२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

रास्वपामा असन्तुष्टि

draupadi film
जीवन शर्मा
२०८२ वैशाख ८ गते ०६:१५
रास्वपामा असन्तुष्टि

काठमाडौं : पार्टी निर्माणको ६ महिनामै प्रतिनिधिसभामा २१ सिट जितेर संसदको चौथो ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिल्लो समय ध्रुवीकरणमा परेको छ । पुराना राजनीतिक दलहरूप्रतिको वितृष्णा र नयाँ आशाको मत बोकेर वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपा छोटो समयमै लोकप्रिय बनेपनि पछिल्लो समय एकाएक ध्रुवीकरणको शिकार बनेको छ ।

पार्टीलाई सामूहिक नेतृत्व प्रणालीमा लौजानु पर्ने र वैचारिक धारसमेत स्पष्ट बनाउनुपर्ने धारणा व्यक्त गर्ने नेताहरूमाथि नेतृत्वले कारबाहीको डण्डा चलाएछ ।

सभापति रवी लामिछानेको एकल निर्णयमा पार्टीलाई चलाउन खोज्दा रास्वपालाई व्यक्तिगत क्लबको आरोप लाग्ने गरेको छ । गत भदौमा पार्टीबाट रुँदै बाहिरिएका तत्कालीन महामन्त्री मुकुल ढकालले पार्टीलाई रवि लामिछाने क्लब बनाइएको आरोप लगाएका थिए । अहिले उक्त आरोप रास्वपा भित्र रहेका र पार्टी छाडेको दर्जनौं नेताहरूले लगाउने गरेका छन् ।    

२०७९ को निर्वाचनमा केही सिटहरू जित्ने आंकलन गरेका राजनीतिक दल र बुद्धिजीवि वर्ग नयाँ दललाई जनताले साढे ११ लाख मत दिएर पठाएपछि थप आकर्षित भएका थिए । २ असार २०७९ मा आधिकारिक रूपमा पार्टी घोषणा भएको रास्वपाले सोही वर्ष मंसिरमा भएको आम निर्वाचनमा प्रत्यक्षतर्फ ७ सिट, समानुपातिकतर्फ १३ सिट र उपनिर्वाचनमा १ सिट पाएको थियो । काठमाडौं–२ मा सोविता गौतम, काठमाडौं–६ मा शिशिर खनाल, काठमाडौं– ७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ, ललितपुर–३ मा तोसिमा कार्की, चितवन– १ मा हरि ढकाल र चितवन–२ मा रवि लामिछाने प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । त्यस्तै तनहुँ १ बाट निर्वाचित सांसद नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि भएको उपनिर्वाचनमा स्वर्णिम वाग्ले निर्वाचित भएसँगै रास्वपाको संसदमा २१ सिट पुगेको हो । पार्टीले समानुपातिकतर्फ ११ लाख ३० हजार ३ सय ४४ मत ल्याएको छ । रास्वपाले प्रदेश सभा निर्वाचनमा भने भाग लिएको थिएन ।

सामाजिक सञ्जालबाट जनताको मन जितेर त्यसैलाई मतमा परिणत गर्दै संसदमा छिरेको रास्वपा २ पटक सरकारमा सहभागी भइसकेको छ । टेलिभिजन ‘टक शो’ मार्फत् आफूूलाई ब्राण्ड बनाएका रवी लामिछानेले दर्ता गराएको यो पार्टीबाट रविकै सबैभन्दा निकटका सहयात्री, पार्टी स्थापनाका मुख्य योजनाकार रास्वपाका तत्कालीन महामन्त्री ढकाल अहिले पार्टीमा छैनन् । 

ढकाललाई गत भदौमा साधारण सदस्यसमेत नरहने गरी पार्टीले कारबाही गरेसँगै उनी लामिछाने क्लबबाट बाहिरिएको भन्दै सार्वजनिक असन्तुष्टि पोख्दै आएका छन् । पार्टी स्थापनाताका रविलाई सबै हिसावले साथ लिएका ढकालले गत असार–साउनमा करिब १ महिना भूगोलमा खटेर पार्टीको वास्तविक वस्तुस्थिति र सुधार गर्र्नुपर्ने सुझावसहितको प्रतिवेदन पेश गरेका थिए । तर पार्टीमा उनलाई बोल्न दिइएन र उनको प्रस्तावलाई सार्वजनिक नगरे पनि द्वन्द्व बढ्दै जाँदा सभापति लामिछानेले आफ्नै सहयात्री ढकालमाथि कारबाहीको डण्डा चलाएर साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिदिए । त्यसपछि नै पार्टीभित्र ठूलो असमझदारी निम्तिएको रास्वपाका एक पदाधिकारी बताउँछन् ।

हुनत त्यस अघि नै समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई स्वास्थ्यमन्त्री बनाउन ३ करोड माग भएको र सो रकम जुटाउन श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग गरेको संवाद बाहिरिएपछि उनलाई सांसदसहित पार्टीको साधारण सदस्य समेत खोसिएको थियो । 

यही बीचमा प्रदेश र जिल्लाका दर्जन बढी नेताहरूले समेत पार्टी छाडिसका थिए । सभापति लामिछानेलाई पहिलो पटक गृहमन्त्री भएकै बेला दोहोरो नागरिकता र पासपोर्ट काण्डमा अदालतले दोषी ठहर गर्दै पद खारेजी गरेको थियो । सांसद पदसमेत नरहेका लामिछाने पुनः उपनिर्वाचनबाट चितवन–२ बाटै सांसद जितेर आएपछि फेरि गृहमन्त्री बने । तर, उनी सहकारी ठगि प्रकरणमा फसेर जेलमा छन् । लामिछानेमाथि ५ वटा सहकारीको ६५ करोड अपचलन गरेको आरोप छ । उनी ग्यालेक्सी फोरके टेलिभिजनका प्रबन्ध निर्देशक हुँदा विभिन्न सहकारीबाट लगेको ऋणको दायित्व देखाइएको छ भने सोही प्रकरणमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणकोसमेत छानबिन गरिएकाले बुटवल, पोखरा, चितवन, काठमाडौं र पर्सा अदातलता मुद्दा विचाराधीन छन् । यो प्रकरणमा उनलाई बचाउन रास्वपाले अनेक तिकडम गरेपछि पार्टीभित्र २ धार प्रष्ट देखियो ।

एकाथरिले रविलाई निर्दोष दाबी गर्दै उनलाई फसाउन सरकार लागेको आरोप लगाउँदै राज्यसत्ताको विरोधमा उत्रिएका छन् । अर्को पक्षका नेताहरू रवि सहकारी प्रकरणमा मुछिएपछि उक्त मुद्दा किनारा नलाग्दासम्म पार्टीबाट अलग भएर अनुसन्धानलाई सघाउनुपर्ने तर्क गर्दै आएका छन् । 

‘दाग लागेका नेतालाई पुरानै दलको जस्तो गरेर जोगाउने हो भने जनताले नयाँ भनेर गरेको हामीप्रतिको विश्वास गुम्ने र रास्वपाप्रति पनि वितृष्णा बढ्ने कुरालाई ख्याल गर्नुपर्ने हुन्छ’, रास्वपाका एक नेताले मध्यान्हसँग भने । 

चुनाव लगत्तै पार्टी पंक्ति एकातिर सरकारको लेखाजोखामा लाग्यो भने अर्काे पंक्ति पार्टीको संगठन विस्तारतिर लागेको थियो । संगठन बिस्तारको क्रममा जिल्ला र प्रदेशमा पार्टी पदाधिकारी बन्नका लागि हानाथाप हुन थालिसकेको छ । दर्जनबढी जिल्लाहरूमा नेतृत्वको विवाद बढ्दै जाँदा एक अर्कोप्रति आरोप प्रत्यारोपका स्वरहरूले गुञ्जिएका छन् । पार्टीको क्रेज करिब ३ वर्षमा आइपुग्दा ओरालो यात्रामा छ । 

सभापति लामिछानेको उत्तेजक भाषणबाट फ्यान भएकाहरूले सिर्जना गरेको माहोल पटकपटकको सत्ताका लागि गरेको सौदाबाजी, ठूला दलका नेताहरुसँगको साठगाँठ र सहकारी ठगी प्रकरणले पार्टीप्रतिको क्रेज घट्दै गएको नेताहरूले स्वीकार गरेका छन् । 

स्वर्णिम–सुमना असन्तुष्ट 

पछिल्लो पटक सहमहामन्त्री सुमना श्रेष्ठले पनि पार्टीको जिम्मेवारीबाट राजीनामा दिएकी छन् । उनको राजीनामासँगै पार्टीमा थप आशंकाहरू उत्पन्न भएको छ । पार्टीका एक व्यक्ति एक पदको अवधारणा भनिएपनि श्रष्ठले पार्टीका पछिल्ला गतिविधि र सहकारी प्रकरणमा सभापति लामिछाने मुछिएको विषयमा नागरिकलाई चित्त बुझाउन सक्ने आधारहरू नदेखेर सहमहामन्त्रीबाट अलग भएकी छिन् । उनको राजीनामा पछि पार्टीभित्र थप खैलाबैला मच्चिएको छ । साथै गत ४ वैशाखमा प्रदेश इन्चार्ज तोक्दा उपसभापति स्वर्णिम वाग्लेलाई कुनै प्रदेशको जिम्मेवारी नदिएको विषयलेसमेत आपसी अविश्वासलाई बढावा दिएको एक नेताका बताउँछन् ।

कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले कोशीमा सन्तोष परियार, मधेशमा मनिष झा, बागमतिमा लिमा अधिकारी, गण्डकीमा शिशिर अधिकारी, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सुदुरपश्चिममा हरि ढकाललाई इन्चार्ज तोकेको छ । 

यसरी पार्टीको जिम्मेवारी तोक्दा वाग्लेलाई बेवास्ता गरिएपछि रास्वपाको विवाद बाहिरिने क्रम जारी छ । वाग्ले कार्यवाहक सभापति बन्न चाहेपनि लामिछानेले आफू सहकारी प्रकरणमा अनुसन्धानमा तानिएपछि अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी हस्तान्तरण गरेका थिए । त्यसबाटै वाग्ले सन्तुष्ट छैनन् ।  


 

ADV

सम्बन्धित खबर

Advertise