२०८२ वैशाख २ गते मङ्गलवार / Apr 15 , 2025 , Tuesday
२०८२ वैशाख २ गते मङ्गलवार
Ads

पूर्वराजाको अर्को राजनीतिक सन्देश : २०८२ मा अस्थिर राजनीतिक व्यवस्थाबाट मुक्ति पाउने

draupadi film
अस्मिता बम
२०८२ वैशाख १ गते ०६:२५
पूर्वराजाको अर्को राजनीतिक सन्देश : २०८२ मा अस्थिर राजनीतिक व्यवस्थाबाट मुक्ति पाउने

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८२ को अवसरमा अर्को राजनीतिक सन्देश दिएका छन् । आइतबार नयाँ वर्ष २०८२ को अवसरमा भिडियो सन्देश दिँदै पूर्वराजा शाहले अहिलेको अस्थिर राजनीतिक व्यवस्थाबाट २०८२ सालमा देशले मुक्ति पाउने बताएका छन् ।

यसअघि ७ फागुनमा प्रजातन्त्र दिवसका अवसरमा दिएको राजनीतिक सन्देशको तरंग सेलाउन नपाउँदै उनले अर्को तरंग ल्याउने कोसिस गरेका छन् ।

सन्देशमा उनले १५ चैतमा तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनप्रति दुःख प्रकट गरेका छन् ।

भिडियो सन्देशमा पूर्वराजा शाहले तीनकुने घटनामा भएको मानवीय एवं भौतिक क्षतिप्रति आफूलाई दुःख लागेको उल्लेख गरेका छन् ।

राजावादीहरूले गरेको प्रदर्शनमा २ जनाको मृत्यु भएको छ भने निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गरिएको छ । 

‘समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्ना धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो’, शाहले जारी गरेको १४ मिनेट लामो सन्देशमा भनेका छन्, ‘तर, त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनुपर्दछ । केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, त्यसबाट जस प्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो ।’

सन्देशमा उनले नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा वाद अरू केही नहुने बताएका छन् । 

‘नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा वाद हुँदैन । वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ, जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ’, शाहले सन्देशमा भनेका छन् ।

शाहले नेपाली जनतामा देश र भविष्यलाई लिएर पैदा भएको जागरुकतालाई आफूहरूले सकारात्मक रूपमा लिएको पनि जिकिर गरेका छन् । ‘देशलाई विद्यमान जटिलताबाट मुक्त गराई शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता जुन पैदा भएको छ, नयाँ वर्ष २०८२ मा नेपाली जनताको चाहनाअनुरूपको परिणाम हासिल हुने विश्वास थपिएको छ’, सन्देशमा उनले भनेका छन् ।

पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई अबको राज्यसत्ताको मूल मन्त्र बनाउनुपर्ने उनको जोड छ ।

‘राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराजको दिव्य उपदेशलाई नै अबको राज्यसत्ताको मूल मन्त्र सोच्नुमा के होला ? सन्तुलित कूटनीतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मूल सार हो । यही नै राजनीतिको मूलधार हुनुपर्ने हो’, शाहले भनेका छन् ।

मुलुकको अशान्ति, अराजकता र निराशाबाट आमनेपालीलाई मुक्त गर्न राजसंस्थाले जहिले पनि योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै उनले बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परा आफूहरूको मान्यता रहेको जिकिर गरेका छन् ।

‘मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आमनेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिले पनि योगदान पु¥याउँदै आएको विदितै छ’, शाहले भनेका छन्, ‘राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावनाबमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परा रहिआएको छ ।’

उनले देश अहिले जटिल राजनीतिक मोडमा रहेको बताउँदै २०८२ सालमा यसबाट निकाल्नुपर्ने उल्लेख गरेका छन् । ‘देशलाई वर्तमान जटिलताबाट मुक्त बनाई शान्त र समृद्ध बनाउने जुन शक्ति पैदा भएको छ, त्यसबाट २०८२ मा नेपाली जनताको चाहनाअनुसारको व्यवस्था आउने विश्वास गरेको छु’, उनले भने, ‘मुलुकमा रहने अराजकता र अशान्तिबाट देशलाई मुक्त गराउन नेपालको राजसंस्थाले योगदान दिने गरेको छ ।’

शाहले राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्यभार मानी संवैधानिक राजसंस्थाका रूपमा रहने आफूहरूको परम्परामा मान्यता रहेको पनि बताएका छन् । ‘वर्तमानमा जनताको चहानाको कदर गरी राज्यसंस्थाको स्रोत जनता नै हुन्’, उनले भनेका छन्, ‘संवैधानिक राजसंस्थाका रूपमा जनताको चहनाअनुसार २०८२ सालमा देश अघि बढ्ने विश्वास पनि हामीले लिएका छौं ।’

शाहले देश भ्रष्टाचारको दलदलमा रहेको पनि बताएका छन् । उनले अरू देशहरू समृद्धिको पथमा धेरै माथि पुगिसक्दा पनि नेपाल भने राजनीतिक अस्थिरता र भ्रष्टाचारको जालोमा फसेको भन्दै दलहरूतिर कटाक्ष पनि गरेका छ्न् ।

उनले चरम मन्दीका बेला आत्मनिर्भर अर्थतन्त्र बनाउन लागे मात्र उन्नति हुने उल्लेख पनि गरेका छन् । 

अघिल्ला वक्तव्यहरूमा राजनीतिक र सामाजिक विषयलाई केन्द्रमा राख्ने गरेका उनी यस पटक आर्थिक विषयलाई प्राथमिकता दिएका छन् । नागरिकले भोगिरहेको आर्थिक संकटलाई ‘दल’ वा ‘वादको विवाद’ले मात्र सम्बोधन गर्न नसक्ने उनले उल्लेख गरेका छन् ।

पूर्वराजाले विश्व परिवेशमा आत्मनिर्भर अर्थतन्त्रको महत्त्व जोड्दै स्वदेशी स्रोत, साधनको उपयोगबाट आन्तरिक अर्थतन्त्र चलायमान बनाउनुपर्ने सुझाव दिएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise