काठमाडौं : सरकार गठन भएको १४ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने मिति तय भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीको भारत भ्रमण आगामी सेप्टेम्बर १६ र १७ अर्थात भदौ ३१ र असोज १ गतेका लागि तय भएको हो ।
प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणमा भारतलाई प्राथमिकता दिने परम्परा भएपनि ओलीले पहिलो पटक २०८१ मंसिर १७ देखि २० गतेसम्म चीन भ्रमण गरेका थिए । उनले त्यसबेला उक्त भ्रमण अनौपचारिक भएकाले औपचारिक भ्रमण भारतबाटै हुनेसमेत बताएका थिए । यद्यपि ओलीको पहिलो औपचारिक भ्रमण चीन थियो । त्यसपछि उनले अमेरिका, थाइल्याण्ड र स्पेनको भ्रमण गरिसकेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा पर्खेर बसेका ओलीलाई भारतीय समकक्षीले नेपाल सरकारको स्थायित्व हुने देखेर आमन्त्रण गरेको जानकारहरू बताउँछन् ।
यसअघि नै भारत भ्रमणमा जान चाहे पनि भारतले निमन्त्रणा गर्न ढिलाइ गर्दा भ्रमण हुन सकेको थिएन । उनी असार ३०, २०८१ मा संसद्को पहिलो दल नेपाली कांग्रेसको प्रमुख सहयोगमा प्रधानमन्त्री भएका थिए । भारतीय प्रधानमन्त्री मोदीका तर्फबाट समकक्षी ओलीलाई दुईदिने भ्रमणको निमन्त्रणा आएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओली सेप्टेम्बर १६ तारिक नयाँ दिल्ली गएर १७ तारिक स्वदेश फर्कने कार्यक्रम तय भएको मन्त्रालयका अधिकारीले बताएका छन् । ‘भारतीय समकक्षी नरेन्द्र मोदीका तर्फबाट निम्ता आएपछि प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन्’, उनले भने ।
उनको भ्रमणको विषयमा प्राथमिकताका आधारहरू तयार हुन भने बाँकी छन् । नेपाली भूमि रहेको, तर भारतले दाबी गर्दै आएको लिम्पियाधुरा, कालापानीसहितका भू–भागको विषय, द्विपक्षीय व्यापारका समस्या समाधानलगायतका विषय प्रधानमन्त्रीको प्राथमिकतामा पर्छन् या पर्दैनन् भन्ने आम चासोको विषय बनेको छ ।