उदयपुर : गाईघाट युनाइटेड फुटबल समूह तेस्रो स्व. युवराज (कैलास) राई स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको क्वार्टरफाइनल खेलमा अजम्बरी फुटबल समूह बेलकालाई १–० गोलले स्तब्ध बनाउँदै गाईघाट सेमिफाइनलमा प्रवेश गरेको हो ।
पहिलो हाफसम्म दुवै टिमबीच कडा प्रतिस्पर्धा देखिएको थियो । तर दोस्रो हाफको चौथो मिनेटमै गाईघाटका स्ट्राइकर प्रबिन राईले गरेको गोल निर्णायक साबित भयो । खेलको म्यान अफ द म्याच पनि प्रबिन राई नै घोषित भए ।
यो प्रतियोगिता बगाहा युवा समूहको आयोजनामा भइरहेको हो । अब बुधबारदेखि सेमिफाइनलका खेलहरू सुरु हुँदैछन् । पहिलो सेमिफाइनलमा स्टार इलाभेन क्लब बोक्से र आयोजक बगाहा युवा समूहबीच भिडन्त हुनेछ भने दोस्रो सेमिफाइनलमा आदर्श युवा क्लब नेपालटार र गाईघाट युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।