२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

आठ महिनामा ५६ अर्ब बराबरको खाने तेल निर्यात

Nada
२०८१ चैत १३ गते ०८:४७
Shares
आठ महिनामा ५६ अर्ब बराबरको खाने तेल निर्यात

काठमाडौँ : नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खाने तेल निर्यात गरेको छ । विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खाने तेल बेच्दा निर्यात उल्लेख्य रूपमा बढेको हो ।

ncell

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष आयात ११ दशमलव २० र निर्यात ५७ दशमलव २० प्रतिशतले बढेको छ । अर्थात् गत वर्षको तुलनामा यस वर्ष नेपालको निर्यातमा खाने तेलको निकै ठूलो हिस्सा देखिएको छ । 

पछिल्लो आठ महिनामा रू. एक खर्ब ५८ अर्बको निर्यात गर्दा नेपालले रू. ४७ अर्ब ९४ करोड ६६ लाख बराबरको भटमास (सोयाबिन) तेल मात्रै निर्यात गरेको छ । त्यस्तै, रू. सात अर्ब ९८ करोड २३ लाख बराबरको सूर्यमुखी तेल, रू. पाँच अर्ब ८३ करोड ७३ लाखको अलैँची, रू. चार अर्ब ३२ करोड ३९ लाखको कार्पेट निर्यात भएको छ ।

विभागका अनुसार चालु आवको दोस्रो चौमासिक अवधिसम्म मुलुकले कुल रू. १३ खर्ब तीन अर्ब ७३ करोड ८६ लाख बराबरको वैदेशिक व्यापार गर्दा रू. नौ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाखको घाटा बेहोरेको छ । पछिल्लो आठ महिनामा रू. ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख बराबरको वस्तु आयात भएको छ भने रू एक खर्ब ५८ अर्ब १७ करोड २४ लाख बराबरको निर्यात भएको छ ।

छिमेकी मुलुक भारतसँग मात्र नेपालले आठ महिनामा रू. पाँच खर्ब ६३ अर्ब ६७ करोडको व्यापार घाटा बेहोरेको छ । गत साउनदेखि फागुनसम्म भारतबाट रू. छ खर्ब ८८ अर्ब ६८ करोडको आयात हुँदा रू. एक खर्ब २५ अर्ब बराबरको निर्यात भएको छ । चीनसँग रू. दुई खर्ब १९ अर्ब १८ करोडको आयात र रू. दुई अर्ब १२ करोडको निर्यात हुँदा रू. २१ अर्ब ७० करोडको व्यापार घाटा बेहोरेको छ । साथै अर्जेन्टिना, युक्रेन, युनाईटेड अरब ईमिरेट्स, अस्ट्रेलियालगायतका मुलुकहरूसँग नेपालको व्यापार घाटा उच्च छ । उक्त अवधिमा ३४ वटा मुलुकसँगको व्यापारमा नेपाल नाफामा छ । अफगानिस्तान, डेनमार्क, रसिया, अस्ट्रिया, माल्दिभ्सलगायतका मुलुकसँगको वैदेशिक व्यापारमा नेपाललाई नाफा छ ।

सो अवधिमा पेट्रोलियम पदार्थको आयात उच्च छ । पछिल्ला आठ महिनामा नेपालले रू. ७८ अर्ब ८६ करोड ३७ लाखको डिजेल, रू. ४२ अर्ब ८० करोड १७ लाखको पेट्रोल र रू. ४१ अर्ब बराबरको एलपी ग्यास आयात गरेका छ । त्यस्तै, रू. नौ अर्ब ६९ करोड २२ लाख बराबरको विद्युतीय सवारीसाधन र रू. दुई अर्ब ११ करोड बराबरको अन्य सवारीसाधन आयात भएको छ । यो अवधिमा रू. २१ अर्ब ९१ करोड ८३ लाख बराबरको १४ लाख सात हजार ७८ वटा स्मार्टफोन आयात भएको पनि विभागको तथ्यांक छ ।

ताजा खबर

सम्बन्धित खबर