काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ताको संख्या आधाले घटाएको पाइएको छ । गत वर्षको फागुन महिनासम्म १२२ वटा मुद्दा दर्ता गराएको अख्तियारले यस वर्षको फागुन महिनासम्म जम्मा ६३ वटा मुद्दा दर्ता गरेको छ ।
अख्तियारले भ्रष्टाचार र भ्रष्टाचारजन्य कसुरको अनुसन्धान गरेर विशेष अदालतमा मुद्दा दर्ता गर्छ । तर, विशेष अदालतले अधिकांश मुद्दामा अख्तियारको दाबीअनुसार फैसला नगर्ने दर बढेपछि अख्तियार झस्किएको हो ।
अख्तियारले मुद्दा हार्ने, आरोपीले सफाइ पाउने र नयाँ अनुसन्धान गरेर नयाँ मुद्दा अदालतमा लैजानेभन्दा पुरानै मुद्दा उपर पुनरावेदनमा अल्झिनुपर्ने समस्यामा पुगेपछि मुद्दा दर्ताको संख्यामा कमी गरिएको हो ।
अख्तियार फैसला उपर पुनरावेदन/पुनरावलोकनका लागि सर्वोच्च अदालत पुग्ने गरेको छ । अख्तियारले दायर गरेका मुद्दामा विशेषबाट भएका फैसलामा चित्त नबुझेका अवस्थामा पुनरावेदन गर्न पाउँछ ।
विशेष अदालतमा मुद्दा दायर गर्ने र दाबीअनुसार विशेष अदालतले फैसला नगरिदिएपछि सर्वोच्च जानुपर्ने अवस्थाले अख्तियार सफल हुन नसक्ने निष्कर्षसहित अयोगका अधिकारीहरू कम मुद्दा लैजाने तर पुष्टि हुनेगरी मात्र लैजानुपर्ने निष्कर्षमा पुगेका हुन् । परिणाममा अख्तियारले विशेष अदालतमा दर्ता गरेको मुद्दाको संख्या आधाले घटेको हो ।
अख्तियारले दायर गरिएका मुद्दामध्ये अधिकांशमा आरोपीले सफाइ पाएका छन् भने दर्जनौं मुद्दामा माग दाबी नपुग्ने ठहर नै गरिदिएका उदाहरण छन् ।
आफूले दायर गरेका मुद्दाको दाबी नै नपुग्ने फैसला भएपछि त्यसबाट झस्किएको अख्तियारले मुद्दा दर्ताको संख्या नै कम गरेको हो ।
चालू आर्थिक वर्षको फागुन महिनासम्म ६३ वटा मुद्दा दर्ता गरेको छ जबकि गत आर्थिक वर्षको यही अवधिमा अख्तियारले १२२ वटा मुद्दा दर्ता गरेको थियो ।
एकपछि अर्को गर्दै आफ्ना मुद्दामा दाबी नपुगेको फैसला आउन थालेपछि अख्तियारले विशेष अदालतमा मुद्दा दर्ताको संख्या नै कम गरेको हो ।
अख्तियारको प्रतिवेदनअनुसार गत आर्थिक वर्षसम्म अख्तियारले दायर गरेका मुद्दाको फैसला गर्दा ३४७ मा अख्तियारको माग दाबी पुगेको थिएन । १०४ मुद्दामा अख्तियारको दाबी आंशिक मात्र ठहर भएको थियो । २४३ मुद्दाका अभियुक्तले सफाइ पाएका थिए । १५९ वटामा मात्र अख्तियारको माग दाबी पुगेको थियो ।
गत आर्थिक वर्षभरमा अख्तियारले २०१ मुद्दा विशेष अदालतमा दर्ता गरेको थियो । विशेषबाट फैसला भएकामध्ये ९२ वटामा फैसला चित्त नबुझाएर अख्तियारले सर्वोच्चमा पुनरावेदन दर्ता गराएको थियो ।
चालू आर्थिक वर्षको ८ महिनामा अख्तियारले ६३ वटा मात्र मुद्दा लगेको हो । यो संख्या गत वर्षको तुलनामा आधाले कमी हो ।
कुनै पनि विषयमा अभियोग लगाउँदा पर्याप्त प्रमाण पुर्याउनुपर्ने न्यायिक सिद्दान्त छ । तर, विशेष अदालतबाट भएका फैसलामा आफ्नो दाबी नपुग्ने ठहर हुँदा अख्तियारको चित्त बुझेको छैन ।
यस कारण दाबी नपुग्ने भनिएका मुद्दामा समेत अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन जाने गरेको छ । साथसाथै, अनुसन्धानलाई थप प्रभावकारी बनाउने र ठोस प्रमाण संकलन गरेर नयाँ मुद्दा दर्ता गर्नेतर्फ अख्तियार केन्द्रित हुन खोजेको छ ।