क्वालालम्पुर : गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियामा अगष्ट ३०–३१ मा एकताको अधिवेशन गर्ने सहमति जुटेको छ ।
संस्थाको ९औं अधिवेशन नजिकिँदै गर्दा एनआरएनए मलेसियाको आन्तरिक विवाद छरपष्ट भएसँगै संघ दुई धारमा देखिएको थियो । कार्यवाहक अध्यक्ष इन्द्रनारायण लिम्बू र अध्यक्ष राकेशप्रसाद महतोको हस्ताक्षरमा अधिवेशनबारे फरक–फरक सूचना प्रकाशित गरेसँगै संघभित्र रहेको असन्तुष्टि बाहिरिएको थियो । आन्तरिक विवादले मलेसियामा रहेका व्यवसायी, बुद्धिजीवी र श्रमिकहरू समेत निराश भएका थिए ।
विवादित संघले जुलाई २७ तारिक आइतबार अधिवेशन गर्ने तय भएको थियो । २७ तारिकका लागि तोकिएको अधिवेशनलाई खारेज गर्दै ३०–३१ अगष्टमा एकताको अधिवेशन गर्ने घोषणा गरिएको छ । एकताको अधिवेशन गर्ने सहमतिसँगै मलेसियामा रहेका व्यवसायी बुद्धिजीवी र श्रमिकहरूमा उत्साह सञ्चार भएको छ ।