–झलक शर्मा
सडक प्रयोगकर्ताहरूमा अनुशासन परिपालना गर्न ट्राफिक व्यवस्थापन प्रभावकारी हुनु जरुरी छ । विकसित र विकासशील उपत्यका, शहर एवं ग्रामीण भेगमा दिन प्रतिदिन सवारी चाप बढ्दै गएको छ । अव्यवस्थित बस्ती, शहर, सीमित साँघुरा सडक, गल्ली, बढ्दै गएको जनसंख्या, सवारी चापका कारण ट्राफिक व्यवस्थापन गर्न चुनौतीपूर्ण बन्दै गएको छ ।
ट्राफिक व्यवस्थापन सडक प्रयोगकर्ताको जीउ–धनको रक्षा गर्न उद्यत रहन्छ । सडक र सवारी नियम पालना गराउनुका साथै यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउने ध्येय ट्राफिक प्रहरीले राखेको हुन्छ । नेपालमा सार्वजनिक, सरकारी, निजी, संस्थागत, गैरसरकारी, पर्यटकीय तथा केही विदेशी नियोगका सवारी साधनहरू सडकमा गुड्ने गर्छन् । नेपाली सडकहरू कार्यालय समयमा बढी जाम हुने गर्छन् ।
सार्वजनिक यातायातहरूमा यात्रुको अत्यधिक भीडभाड हुने, त्यसमा पनि सवारी चालक र सहचालकको लापरबाहीले सवारी दुर्घटनालाई निम्त्याइरहेको अनुमान गरिन्छ । यसमा यात्रुले गर्ने लापरबाही पनि समाहित गर्नुपर्छ ।
निजी सवारी साधनमा चालकको अनुभवको कमी, अनुमतिपत्र नलिई सवारी साधन गुडाउने गरेको पाइन्छ । सवारी साधन चलाएको समयमा मोबाइल फोन चलाउने, धुम्रपान, मद्यपान एवं सुर्तीजन्य पदार्थको सेवन गर्ने बानी केही सवारी चालकहरूमा देखिन्छ ।
काठमाडौं उपत्यकाका सडक गल्लीहरूले सवारी चाप थेग्न नसक्ने अवस्थामा पुगेका छन् । सडकहरू जीर्ण अवस्थामा रहेकाले झन् सवारी दुर्घटना बढ्ने गरेको छ । सरकारी निकायको समन्वय र सहकार्यबिना नै टेलिफोन, पानीको पाइप, ढल, बिजुलीका तारहरू सडकमा नै विच्छ्याउनाले सडक धुलाम्मे बन्ने, त्यसको समयमा नै व्यवस्थापन गर्न नसक्दा खाल्डाखुल्डी बन्ने समस्या देखापरेको छ । यसले पैदल यात्री र सवारी चालक दुवैलाई कठिनाइ उत्पन्न भएको छ ।
त्यसमाथि वर्षायाममा सडक बिग्रने, भासिने, पहिरो जानाले यात्रुहरूले सकुशल यात्रा गर्न सकेका देखिँदैन । दिगो विकासलाई ख्याल नै नगरी सडक निर्माण गर्ने कार्यले दीर्घकालीन असर पर्दै जाँदा ट्राफिक व्यवस्थापनमा जटिलता थपिएको छ । प्रायः काठमाडौं उपत्यकामा फ्लाई रुट, ओभरपास, स्काई ब्रिज निर्माण तथा सडक विस्तार परियोजनाले गर्दा सवारी जाम हुने गरेको छ ।
त्यस्तै, प्रतिष्ठित व्यक्तिको सवारीमा अपनाउने सुरक्षा, त्यसको ट्राफिक व्यवस्थापनले गर्दा पनि ट्राफिक जाम भई सर्वसाधारणले सास्ती भोग्नुपरेको तीतो यथार्थ छ । आर्थिक वर्षको अन्त्यमा मात्र विकास निर्माणका काम गर्ने असारे विकासले पनि सडक भासिने, गुणस्तरीय नबन्ने स्थिति देखिन्छ ।
एकातर्फ नियमनकारी निकायका केही समूह र व्यक्तिले नियमनका नाममा गरिने जाँचले पनि दुर्घटना बढाएको छ । मनलाग्दो ढंगबाट सडकका अप्ठ्यारा ठाउँमा ट्राफिक प्रहरी बसेर जाँच गर्ने गतिविधिले पनि झन् दुर्घटना बढ्दो देखिन्छ ।
ट्राफिकले अनावश्यक रूपमा जाँच गर्ने, नियम कानुनको प्रवद्र्धन, प्रचार नगरी सडकमा उभिँदा सवारी चालक र ट्राफिकबीच झैझगडा हुने पनि गरेका घटनाहरू देखिन्छन् ।
केही सवारी चालकहरू बिनागल्ती कारबाहीमा परेका वा पर्ने गरेका उदाहरण हामीमाझ छन् । ट्राफिक संकेत, चिह्नहरू सडकमा नराख्ने र गल्ती देखाई पैसा असुल्ने केही ट्राफिक प्रहरीको ज्यादतीबाट सवारी चालकहरू पीडित बन्ने गरेका पनि छन् ।
ट्राफिक प्रहरीले शब्द पनि अश्लील प्रयोग गर्ने, डर–त्रास देखाउने, आत्मसम्मानमा ठेस पुर्याउने गलत नियत पनि देखिएको छ । त्यस्तै, यात्रु बढी राख्ने र बढी पैसा कमाउने होडबाजीले तीव्र गतिमा सवारी साधन चलाउने, बीच बाटोमा नै रोक्ने, सिट बेल्ट नलगाउने, छतमा यात्रु राख्ने अझै पनि देखिँदै आएको छ ।
विवाह, सामाजिक कार्य, विजय उत्सव, मृत्यु शोकमा छतमा अधिक मान्छे बसेर यात्रा गर्ने गरेका पनि देखिन्छ । यसले थप दुर्घटना निम्त्याउन सक्ने जोखिम रहन्छ । सडकमा ड्युटीमा खटिएका ट्राफिकको आँखा छल्ने, ट्राफिक नियम उल्लंघन गर्दा बहादुरी ठान्ने प्रवृत्ति अझै पनि हामीमाझ छ ।
ट्राफिक नियम पालना गर्नुपर्ने नागरिकको दायित्व हो तसर्थ सबै जनमानसमा दायित्वबोध हुनुपर्छ । बढी दण्ड, जरिमाना वा चिट काटेर मात्र ट्राफिक व्यवस्थापन प्रभावकारी हुँदैन । यसले त ट्राफिक प्रहरीमाथि हेर्ने दृष्टिकोण प्रतिशोधपूर्ण हुन सक्छ ।
ट्राफिक प्रहरीले चालक अलमलिने, झुक्किने नियम बनाएर च्याँखे थाप्ने गलत नियतको पनि अन्त्य गर्नुपर्छ । ट्राफिक कार्यालयले भ्रष्टाचारप्रति शून्य सहनशीलताको सिद्धान्तलाई अक्षरशः पालना गर्दै भइरहेको ट्राफिक जनशक्तिको समुचित परिचालन गर्नु जरुरी छ ।
ट्राफिक नियम उल्लंघनकर्ताहरूलाई गरिने कानुनी कारबाहीमा निष्पक्षता, कडाइ गरिनु उपयुक्त हुन्छ । त्यस्तै, ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू संचालन गर्ने, स्कुल, कलेज, विश्वविद्यालयहरूमा ट्राफिक व्यवस्थापनसम्बन्धी पाठ्यक्रमको विकास गर्ने, समुदायहरूमा तालिमहरू प्रदान गर्नु अपरिहार्य छ । चालक तथा सवारी साधनको स्वास्थ्य र यान्त्रिक परीक्षण अनिवार्य गराउनु आवश्यक छ ।
आदेशमूलक तथा प्रतिबन्धात्मक ट्राफिक चिह्नहरूलाई चालक, यात्रुले देख्ने र बुझ्नेगरी सडकका छेउछाउमा राख्नुपर्छ । तीव्र गति नियन्त्रण गर्न ट्राफिक प्रहरीले प्रयोग गर्ने स्पिड गन, मदिरा सेवन गरे/नगरेको पत्ता लगाउने यन्त्र ब्रेथलाइजर, जेब्रा क्रस र लेनको प्रयोग अनिवार्य बनाउनुपर्छ ।
चालकलाई सचेत र संवेदनशील बनाउन बेलाबखतमा तालिम तथा गोष्ठीको आयोजना गर्नु जरुरी छ । सवारी चालक अनुमतिपत्र प्राप्त गर्न अन्तर्राष्ट्रिय स्तरको मापदण्ड लागू गर्ने, सोबमोजिमको परीक्षा प्रणालीको विकास गर्नुपर्छ ।
हालसालै सडक दुर्घटना तथ्यांकलाई एकीकृत गरी सुरक्षित गर्न रोड एक्सिडेन्ट इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम संचालनमा ल्याउने प्रयास गरिएको छ । सो सफ्टवेयर संचालन तथा ट्राफिक व्यवस्थापनलाई सरल बनाउन नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषद्बीच समझदारी भएको छ । यो सफ्टवेयर संचालनबाट दुर्घटना न्यूनीकरणमा सहयोग हुन सक्ने अनुमान गर्न सकिन्छ ।
ट्राफिक व्यवस्था अस्तव्यस्त हुँदा ध्वनि, वायु प्रदूषणका असर देखिने हुँदा त्यसको कुशल व्यवस्थापन हुनु जरुरी छ । ट्राफिक व्यवस्थापनमा जनसहभागिता र संलग्नतालाई प्रोत्साहन गर्दै जनचेतनालाई अभिवृद्धि गर्नु जरुरी छ ।
विगतमा भएका दुर्घटनाहरूको अध्ययन, अनुसन्धान तथा सर्वेक्षण प्रतिवेदनले दिएका सुझावलाई मनन गर्दै कार्यान्वयन गर्नु÷गराउनुपर्छ । आजभोलि ट्राफिक प्रहरीसम्बन्धी विभिन्न मोबाइल एप्सहरू चलनचल्तीमा छन्, तिनको प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ ।
ट्राफिकसम्बन्धी ऐन, कानुनहरूको न्यूनताले सर्वसाधारण र ट्राफिकबीचको असामञ्जस्य, असमझदारी बढ्दै गएको हुनाले यससम्बन्धी समय सापेक्ष, व्यावहारिक ऐन, कानुनको निर्माण गर्नु आजको टड्कारो आवश्यकता देखिएको छ ।
ट्राफिक व्यवस्थापनले शहरको सौन्दर्य, जनचेतनालाई झल्काउने हुँदा यसको प्रभावकारी व्यवस्थापन गर्नु आवश्यक देखिएको छ । ट्राफिक सेवाको आवश्यकता ठूला व्यस्त शहरमा मात्र नभई ग्रामीण भेगमा समेत महसुस भइरहेको छ । तसर्थ, ट्राफिक सेवा सबै स्थानीय तहमा उपलब्ध गराउनु औचित्यपूर्ण हुन सक्छ ।