उदयपुर : बगाहा युवा समूहद्वारा आयोजित र जिल्ला फुटबल संघ उदयपुरको समन्वयमा सञ्चालित स्व. युवराज (कैलाश) राई स्मृति फुटबल प्रतियोगिताको आइतबारको खेलमा नेपालटार आदर्श फुटबल युवा समूहले दमौटी फुटबल समूहलाई १-० को गोल अन्तरले पराजित गरेको छ ।
शनिबारदेखि बगाहामा सुरु भएको यो प्रतियोगिता पूर्वखेलाडी स्व. कैलाश राईको सम्झनामा आयोजना गरिएको हो । आइतबार भएको रोमाञ्चक खेलमा नेपालटार आदर्श र दमौटी फुटबल समूहबीच कडा प्रतिस्पर्धा देखियो । पहिलो हाफको २८औं मिनेटमा नेपालटार आदर्शका आशिष राईले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । यो गोल नै खेलको निर्णायक बन्यो ।
थपिएको ४ मिनेटको समयमा पनि गत वर्षको च्याम्पियन दमौटी फुटबल समूहले गोल फर्काउन नसक्दा पराजय स्वीकार गर्नुपर्यो । खेलको 'म्यान अफ द म्याच' नेपालटार आदर्शका आशिष राई घोषित भए ।
प्रतियोगिताको अर्को खेल सोमबार बगाहा युवा समूह र स्टार फुटबल समूह, जोगिदहबीच हुने आयोजकले जनाएको छ ।