काठमाडौं : नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सरकार हलचल नहुनेमा ढुक्क भएका छन् । बिहीबारसम्म सत्ता समीकरण नै टुट्ने व्यापक चर्चा भइरहेको अवस्थामा कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार थाइल्यान्ड भ्रमणबाट फर्किएलगत्तै सरकार परिवर्तनको सन्दर्भमा अहिले केही नहुने बताएपछि ओलीको मन शान्त भएको हो ।
पूर्वप्रधानमन्त्री देउवा आँखा र पेटको स्वास्थ्य परीक्षण सकेर थाइल्यान्डबाट नेपाल फर्कनासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले गठबन्धनमा खटपट भएको हो ? भन्ने प्रश्न गरेका थिए । उक्त प्रश्नमा देउवाले ‘सत्ता समीकरण फेरबदल हुँदैन’ भन्ने जबाफ दिएका थिए ।
संचारकर्मीले गरेको दोस्रो प्रश्नमा पनि देउवाले ‘गठबन्धमा केही भएको छैन, गठबन्धन टिक्छ’ भनेपछि प्रधानमन्त्री ओली सरकारमा गडबड नहुनेमा ढुक्क भएका हुन् ।
उसै पनि देउवा भरोसायोग्य नेता मानिने र उनले हुन्छ भनेपछि इमान्दारीसाथ आफ्नो समर्थन वा विरोध जे हो, त्यसमा डटेर लाग्ने देउवाको बानीलाई पछिल्लो समय राजनीतिक वृत्तमा महत्वपूर्ण सूचकका रूपमा हेरिएको छ ।
देउवाले समर्थन गरुन्जेल ओली सरकारमा कुनै तलमाथि नहुने राजनीतिक विश्लेषकहरू बताउँछन् । देउवाको सोही बानीको प्रभाव प्रधानमन्त्री ओलीलाई परेका कारण उनी अहिले नै सरकारको गठबन्धनमा कुनै समस्या नआउनेमा ढुक्क छन् ।
सरकार परिवर्तनका सन्दर्भमा टिप्पणी गर्दै परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले ‘इन्टरटेन्मेन्ट’का लागि सरकार परिवर्तनको हल्ला चलाइएको बताएकी छन् । यसले ओलीलाई ढुक्क हुन थप बल पर्याएको छ ।
गत हप्ता पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवालाई प्रधानमन्त्री भइदिन प्रस्ताव राखे पनि देउवाले ओलीलाई धोका नदिने बताएका थिए । तर, ओली र प्रचण्डले देउवालाई पटक–पटक धोका दिए पनि देउवाले यही अवस्थामा प्रचण्ड वा कसैले भनेकै भरमा सरकार परिवर्तनको पक्षमा छैनन् । यद्यपि, नेपाली कांग्रेसका अधिकांश नेताहरूले सरकारको व्यापक आलोचना गरिरहेका छन् ।
कांग्रेस–एमाले गठबन्धनको वर्तमान सरकार कुनै प्रशासनिक संरचना चलाउन नभई जनतालाई सुशासन दिन र संविधान संशोधनको मुख्य एजेन्डा लिएर बनेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले टिप्पणी गरे ।
‘अहिले सरकार रहन्छ कि रहँदैन भन्दा पनि यो व्यवस्था र संविधान रहन्छ कि रहँदैन भन्ने मूल कुरा हो’, उनले भने, ‘कांग्रेस–एमाले गठबन्धनको सरकार यस्तै गतिविधिका लागि बनेको होइन । यो गठबन्धनको मूल एजेन्डा संविधानको रक्षा र यो संविधानमा संशोधन हो । तर, यो सरकार त्यसतर्फ केन्द्रित छैन ।’
साउदको टिप्पणीलाई कतिपयले सकारात्मक लिए पनि केही नेताहरूले सरकारमा सहभागी हुने प्रयत्नका रूपमा समेत लिएका छन् ।
सत्ताको प्रमुख सहयात्री दल कांग्रेसका सभापतिको भनाइप्रति ढुक्क भएका प्रधानमन्त्री ओलीले शनिबार एमाले संसदीय दलको बैठकमा आफ्ना सांसदहरूलाई कसैले पार्टी र सरकारको विरुद्धमा बोल्यो भने तत्काल प्रतिवाद गर्न निर्देशन नै दिए ।
बैठकमा उनले निर्देशनात्मक आदेशमा भनेका छन्, ‘पार्टी र सरकारको विरुद्धमा गलत कुरा बोल्छ भने तत्काल तीखो रूपमा आलोचना गर्नुस् । संसद्मा बोल्दा मर्यादित र सभ्य भएर जनताका आवाज प्रतिबिम्बित हुनेगरी साहसिक रूपमा आवाज उठाउनुपर्ने हुन्छ ।’
संसद्मा कसरी प्रस्तुत हुनुपर्छ भन्ने विषयमा सचेत गराएका ओलीले कुनै विषयमा कसैले गलत ढंगले विरोध गर्छ भने त्यसको प्रतिवाद तत्काल गर्नुपर्ने भन्दै तत्कालीन विषयमा भोलि बोल्नुको कुनै अर्थ र महत्त्व नहुने बताए ।
लोकतन्त्रका लागि संघर्ष गरेको जुनसुकै पार्टीका व्यक्ति भए पनि सम्मानपूर्वक व्यवहार गर्नुपर्ने ओलीको भनाइ छ । कसैले सरकार ढल्यो भन्दैमा हल्लाको पछाडि नलागी मिसन– ८४ मा लाग्नसमेत प्रधानमन्त्री ओलीले सांसदहरूलाई निर्देशन दिएका छन् । उनको यस्तो निर्देशनले सरकारको पूर्ण आयुप्रति विश्वस्त भएको संकेत गरेको राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ ।
ओलीले सांसदहरूलाई दिएका प्रमुख निर्देशनहरू
– सबै माननीयहरूले दस्ताबेजहरू राम्ररी अध्ययन, चिन्तन, मनन गरी परिस्थितिलाई बुझेर काम गर्ने ।
– पार्टीको विरुद्धमा कसैले गलत ढंगले बोल्छ भने त्यसको प्रतिवाद तत्काल छिटा ेछरितो रूपमा गर्ने ।
– कसैले सरकार ढल्यो भन्दैमा हल्लाको पछाडि नलाग्ने, मिसन– ८४ मा लाग्ने ।
– जनताका आवाजहरू प्रतिबिम्बित हुनेगरी अर्थपूर्ण, मर्यादित र साहसिक ढंगले संसद्मा प्रस्तुत हुने ।
– राष्ट्रलाई कमजोर पार्ने खालका प्रवृत्तिहरूलाई तीखो रूपमा आलोचना गर्ने ।
– गलत ढंगका विधेयक पारित भए भने विकास निर्माण तथा जनतालाई दिइने सेवा सुविधामा प्रत्यक्ष असर पर्ने र राजनीतिक विचारमा समेत असर पर्ने भएकाले सही विधेयकहरू ठीक ढंगले पारित गर्ने वातावरण बनाउने, गलत विधेयक पारित नगराउन भूमिका खेल्ने ।
– आत्मविश्वास, पूर्वतयारी र एमालेपनका साथ संसद्मा प्रस्तुतीकरण दिने ।