भोजपुर : यहाँको रामप्रसादराई गाउँपालिका-६ स्थित प्रसिद्ध ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल गंगा खोलाको संरक्षण थालिएको छ । गोल्मे राज, गोल्मे रानी भिरको काखमा रहेको यो स्थलको संरक्षणमा वडा कार्यालयसँगै स्थानीय नागरिक जुटेका हुन् ।
ढुंगाको कापबाट उम्रिएका तीन वटा पानीका ठूला मुहान रहेको यो स्थानमा दर्शन गरेर मनोकांक्षा सिद्ध हुने धार्मिक विश्वासले भक्तजन आउने स्थानीयवासी राजेन्द्र राईले जानकारी दिए । देशले नै चिन्नुपर्ने अनौठो प्रकृतिको धार्मिक तथा पर्यटकीय स्थल रहेको भए पनि प्रचार अभावमा ओझेलमा परेको उनको भनाइ छ ।
यहाँको पानीले नुहाएमा सबै खालका छालाको रोग निको हुने तथा कुनै पनि पुण्यकर्ममा चढाउने चलन रहेको उनले जानकारी दिए । यहाँ माघे सङ्क्रान्तिमा भव्य मेला लाग्ने गरेको उनको भनाइ छ ।
“गंगा खोला देशले चिन्नुपर्ने ऐतिहासिक धार्मिक स्थल हो”, उनले भने, “गोल्मेराजा, गोल्मेरानी भिरको काखमा रहेको यो स्थान प्रचारप्रसार तथा संरक्षण अभावमा ओझेल परेको छ । यो स्थानको धेरै विशेषतासँगै पौराणिक महत्त्व छ । भौगोलिक विकटताका कारण यो क्षेत्रको विकासमा बाधा पुगेको अवस्था छ । राज्यले यस्ता देशका सम्पत्तिको खोजी गरेर संरक्षणमा जोड दिन आवश्यक छ ।”
गंगा खोलाका सबै मुहान कहिले नसुक्ने, वर्षात्को समयमा धमिलो नहुने तथा मुहान दक्षिणबाट उत्तरतर्फ बगेकाले यसको छुट्टै महत्त्व रहेको वडाध्यक्ष एकराज आचार्यले बताए । यो क्षेत्रको विकासका लागि धेरै बजेट आवश्यक पर्ने भए पनि वडाले केही बजेट विनियोजन गरेर संरक्षणको काम गरिरहेको उनको भनाइ छ ।
वडाले बजेट विनियोजन गरेर आउने भक्तजनलाई लक्षित गरेर धारा निर्माण गरिएको वडाध्यक्ष आचार्यले बताए । यहाँ धेरै संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेकाले राज्यका अन्य निकायसँग पनि हारगुहार गरिएको उनले बताए । मुख्य रूपमा मुहान भएको स्थानसम्म पुग्ने पदमार्गको आवश्यकता रहेको उनको भनाइ छ ।
स्थानीय सरकार, केन्द्र सरकार तथा प्रदेश सरकारले यो स्थानको विकासमा पहलकदमी गर्न आवश्यक रहेको स्थानीयवासी पाण्डव राईले बताए । यो क्षेत्रको विकास गरेर गाउँपालिकाको दिगो आम्दानीको स्रोतका रूपमा स्थापित गर्नुपर्ने उनको भनाइ छ ।
“गंगा खोला एउटा अनौठो र आश्चर्य खालको पवित्र धार्मिक स्थल हो”, उनले भने, “यो स्थानको स्थलगत अनुगमन गर्दा साँच्चै नै प्रकृतिको अनौठो स्वरूप देख्न सकिन्छ । यहाँको भू-बनोटले सबैलाई चकित बनाउँछ । तर यस्तो ठाउँको अहिलेसम्म संरक्षणसँगै प्रचारप्रसार हुन सकेको छैन ।”