– खिमराज गिरी
वास्तवमा जलावायु परिवर्तनले हाम्रो पृथ्वीको मौसममा हुने अनियमित परिवर्तनलाई जनाउँछ । जलवायु परिवर्तन बढी मात्रामा मानवको क्रियाकलापबाट हुने गर्छ । खासगरी मानवजन्य गतिविधिहरूका कारणले जलवायु परिवर्तन हुने गर्छ ।
जलवायु परिवर्तन अहिलेको युगमा नेपालमा मात्र नभएर विश्व परिवेशमा नै ठूलो समस्याको रूपमा देखिन थालेको छ । यसलाई २ तरिकाबाट लिन सकिन्छ ः प्राकृतिक कारण (ज्वालामुखी विस्फोटन, पृथ्वीको कक्ष र अक्षमा हुने परिवर्तन र प्राकृतिक ग्यासहरूको उत्थखनन) र अर्को मानवीय कारण (पृथ्वीको भित्री सतहबाट अनियन्त्रित रूपमा खानीको प्रयोग, जंगल फँडानी, विभिन्न उद्योगहरूबाट अनियन्त्रित रूपमा निस्किएको कार्बनडाइअक्साइड ग्यासको उत्सर्जन र कृषि क्षेत्रबाट आउने मिथेन ग्यासको प्रभाव) । यस्ता कारणहरू जलवायु परिवर्तनका कारक तत्त्वहरू हुन् ।
अझ पहिला १८औं तथा १९औं शताब्दीको औद्योगिक क्रान्तिका कारण मानिसको भीड विस्तारै शहरतिर बढ्न थाल्यो । औद्योगिक चहलपहल तथा मानवीय गतिविधिका कारण वायुमण्डलीय ग्यासहरूको सन्तुलन बिग्रिँदै गएका कारण पनि जलवायु परिवर्तनका रूप रेखाहरू देखापर्न थालेका छन् ।
यसका कारण विश्वभर तापक्रम बढ्ने क्रम जारी छ र अचम्मको कुरा त असामान्य मौसमी घटनाहरू देखापर्न थालेका छन् । नेपाल जस्तो अविकसित देशमा यसको असर झन् गम्भीर रूपमा देखिएको छ ।
हाल विश्वमा जलवायु परिवर्तनको प्रभाव अध्ययन गर्ने हो भने, समुद्री सतहको वृद्धि हुँदा माल्दिभ्स तथा बंगलादेश जस्ता देशहरूमा समुद्री सतह बढ्नाले ती देशहरूको बसोबास नै खतरामा परेको कुरा विज्ञहरूले बारम्बार भनिरहेका छन् । असामान्य मौसमी घटना हुनु, आँधीबेहरी, तातो हावा बहनु, भारी वर्षा कि त लामो खडेरी हुनु, जैविक विविधताको गिरावट देखिनु, वनस्पति तथा जीवजन्तुहरूको प्राकृतिक बासस्थान नष्ट हुँदै जानु तथा धेरै प्रजातिका लोभलाग्दा प्राणीहरूको लोप हुने अवस्था देखिनु आदि लक्षणहरू नै विश्वमा जलवायु परिवर्तनले पारेका दुष्प्रभावका केही उदाहरण मात्र हुन् ।
नेपालमा जलवायु परिवर्तनको तत्कालै देखिएको असरबारे अध्ययन गर्ने हो भने विगत केही वर्षदेखि यहाँको मौसमी हावापानी परिवर्तन हुँदै आइरहेको छ । समयमा वर्षा नहुनु, बेमौसमी वर्षाले धनजनको व्यापक रूपमा क्षति हुनु, जस्तै ः गत असोज महिनामा भएको भारी वर्षाका कारण नेपालमा व्यापक रूपमा धनजनको क्षति भएको थियो । यसले गर्दा सयौं मानिसको ज्यान गयो भने धेरै मानिसको बस्तीलाई नदीले बगाएको थियो ।
यसका अलावा प्रायः नेपालीहरूको खेती लगाउने महिना जेठ, असार र साउन हुन् । तर, उक्त समयमा पानी कम मात्रामा पर्छ । जेनतेन खेतीबाली किसानले लगाउँछन् तर खेती पाकेर थन्क्याउने समय कात्तिक, मसिंरमा व्यापक रूपमा असिना पानी तथा आँधी, हावाहुरी आएर थन्क्याउने बेला भएको बालीनाली सखाप पारिदिन्छ । त्यस्तै, कहिलेकाहीँ वनमा डढेलो लाग्नाले वन्यजन्तुको बासस्थान नै खतरामा परेको देखिन्छ । यी सबै घटना जलवायु परिवर्तनसँग जोडिएका हुन्छन् ।
नेपालीहरूको विशेषता त के पनि हुन थाल्यो भने, गाउँघरका बस्तीहरू प्रायः खाली भएर शहरीकरण भई शहरमा घना बस्ती देख्न सकिन्छ । यसरी भएको घना बस्तीका कारण खाली जमिन जताततै कंक्रिट भरिएको हुन्छ र वर्षाको समयमा आकाशबाट पर्ने पानी जमिनमा नसोसी सिधै ढलबाट खोला तथा नदीमा लगिन्छ ।
अझ विडम्बनाको कुरा त प्रत्येक घरघरमा ट्युबवेलबाट जमिनमुनिको पानी दोहन गरिएको छ । काठमाडौं उपत्यकाको हकमा भूगर्भविद्हरूले पनि जमिन खोक्रो भइसक्यो भन्ने गरेको कुरा सत्य सावित हुँदै छ । यो पनि एउटा जलवायु परिवर्तनको असरअन्तर्गत पर्छ ।
विकासे बजेट सिध्याउने नाममा अनावश्यक डाँडापाखामा सडक खन्दा जंगलको विनाश तथा पहिरोको डरले कतिपय बस्तीहरू नै जोखिममा परेका अवस्था छ । हिमालको अवस्था हेर्ने हो भने पनि निकै उराठलाग्दो छ । केही दशकअघिसम्म सेताम्मे देखिने हिमाल यतिबेला कालापत्थर देखिने भएका छन् । यसर्थ पनि भन्न सकिन्छ कि जलवायु परिवर्तनका लागि एउटा देश तथा एक गाउँका जनता मात्र सचेत भएर हुँदैन, त्यस सम्बन्धमा विश्वभरका सवै जना सचेत हुनु जरुरी छ ।
अहिलेको विश्व विभिन्न धुव्रमा बाँडिएको छ । प्रत्येक शक्तिको स्वार्थ बेग्लाबेग्लै छ । विशेषगरी केही विकसित देशहरू जसरी पनि विकासको उचाइमा पुग्ने ध्याउन्नमा छन् । विकासका नाममा उनीहरू अन्धाधुन्ध लागिरहेका छन्, जसको प्रभाव अविकसित र कमजोर मुलुकहरूमा परिरहेको छ ।
विशेषगरी दक्षिण एसियाका नेपालसहित बंगलादेश, माल्दिभ्स, भुटान जस्ता देशहरू बिनाकारण पीडित छन्् । सयुंक्त राष्ट्रसंघको समयसमयमा हुने गरेका जलवायुसम्बन्धी सम्मेलनमा पनि नेपाल जस्ता देशहरूबाट व्यापक रूपमा यसको समाधानका उपाय र क्षतिपूर्तिबारे पनि कुरा उठाइएको हो तर विकसित राष्ट्रहरू यसबारेमा एजेन्डामा नै प्रवेश गर्न चाहँदैनन् । तर, जलवायु परिवर्तनका कारक तत्त्वका रूपमा भने तिनै राष्ट्रहरूको सक्रियता अग्रपंक्तिमा देख्न सकिन्छ ।
जलवायु परिवर्तनलाई कम गर्नका लागि तत्कालीन तथा दीर्घकालीन उपायहरू अवलम्बन गर्नुपर्ने देखिन्छ । त्यसमा नवीकरणीय ऊर्जाको प्रयोग गर्ने एक हुन सक्छ । जस्तै ः सौर्य, हावा तथा जललाई सही सदुपयोग गर्न सकिन्छ । वनको संरक्षण गर्ने तथा वृक्षरोपणमा जोड दिने, जनचेतनामा अभिवृद्धि गर्ने, स्थानीयस्तरदेखि अन्तर्रारिष्ट्रयस्तरसम्म जलवायु सचेतना कार्यक्रम संचालनमा जोड दिन सकिन्छ किनकि अहिलेको युग सूचनाको युग हो र विभिन्न देश मिलेर डिजिटल माध्यमको प्रयोग गरी भर्चुअल मिटिङको आयोजना गर्न सकिन्छ ।
अझ खासगरी सन् २०१४ देखि सार्क राष्ट्रको सक्रियता कम छ । विशेषगरी भारत र पाकिस्तानको द्वन्द्वका कारण बैठक बस्नसमेत सकेको छैन । यसका लागि जलवायु परिवर्तनको मुद्दालाई प्राथमिकता दिनका लागि एउटा देशभन्दा पनि यस्ता संगठनमा आवद्ध देशहरूको आवाजमा एक स्वर हुने हो भने विकसित राष्ट्रहरूले पनि सुन्न सक्ने अवस्थाको सिर्जना हुने थियो । त्यसैगरी हरितगृह ग्यासको उत्सर्जन कम गर्ने प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने देखिन्छ ।
निष्कर्षमा, जलवायु परिवर्तनको जोखिमविरुद्ध सामूहिक ढंगले लड्न आवश्यक छ । नेपालको सन्दर्भमा सरकारको मात्र एकल प्रयासले यो सम्भव हुँदैन, सरकारले आमजनताको पनि साथ लिनुपर्छ । सँगै, विश्व पनि जलवायु परिवर्तनविरुद्ध लड्न एक ठाउँमा जुट्नै पर्छ ।पृथ्वी सबैको साझा हो, यसलाई जोगाएर लैजान सके मात्र सबै प्राणी जगत्को भविष्य रहन सक्छ । सबै सचेततापूर्वक प्रकृतिलाई जोगाउनेगरी लाग्न आवश्यक छ ।