काठमाडौं : ग्लोबल आईएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच व्यावसायिक साझेदारीका लागि सम्झौता भएको छ । बैंक र आइएफसीबीच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरू अगाडि बढाउन एड्भाइजरी सेवा उपलब्ध गराउनेसम्बन्धी साझेदारी भएको हो ।
सम्झौतामा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईएफसीको तर्फबाट एफआईजी, एसिया र प्यासिफिक रिजनल इन्डस्ट्री डिरेक्टर एलेन फोर्लेमुले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार, विश्व बैंक समूहअन्तर्गत रहेको आईएफसीले ग्लोबल आईएमई बैंकको डिजिटल रूपान्तरण तथा डाटा म्याचुअरिटी मूल्यांकन गर्ने, सुधार गर्न आवश्यक रहेका क्षेत्रहरू पहिचान गर्ने र बैंकको डिजिटल बैंकिङ क्षमता अभिवृद्धि गर्नका लागि रणनीतिक सुझाव प्रदान गर्नेछ ।
साथै, आईएफसीले एम्बेडेड फाइनान्स मोडेलहरू प्रवद्र्धन गर्न फिनटेकको सम्भाव्यता अध्ययन गरी ग्लोबल आईएमई बैंकलाई सल्लाह प्रदान गर्नेछ । यस समझदारीपश्चात् बैंकमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरूलाई रुपान्तरण गरी नवीन र प्रविधिमैत्री सेवाहरू विकास गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।
ग्लोबल आईएमई बैंकले आफ्नो ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको डिजिटल बैंकिङ सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी दिँदै यस सम्झौताले बैंकको डिजिटल बैंकिङको प्रवद्र्धनमा सहयोग पुग्नुका साथै फिनटेकमा नयाँनयाँ विकास र प्रयोग गर्न सहयोग पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बताए । उनले डिजिटल बैंकिङ र फिनटेक साझेदारीमा आईएफसीले विश्वभरीबाट आर्जन गरेको ज्ञान र अनुभवले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।