२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान

shivam cement
२०८१ असार २० गते १९:०४
Shares
नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाली खेलकुदकै इतिहासमा पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान शुरु गरेको छ ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अवधारणाअनुरुप अन्य मुलकुमा झैं नेपालमा पनि खेलकुद विज्ञानमा आधारित रहेर ग्रासरुटदेखि नै खेलाडीको पहिचान गरी राष्ट्रलाई योगदान दिने भावी खेलाडीको पहिचान गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले नेपालमै पहिलोपटक एन्थ्रोपो मेट्रिक अनुसन्धानको शुरुवात गरिएको हो ।

विभिन्न जातजाति र भौगोलिक अवस्थाअनुसार खेलाडीको क्षमता पहिचान गर्न तथा १३ देखि १५ वर्ष उमेर समूहका युवाहरुको शारीरिक बनोटको पहिचान गरी उनीहरुलाई उपयुक्त हुने खेलको छनोटका लागि सहजीकरण गर्ने उद्देश्यले एन्थ्रोपो मेट्रिक अनुसन्धान शुरु गरिएको हो ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशको विभिन्न जिल्लामा अनुसन्धान गरिएको थियो । राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान)का निर्देशक कृष्ण तिमिल्सिना, खेल विज्ञ कुमारी हिरा पन्त र सहायक प्रथम शिवराज भट्टको टोलीले स्थानियसँग समन्वय गरी अनुसन्धान गरेको हो ।

सुदूरपश्चिमको कञ्चनपुर र डडेल्धुरा, कर्णालीको सुर्खेत र सल्यान, लुम्बिनीको दाङ र बाँके, गण्डकीको कास्की र बाग्लुङ, मधेशको धनुषा र सिरहा, कोशीको सुनसरी र सोलुखुम्बु तथा बागमतीको काठमाडौं र चितवनमा अनुसन्धान गरिएको थियो । अनुसन्धानमा थारु, मगर, ब्रहमण, क्षेत्री, थकाली, गुरुङ, तामाङ, दलित समुदायका १३ देखि १५ वर्ष उमेर समूहका ८ सय ५० बालवालिका समावेश थिए ।

सोही टोलीले सो अनुसन्धानका क्रममा सातै प्रदेशका विभिन्न जिल्लामा परम्परागत खेलको अनुसन्धान पनि गरेको थियो । कुन स्थानमा कुन÷कुन परम्परागत खेल खेलिँदै आएको छ भन्ने तथ्यांक संकलन गरी सो क्षेत्रमा उक्त खेलको विकास र विस्तार गर्दै खेलको जगेर्ना गर्ने उद्देश्यले परम्परागत खेलको पनि अनुसन्धान गरिएको निर्देशक तिमल्सिनाले बताए । यसका लागि २५ देखि ८५ वर्ष उमेर समूह, लामो समयसम्म खेलकुदमा सक्रिय, विश्वविद्यालयका प्राध्यापक तथा पदाधिकारीहरुको समूहबाट परम्पारगत खेलका विषयमा जानकारी लिइएको थियो ।

टोलीले राखेपका सदस्य–सचिव घिसिङलाई बिहीबार प्रतिवेदन बुझाएको छ । सो अवसरमा सदस्य–सचिव घिसिङले यो अनुसन्धानले नेपाली खेलकुदमा एउटा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै राखेपले कार्य योजना तयार गरी अगाडि बढ्ने बताए ।

‘नेपाली खेलकुदमा यो एउटा बिल्कुलै नयाँ अभ्यास हो । हाम्रो पहिलो प्रयासले नेपाली खेलकुदमा नयाँ आयाम थप्ने विश्वास छ । आशा छ क्षमता भएर पनि कसैको नजरमा नपरेका क्षमतावान खेलाडी अगाडि आउने छन्,’ सदस्य–सचिव घिसिङले भने, ‘आगामी दिनमा अनुसन्धानको दायरालाई अझ फराकिलो बनाउँदै लैजाने छौं ।’

सदस्य–सचिव घिसिङले नेपालमा खेलिने परम्परागत खेलको पनि तथ्यांक संकलन गर्नु महत्वपूर्ण भएको बताउँदै यसले नेपालमा खेलिने मौलिक खेलहरु के–के हुन्, कहाँ–कहाँ खेलिन्छन् र कुन अवस्थामा छन् भन्ने जान्न र जगेर्ना गर्न जरुरी भएको बताए ।

 

ताजा खबर

सम्बन्धित खबर