
काठमाडौं : भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको तीन महिना पुग्न लाग्दा पनि प्रभावित परिवारको पीडा कम भएको छैन । कसैलाई आफन्त जीवितै भेटिने आशा छ, कसैले मृत्यु भएको स्वीकार गरिसके पनि शव पाउन सकेका छैनन् । शव भेटिएका कतिपयको पहिचान हुन सकेको छैन भने पहिचान प्रक्रिया अघि बढेका परिवारसमेत सरकारी प्रमाणीकरणको प्रतीक्षामा छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणअनुसार भदौ १० गतेको बाढीमा १ हजार ४५७ जनाको मृत्यु भएको छ भने ५ हजार २८५ जना अझै बेपत्ताको सूचीमा छन् । बाढी प्रभावित क्षेत्रबाट १३ हजार ७९५ जनाको उद्धार गरिएको सरकारी तथ्यांक छ ।
बाढीमा बेपत्ता भएकाहरूको खोजी र मृतकको पहिचान प्रक्रिया लम्बिँदा परिवारको प्रतीक्षा पनि लम्बिएको छ । नदी किनार तथा विभिन्न स्थानबाट संकलन गरिएका शव र मानव अवशेषको पहिचान गर्न सरकारले डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको थियो । तर, नमुना परीक्षण, मिलान र अन्तिम प्रमाणीकरणका चरण पूरा गर्न समय लाग्दा परिवारले आफन्तको शव पाउन सकेका छैनन् ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गत गठित विपद् पीडित पहिचान टोलीका अनुसार बाढीमा मृत्यु भएकाहरूका शवबाट १ हजार ४४५ वटा नमुना संकलन गरिएको छ । त्यस्तै, बेपत्ता व्यक्तिका परिवारका २ हजार १११ जनाको रगतको नमुना संकलन गरिएको छ । ती नमुनाको परीक्षणबाट १९५ वटा शवका नमुना परिवारका सदस्यको डिएनएसँग मिलेको पाइएको छ ।
तर, डिएनए मिल्दैमा सम्बन्धित शव कुन व्यक्तिको हो भन्ने अन्तिम निष्कर्षमा पुग्न नसकिने भएकाले पहिचान प्रक्रिया पूरा हुन सकेको छैन । विशेषगरी एउटै परिवारका एकभन्दा बढी सदस्य बेपत्ता भएका घटनामा पहिचान थप जटिल बनेको छ । परिवारका धेरै सदस्यको डिएनए मिल्न सक्ने भएकाले परीक्षणको नतिजासँगै अन्य प्रमाणको समेत विश्लेषण गर्नुपर्ने विज्ञहरूको भनाइ छ ।
शवको पहिचानलाई वैज्ञानिक र विवादरहित बनाउन टोलीले विभिन्न निकायसँग समन्वय गरिरहेको छ । शव परीक्षणमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीसँग परामर्श गरी मृतकको शारीरिक विशेषता र परिवारले उपलब्ध गराएको विवरणसमेत तुलना गर्ने काम भइरहेको छ ।
फरेन्सिक परीक्षणका लागि खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाले काम गरिरहेका छन् । दुवै प्रयोगशालाले संकलित नमुनाको डिएनए परीक्षण तथा मिलान गरी प्रतिवेदन विपद् पीडित पहिचान टोलीलाई उपलब्ध गराएका छन् । अन्तिम पहिचान भने परीक्षण प्रतिवेदन र अन्य प्रमाणको प्रमाणीकरणपछि मात्रै हुने बताइएको छ ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका अनुसार परीक्षणका लागि प्राप्त ८५७ नमुनामध्ये ८२७ वटाको प्रोफाइलिङ सम्पन्न भएको छ । बाँकी ३० नमुनाको परीक्षण जारी छ । नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाले पनि परीक्षण तथा मिलानको काम पूरा गरी प्रतिवेदन सम्बन्धित टोलीलाई बुझाइसकेको जनाएको छ ।
यस प्रक्रियामा भारत, चीन र दक्षिण कोरियाले नेपाललाई प्राविधिक सहयोग गरेका छन् । ती देशबाट विज्ञ, आवश्यक उपकरण तथा परीक्षणमा प्रयोग हुने सामग्री उपलब्ध गराइएको थियो ।
बेपत्ता व्यक्तिका परिवार र पहिचान हुन नसकेका शवको डिएनए प्रोफाइलिङ तथा म्याचिङको काम भइरहेको प्रहरी प्रवक्ता अविनारायण काफ्ले बताउँछन् । बेपत्ता व्यक्तिका परिवार वा शवमाथि दाबी गर्ने परिवारका सदस्यबाट संकलित रगतको नमुनासँग सफ्टवेयरमार्फत तथ्यांक मिलान गरिने उनले बताए । ‘नमुना मिलान भएपछि कानुनी प्रक्रिया पूरा गरेर अवशेष सम्बन्धित परिवारलाई हस्तान्तरण गरिनेछ,’ काफ्ले भन्छन् ।
अहिले पहिचानसम्बन्धी काम विपद् पीडित पहिचान टोलीमार्फत भइरहेको उनले बताए ।
दाबी गर्न सात दिन
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा–भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिको विवरणमा दाबी तथा थपघट गर्न सात दिनको समय दिएको छ ।
प्राधिकरणले मंसिर ५ गते दोस्रो चरणको सूचना जारी गर्दै थप १७ वटा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भई आएका ९९८ जनाको विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक विवरणमा कुनै त्रुटि भए सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा प्राधिकरणको इमेल ठेगानामा प्रमाणसहित दाबी पेस गर्न आग्रह गरिएको छ । बेपत्ता सूचीमा रहेका व्यक्ति जीवित रहेको वा फेला परेको भए सम्बन्धित व्यक्ति वा एकाघरका परिवारले पनि सात दिनभित्र दाबी गर्न सक्नेछन् ।
यसअघि २०८३ कात्तिक २१ गतेसम्म प्राप्त बेपत्ता व्यक्तिको विवरण सार्वजनिक गरिएको थियो । दुई चरणमा गरी हालसम्म ४९ जिल्लाबाट तीन हजार २९२ जना र १९ देशबाट ६२३ जनाको विवरण प्राप्त भएको छ । यसरी कुल ३ हजार ९१५ जना बेपत्ता व्यक्तिको विवरण यकिन भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार जिल्लागत रूपमा सबैभन्दा बढी रसुवाबाट १ हजार ५३८ र नुवाकोटबाट ६३१ जनाको नाम समावेश छ । सिन्धुपाल्चोकबाट २१९, गोरखाबाट ६७, जुम्लाबाट ६३, कैलालीबाट ५१, सप्तरीबाट ५१, मकवानपुरबाट ५० र सल्यानबाट ४८ जनाको विवरण प्राप्त भएको छ । त्यस्तै, रामेछाप र सिन्धुलीबाट ३७–३७, काभ्रेपलाञ्चोकबाट ३५, कञ्चनपुरबाट २६, रोल्पाबाट २५, नवलपरासी पूर्वबाट १७, बाँकेबाट १७, बागलुङबाट १६, डडेलधुराबाट १५, ललितपुर र रसुवाबाहेक अन्य जिल्लाका विभिन्न स्थानबाट पनि बेपत्ताको विवरण प्राप्त भएको छ ।
अन्य जिल्लामा दोलखा ५९, सोलुखुम्बु ५२, बर्दिया ७४, दाङ ३८, उदयपुर १७, नवलपरासी पश्चिम ११, महोत्तरी ९, स्याङ्जा ८, दैलेख ६, खोटाङ ६, कपिलवस्तु ६, कालिकोट ६, गुल्मी ५, जाजरकोट २, धनकुटा २, अछाम २, मोरङ २, ताप्लेजुङ २, बझाङ २, तेह्रथुम १ र पाँचथरबाट १ जनाको विवरण आएको छ ।