२०८१ चैत १९ गते मङ्गलवार / Apr 01 , 2025 , Tuesday
२०८१ चैत १९ गते मङ्गलवार
Ads

उद्दण्ड राजावादी, प्रश्न ज्ञानेन्द्रमाथि

draupadi film
दिवाकर अधिकारी
२०८१ चैत १६ गते ०९:०१
उद्दण्ड राजावादी, प्रश्न ज्ञानेन्द्रमाथि

काठमाडौंः शुक्रबार राजधानीमा राजावादीले प्रदर्शनका नाममा उद्दण्डता मच्चाएका छन् । राजावादीको प्रदर्शन यति उद्दण्ड भयो कि व्यक्तिको ज्यान गयो, निजी सम्पत्तिमा क्षति भयो, सरकारी गाडी जले । आन्दोलनको न्यूनतम मान्यताको अवलम्बन भएन । 

राजावादीको यो प्रवृत्तिले पूर्वराजा ज्ञानेन्द्रले चाहेको के हो भन्ने प्रश्न खडा भएको छ । सरकारले त राजावादीको गतिविधिलाई हिंसा भनेको छ । यसमा संलग्नलाई फौजदारी अभियोगमा कारबाही गर्ने गृह प्रशासनको प्रतिबद्धता छ । 

गृह मन्त्रालयका सहसचिव छवि रिजालका अनुसार तीनकुनेको प्रदर्शन आन्दोलन नभई हिंसात्मक भीड रहेको निष्कर्ष निकालिएको छ । उनी भन्छन्, ‘स्वतन्त्रताको मिसयुज भयो । सभ्य समाजले कल्पनासमेत गर्न नसक्ने हिंसा तीनकुने प्रदर्शनमा भएको छ ।’ 

राजावादीको प्रदर्शनको रिपोर्टिङमा रहेका एभिन्युज टेलिभिजका पत्रकार सुरेश रजकको मृत्यु भएको छ । अर्का प्रदर्शनकारी २९ वर्षीय सविन महर्जनको पनि मृत्यु भएको छ । १५ जना प्रदर्शनकारी र १५ जना सुरक्षाकर्मी घाइते भएका छन् । 

राजावादी आन्दोलनको कमान्ड दुर्गा प्रसाईंले गरेका थिए । प्रसाईं नै उद्दण्ड भएर प्रहरी नै किचौंलाझैं गरी गाडी चलाएका थिए । प्रसाईंकै कारण आन्दोलन भड्किएको कतिपयको आँकलन छ । 

प्रसाईंलाई पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थन रहेको बताइन्छ । पूर्वराजा ज्ञानेन्द्रले बनाएको संयन्त्रका संयोजक नवराज सुवेदीको शुक्रबारको प्रदर्शनमा समर्थन थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी (पार्टी)ले समर्थन रहेको जनाएको थियो । यसको पछाडि पूर्वराजा ज्ञानेन्द्र नै रहेका छन् । यस कारण ज्ञानेन्द्रले के चाहेका हुन् ? भनेर प्रश्न उठेको छ ।

१० वर्षे माओवादी सशस्त्र युद्ध, २०६२/०६३ सालको जनआन्दोलन र मधेश आन्दोलनको पृष्ठभूमिमा नेपालबाट राजतन्त्र अन्त्य भएको थियो । २८ चैत २०६४ मा सम्पन्न संविधानसभाको चुनावबाट निर्वाचित संविधानसभाको पहिलो बैठक (१५ जेठ २०६५)ले नेपालबाट राजतन्त्र अन्त्यको घोषणा गरेको थियो । तर, पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्रको उक्साहटमा राजतन्त्र पक्षधर पुनः सल्बलाउन थालेका छन् । यो सल्बलाहटको गन्तव्य के हो ? प्रस्ट हुन नसकेको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ । 
 

ADV

सम्बन्धित खबर

Advertise