२०८२ वैशाख १४ गते आइतवार / Apr 27 , 2025 , Sunday
२०८२ वैशाख १४ गते आइतवार
Ads

व्यवस्थामाथि उठेको प्रश्न

मध्यान्ह
२०८२ वैशाख १४ गते १२:१६
व्यवस्थामाथि उठेको प्रश्न

–अच्युतप्रसाद पौडेल ‘चिन्तन’

हाम्रो लोकतन्त्र, संघीयता र गणतन्त्रले सर्वत्र विरोध खेपिरहेको छ अहिले । यसलाई संचालन गर्नेहरूविरुद्ध आक्रामक स्वर र गतिविधिहरू देखिन थालेका छन् ।

जब अमेरिकी राष्ट्रपतिको पदमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गरे, उनले ठाडै भनिदिए– नेपालमा धर्मनिरपेक्ष र गणतन्त्र स्थापनार्थ धेरै ‘फ्रड’ कार्य भएको छ । अहिले जनता जुर्मुराएका छन्, देशभित्र र बाहिरबाट पनि । परिवेशले आमनेपालीलाई घोत्लिन बाध्य गराएको छ कि विगतमा देश एक मात्र वैदिक सनातनी, विश्वकै नमुना र हिन्दुधर्मी गुरुराष्ट्र थियो । धर्मनिरपेक्षताका लागि वा गणतन्त्र, संघीयताका लागि सजिलो उपाय जनमत बुझ्ने जनमतसंग्रह पनि गरिएको थिएन । केही समययतादेखि यी विषयमा अन्धाधुन्ध सडकभर विरोधका स्वरहरू आएका छन् । 

केही दिनयता पाथीभरा केबलकारका अभियन्तालाई शौचालयमा थुनेको कुराले चर्चा पाइरहेको छ । उनलाई थुनियो वा विरोधबाट उनी लुके, त्यो प्रस्ट छैन, यद्यपि, उनी केही समय शौचालयमै रहे । 

कुनै बेला पर्यटनमन्त्रीसमेत रहेका ती नेताविरुद्ध विभिन्न आरोपहरू पनि लागेकै छन् । सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले हालै बनाएको प्रतिवेदनमा उनको पनि नाम मुछिएको छ, जहाँ उनीसँगै अन्य दिग्गज नेताहरूको नाम पनि जोडिएको पाइन्छ । यसले हाम्रो गणतन्त्रभित्रका नेतृत्व तहका पात्रहरू कस्ता छन्, उनीहरूले समाजलाई कता लैजाँदै छन्, उनीहरूले के सिकाउँदै छन् भन्ने प्रश्न उब्जिन्छ । 

तथ्य जे होला तर देशलाई भ्रष्टाचारीहरूको फूलबारी बनाएकै छ । देशका बारेमा निकै नराम्रा सन्देशहरू बाहिर संचार भएकै छन् । सँगै, विदेशीको पनि प्रभाव बढेकै छ । युवाहरूमा सकारात्मक होइन, नकारात्मक प्रभाव बढेकै छ । युवाहरू बाध्यात्मक रूपमा विकल्प खोज्ने बनेका छन् । 

लोकतन्त्र र गणतन्त्रको नारामा दशकौंसम्म जनताले ठूलो आस्था राखे । राजतन्त्र र निरंकुश शासनको अन्त्य गरी जनताको शासन स्थापित गरिने सपना देखाइएको थियो । तर, समय बित्दै जाँदा त्यही सपना बिपनामा परिणत हुन सकेन र आज जनमानसमा लोकतन्त्र र गणतन्त्रप्रति वितृष्णा बढ्दै गएको हो । अब प्रश्न उठ्छ– किन ?

सबैभन्दा पहिला जनता स्वतन्त्रता, समानता र न्यायको अपेक्षा राखेर सडकमै उत्रिएका थिए । परिवर्तनको आन्दोलनमा रक्तपात हुने अवस्था बन्यो, जीवन गुमाउने अवस्था बन्यो । ती बलिदानीहरूले देशमा गणतन्त्र त ल्याए तर त्यसले जनताको जीवनमा अनुभूति ल्याउन सकेन । गणतन्त्र आए पनि शासनमा नेताहरू फेर्नु मात्र भयो, प्रवृत्ति उस्तै रह्यो ।

परिवर्तनको नाममा सत्ताको खेल मात्र चलिरह्यो । नेताहरू जनताको भन्दा पनि आफ्नो स्वार्थ र पार्टीको गणित मिलाउनमै व्यस्त देखिए । यस्तो अवस्थामा जनताको मनमा आशाले होइन, वितृष्णाले ठाउँ लिन थाल्नु स्वाभाविक हो ।

लोकतन्त्रको मूल भावना भनेको जनताको आवाज सुन्ने र उनीहरूको सहभागितामा निर्णय गर्ने प्रणाली हो । तर, हाम्रो देशमा यो भावना व्यवहारमा देखिएन । चुनावमा वाचा गरिएका सपना हराउँछन्, सत्ता सम्हालेपछि जनतासँग संवाद हराउँछ । चुनावताका घरदैलो गर्ने नेताहरू विजयी भएपछि जनतालाई चिन्नै छाड्छन् ।

उनीहरू महँगा गाडी चढ्छन्, विशेषाधिकार भोग्छन्, जनताका दुःख र अभावमाथि चुप लाग्छन् । जनताका समस्या सुन्ने संसद् बन्द हुन्छ तर सत्ता जोगाउने बहस रातारात चल्छ । यस्ता प्रवृत्तिले लोकतन्त्रप्रति आस्था घट्नु स्वाभाविक हो ।

सँगै, अर्को पक्ष भनेको भ्रष्टाचार हो । गणतन्त्रपछि जनप्रतिनिधिहरूले अवसरको रूपमा शासनलाई लिएका छन् । हरेक क्षेत्रमा भ्रष्टाचार मौलाएको छ– कर्मचारीतन्त्रदेखि अदालतसम्म । जब सत्तामा बसेकाहरू नै कानुनमाथि उभिन्छन्, तब जनताले कसरी न्यायमा विश्वास राखुन् ? जब जनप्रतिनिधि नै लुटेराका रूपमा प्रस्तुत हुन्छन्, तब प्रणालीमै विश्वास हराउँछ । यही अवस्था आज देखिँदै छ ।

गणतन्त्रको अर्को मूल मन्त्र समानता हो । तर, हाम्रो समाज अझै विभाजित छ– जातीय, वर्गीय, भौगोलिक आधारमा । विकास पनि समान रूपमा पुगेको छैन । पहाडी, हिमाली, मधेशका समस्या एउटै छैनन् तर समाधान एउटै रूपमा देखाउने प्रयास हुन्छ ।

सुविधाहरू राजधानीमै केन्द्रित छन् । प्रदेश व्यवस्था ल्याइए पनि त्यसले जनतालाई छुन सकेको छैन । प्रदेश सरकारहरू केन्द्रको सानो प्रतिकृति मात्र बने, जनतासँगै संवाद गर्न सक्ने मोडेल बन्न सकेनन् । यो असमानताको महसुसले पनि वितृष्णा बढाएको छ ।

त्यसबाहेक, अभिव्यक्तिको स्वतन्त्रता, नागरिकको अधिकार जस्ता विषयमा पनि दोहोरो मापदण्ड देखिन्छ । आफ्नो पक्षको आलोचना सहन नसक्ने प्रवृत्तिले लोकतान्त्रिक संस्कृतिमै प्रश्न उठाउँछ । सरकार वा नेताहरूको आलोचना ग¥यो भने ‘राष्ट्रघाती’, ‘अराजक’ जस्ता गाली खाने स्थिति आउँछ ।

यस्तो वातावरणमा डर र असहजता बन्छ । यस्तो डरले लोकतन्त्र गहिरिने होइन, झनै कमजोर बन्छ । जनताले बोल्न, लेख्न र प्रश्न गर्न नपाउने व्यवस्था लोकतन्त्र होइन, त्यो त साजिसमा चलेको शासन हो ।

अहिलेको पुस्ताले राजनीतिको नाममै वितृष्णा राख्न थालेको छ किनभने उनीहरूले देखेको राजनीति अवसरवाद, स्वार्थ र अस्थिरता हो । शिक्षित युवाहरू देश छाड्न तयार छन् किनभने उनीहरूले यहाँ सम्भावना देखेका छैनन् । जब देशभित्रै गरिखाने वातावरण बन्द हुन्छ, तब गणतन्त्रको औचित्यमै प्रश्न उठ्छ ।

जनतालाई जीवनमा परिवर्तन नल्याउने परिवर्तनको के मूल्य ? गणतन्त्रले जागिर दिएको छैन, स्वास्थ्य र शिक्षामा पहुँच दिएको छैन, सुरक्षाको प्रत्याभूति दिएको छैन, त्यसैले वितृष्णा बढेको हो ।

अन्ततः समस्या व्यवस्थामा होइन, त्यसलाई व्यवहारमा उतार्न नसक्ने नेतृत्वमा छ । जब नेतृत्वको चरित्र परिवर्तन हुँदैन, जब जनता होइन, सत्ताको लोलुपता प्राथमिकता बन्छ, तब कुनै पनि प्रणालीप्रति जनताको विश्वास टिक्दैन ।

त्यसैले, आज वितृष्णा लोकतन्त्रप्रति होइन, यो प्रणालीलाई बदनाम बनाउने प्रवृत्तिप्रति हो । अझै समय छ, नेतृत्वले आत्मसमीक्षा गरोस्, लोकतन्त्रलाई सजावटको वस्तु होइन, व्यवहारमा लागू हुने प्रणाली बनाओस् । नत्र जनताको वितृष्णा एक दिन आक्रोशमा परिणत हुन सक्ने छ ।

ADV

सम्बन्धित खबर