्मी गाउँ समाजलाई जागृत गर्ने अभियानमै छिन् ।
सामाजिक क्षेत्रमा थुप्रै कामहरू गरिसकेकी लक्ष्मीलाई अरूको लागि गरेको काममा सबैभन्दा धेरै खुसी र सन्तुष्टि मिल्छ । उनले केहि समय अगाडि मंगलसेन नगरपालिका ८ बस्ने सहाराबिहिन बुढी आमा मन्दरी विकको घर निर्माणको काम गरेर नगरपालिकामार्फत हस्तान्तरण समेत गरेकी थिइन् उनले । राजनीतिक जीवनलाई पूर्ण रूपमा जनताको सेवक भएर बिताउने उनको मनसाय छ । समाजमा जरा गाडेर बसेका छाउपडि कुप्रथा, जातीय भेदभाव, लैंगिक असमानता लगायतका समस्याहरूका विरुद्धमा खरो रूपमा उत्रिने लक्ष्मी समुन्नत समाजको परिकल्पना गर्छिन् । उनले प्रत्यक्ष रूपमा अछामका विभिन्न समस्याहरूलाई सुक्ष्म रुपमा अध्ययन गरेकी छिन् । समाज परिवर्तनको हुट्हुटी बोकेर अगाडि बढिरहेकी छिन् लक्ष्मी ।
पुरुषप्रधान समाजको पगरी भिराइएको नेपाली समाजमा अहिले पनि लैंगिक असमानता र विभेदहरू कायमै छन् । ती तमाम असमानताहरूको विरुद्धमा उठेका नारी आवाजहरू सिमित छन् । तिनै सिमिततालाई पूर्ति गर्ने भावी योजना लक्ष्मीले कोरेकी छिन् । सुदूरपश्चिम र कर्णालीका धेरै ठाउँहरूमा छाउपडी कुप्रथाले गर्दा धेरै चेलीहरूले अनेकौं चुनौतीहरूको सामना गरिरहनु परेको छ ।
त्यो सामाजिक कुप्रथाबाट तमाम नारीहरूलाई बचाउने अभियानमा लामो समयदेखि लक्ष्मी समर्पित छिन् । अछाम जिल्लाका विभिन्न ठाउँमा पुगेर जनचेतनामुलक गतिविधिमा समेत लक्ष्मी सहभागी भइरहन्छिन् । खासगरी युवा पुस्तामाझ छट्टै छवि बनाउन सफल उनलाई भावी नेतृका रूपमा पार्टीका विभिन्न पंक्तिहरूमा पनि चर्चा गरिन्छ । विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरूलाई आदर्श मान्ने लक्ष्मी उनीहरूको राजनीतिक जीवनबाट निकै प्रभावित छिन् । त्याग र निष्ठाको राजनीतिले मात्रै समाज परिवर्तन सम्भव हुनसक्ने कुरामा उनी दृढ छिन् ।
अछामको श्री षोडषादेवी उमावि, मंगलसेनबाट २०७१ मा एसएलसी उत्तिर्ण गरेकी लक्ष्मीले आइएस्सी एण्ज अछामको बिनायक विद्या मन्दिरबाट गरिन् । हाल टिकापुर टेक्निकल कलेजबाट बिएस्सी एजी तहमा अध्ययनरत छिन् । नेपालमा अझैपनि खास कृषकको पहिचान हुन सकेको छैन । कृषकहरुलाई विचौलियाहरुले अप्ठ्यारोमा पारेका छन् । फाइदा जति विचौलियाले लिन्छन् । कृषक मारमा परिरहेका छन् । अनुदानको कुरा गर्ने हो भने माटोमा जसले हात हालेका छैनन्, उनीहरुले पाइरहेका छन् । राजनीतिक दलको कार्यकर्ताले सजिलै अनुदान पाउँछन् । उनीहरुको फर्मले रकम पाइरहेका छन् । यस्ता कुरामा लक्ष्मी कडा असहमत राख्छिन् ।
लक्ष्मीको भावी योजना
सरकारले कृषकहरुमाथि सौतेनी व्यवहार गरिहेको छ । कुनैपनि क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ । दुर्गम क्षेत्रमा छाउपडी प्रथा कायमै छ । अशिक्षा र बेरोजगारी छ । महिलाहरुले भोगिरहेका समस्या अनेकौं छन् ।
छाउगोठमा महिलाहरुले मर्नुपर्ने अवस्था छ । विकट क्षेत्रका महिलाहरुको स्वास्थ्यमा लापरवाही भइरहेको छ । त्यो समस्या समाधानका लागि खरो रुपमा उत्रिने लक्ष्मीको योजना छ । देश र समाजका लागि केही नयाँ काम गरेर सेवामा समर्पित हुने उनको योजना छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies