२०८२ कार्तिक १५ गते शनिवार / Nov 01 , 2025 , Saturday
२०८२ कार्तिक १५ गते शनिवार
Ads

जलवायु परिवर्तनले बढायो बाघ र मानवबीच द्वन्द्व

shivam cement
२०८२ कार्तिक १४ गते २१:५०
जलवायु परिवर्तनले बढायो बाघ र मानवबीच द्वन्द्व

मेनका चौधरी/रासस

बर्दिया : जलवायु परिवर्तनका प्रत्यक्ष प्रभावका कारण बर्दियामा बाघ र मानवबीचका द्वन्द्वका घटनाहरू बढ्दै गएका छन् । लामो समयदेखि खडेरी पर्ने, पानीका स्रोतहरू सुक्ने, नदीको बहाव परिवर्तन हुने र स्थानीय तहद्वारा अनियन्त्रित ढुंगा–गिट्टी उत्खनन् जस्ता कारणले बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुहरू आफ्नो बासस्थान छोडेर दक्षिण–पश्चिम तर्फ सर्न थालेका छन् । 

कर्णाली नदीबाट ढुंगा, गिट्टी र बालुवाको अनियन्त्रित उत्खनन्ले गर्दा नदीको बहाव परिवर्तन भई निकुञ्जभित्र पानी नपुग्दा वन्यजन्तुहरू पानीको खोजीमा गाउँ–बस्ती नजिक पुग्न थालेका छन् । यस कारण बाघ र मानिसबीचको द्वन्द्व तीव्र भएको बर्दिया राष्ट्रिय निकुञ्जका अधिकारीहरूले जनाएका छन् ।

निकुञ्जका अनुसार सन् २०१० देखि २०२४ सम्म बाघ र मानवबीच ९१ वटा द्वन्द्वका घटना घटेका छन् । तीमध्ये ३३ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । डिभिजन वन कार्यालयका तथ्यांकअनुसार पछिल्ला तीन आर्थिक वर्षमा मात्रै (आ.व. २०८०/८१ देखि २०८२/८३) ४१ घटना भएका छन् जसमा १३ जनाको मृत्यु छ भने २८ जना घाइते भएका छन् । 

गत जेठ १४ गते गुलरिया नगरपालिकाका सनम चौधरीकी ७ वर्षीया छोरी सायरा चौधरीलाई बाघले आक्रमण गर्दा मृत्यु भएको थियो । बबई नदी किनारमा खेल्दै गरेकी बालिकामाथि आक्रमण हुँदा गाउँ त्रासमा परेको उनका अभिभावकले बताएका छन् । वारबर्दिया नगरपालिका–१० दफैयाकी जुना चौधरी पनि धान काट्ने क्रममा दिउँसो बाघको आक्रमणमा परेकी थिइन् ।

स्थानीयहरूले बाघहरू दिनदहाडै गाउँ नजिक घुम्ने गरेको बताएका छन् । वडा नम्वर १०का  वडाध्यक्ष रणवहादुर चौधरीले गाउँमा बाघहरु धेरै देखिएपछि सामुदायिक वनको झाडि सफाइ गरिएको बताए । 

बर्दिया डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुवेदीका अनुसार आव २०८०/८१ मा बाघको आक्रमणबाट ५ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । आव २०८१/८२मा बाघको आक्रमणमा ६ जनाको मृत्यु र १५ घाइते भएका छन्  । आव २०८२/८३मा बाघको आक्रमणमा २ जनाको मृत्यु ६ घाइते २ जना भएको छन्  । यो डिभिजन वन कार्यालयको मात्र तथ्यांक हो । 

मधुवन नगरपालिकाका नगर प्रवक्ता मेघबहादुर गुरुङका अनुसार खाता कोरिदोर एरियामा बाघ धेरै भएपछि मधुवन नगरपालिकामा मानव वन्यजन्तुबीच धेरै द्वन्द्वका घटना भएपछि नगरपालिकामा मानव र बाघबीच द्वन्द्व न्यूनीकरणका लागि  साइरन बजाउने, जनचेतनाको तालिमहरु दिने, वन्यजन्तु पीडितहरुलाई राहत कोष निर्माण, राहत वितरण गर्ने, जैविक तटबन्ध गरिरहेको, घाँसको बिउ वितरण गरिरहेको,  सामुदायिक वनहरुमा तारजाली निर्माण गरिरहेको छ । 

निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलका अनुसार अहिले बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय ५० वटा पोखरी निर्माण गरिएका छन्, तर वातावरणीय असरका कारण ती पोखरीहरूमा पानी सुक्दै गएको छ । वनमारा र तितो पातिजस्ता मिचाहा घाँसहरूले प्राकृतिक स्रोतहरू पनि प्रभावित बनाएका छन् । 

बाघको बासस्थान सुक्दै जाँदा र आहारा पाउन कठिन भएपछि बाघहरू बस्ती नजिक आउन थालेका छन् । बिरामी, बुढा, वा सुत्केरी बाघले टाढासम्म आहारा खोज्न नसक्दा मानवीय बस्तीमा प्रवेश गरी आक्रमण गर्ने घटना बढेको विज्ञहरूले बताएका छन् ।

वन्यजन्तु विज्ञ डा.बाबुराम लामिछानेका अनुसार जलवायु परिवर्तन, नदीको बहाव परिवर्तन र सुख्खा बढ्नु बाघ र अन्य वन्यजन्तुका लागि गम्भीर चुनौती बनेको छ । ‘यो जलवायु परिवर्तनको सन्देश हो,’उनले भने,‘बाघको मृत्यु चोरी, शिकारी वा विषादीका कारण होइन, वातावरणीय संकटका कारण भएको देखिन्छ ।’

पानीको स्रोत खोज्न गएको बेलामा  जंगलमा भएका पोखरी ताल तलैयामा पानी नपाउँदा पानी खोज्न जाँदा बाघ र मानवबीच द्वन्द्व भएको  वन्यजन्तु विज्ञ लामिछाने बताउँछन् । 

‘जंगलमा मानिसहरु घाँस काट्न, च्याउ टिप्न, पात टिप्न जाँदा जाँदा  निकुञ्जमा सामुहिक रुपमा  मात्र जानुपर्छ, दिउँसोको समयमा मात्र जानुपर्छ, झाडितर्फ  प्रवेश गर्नुहुँदैन,’ उनले भने,‘बाघको आनिबानी  थाहा पाउनुपर्छ । लामो समय सम्म घडेरीहरुपर्ने सुख्खा हुने पानीको स्रोतहरु सुक्दा पानी खोज्न जाँदा बाघ र मानवबीच द्वन्द्व भएको देखिन्छ । यसको बारेमा थप अध्ययन गर्नुपर्नेछ ।’

सन् २०२२ को तथ्यांक अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५ वटा पाटेबाघ रहेका छन् । साथै, ३८ वटा एकसिंगे गैडा, २ सय १० घडियाल गोही, ५ सय १३ प्रजातिका चराहरू, ४२ प्रजातिका सर्प र १ सय २१ प्रजातिका माछा रहेका छन् । कर्णाली नदीमा पाँच वटा डल्फिन पनि पाइन्छन् ।

तर यी सबै प्रजातिहरू अहिले जलवायु परिवर्तन र वातावरणीय असन्तुलनका कारण संकटमा परेका छन् । 

बर्दिया राष्ट्रिय निकुञ्जको पश्चिम भागमा पानीको मुहान सुक्दै जाँदा बाघहरू पूर्व र दक्षिणतर्फ सरेका छन् । खाता संरक्षण क्षेत्रका सामुदायिक वनहरूमा मात्र यस वर्ष क्यामेरा ट्रयापिङमा ३० वटा बाघ देखिएका छन् । स्थानीय तहहरूले ढुंगा–गिट्टी उत्खनन, सडक निर्माण र नदी नाला अवरुद्ध गर्ने कामले पनि बाघको बासस्थानमा प्रत्यक्ष असर पुर्‍याएको निकुञ्जका अधिकारीहरू बताउँछन् । हिमालमा हिउँ कम पर्नु, नदीको सतह घट्नु, र जंगलमा आगलागी बढ्नु पनि बाघ–मानव द्वन्द्वका प्रमुख कारण बनेका छन् । 

बर्दिया राष्ट्रिय निकुञ्जले बाघ र अन्य वन्यजन्तुका लागि पानीको संकट नहोस् भनेर कर्णाली नदीबाट निकुञ्जभित्र पानी ल्याउने प्रयास गरिरहेको छ । निकुञ्जको योजना अनुसार वार्षिक रूपमा टनेलमार्फत नदीको बहाव निकुञ्जतर्फ फर्काउने तयारी भइरहेको छ ।

बाघ संरक्षणमैत्री पूर्वाधार निर्माणका लागि २०७८ सालमै निर्देशिका बने पनि त्यसको कार्यान्वयन कमजोर भएको अधिकारीहरूले स्वीकारेका छन् ।  उनीहरूका अनुसार भौतिक पूर्वाधार विकासका क्रममा वन्यजन्तु मैत्री संरचना नबनाइँदा मानव–वन्यजन्तु द्वन्द्व झन् बढ्दै गएको छ ।

निकुञ्जले हाल बाघको आहारा चितल, जरायो, र बडेलजस्ता जनावरमा निर्भर रहेको जनाएको छ । तर, जनसंख्या वृद्धि र मानवीय क्रियाकलापले बाघ सिकार गर्न सक्ने वातावरण घटेको छ ।

संघीयता लागु भएपछि प्रदेश र स्थानीय सरकारले नदी नालाबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन् गरी निकासी गर्दा, भौतिक पूर्वाधारका संरचना निर्माण गर्दा, बाटो घाटो निमार्ण गर्दा, नदीको बहाव अन्त्यै मोडेर  बगेका कारण पानीको मुहानहरु सुक्न थालेपछि बाघहरु जंगलमा पानी नपाउँदा बाहिर निस्किरहेको सूचना अधिकारी पौडेलको भनाइ छ ।  

सूचना अधिकारी पौडेलले भने, ‘पहिले बाघहरू ४० देखि ५० किलोमिटरको क्षेत्र भित्र बस्थे, अहिले भने ५ देखि १० किलोमिटरमै बासस्थान सीमित भएको छ ।’

विशेषज्ञहरूका अनुसार अब राज्यले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण, बाघको बासस्थानमा पानीको व्यवस्थापन, र मानव सुरक्षाका लागि तारजाली र चेतनामूलक कार्यक्रम विस्तार गर्न आवश्यक छ ।

पौडेलले थपे,‘हामीले जलबायु परिवर्तनका कारण बाघ–मानव द्वन्द्वका घटना बढ्दै गएको देखेका छौं । पानी र घाँसेमैदानको व्यवस्थापन राज्यको प्राथमिकतामा पर्नु जरुरी छ । यदि अब पनि बेवास्ता गरियो भने यो समस्या अझ गम्भीर बन्नेछ ।’

ADV

ताजा खबर

सम्बन्धित खबर