२०८२ वैशाख १५ गते सोमवार / Apr 28 , 2025 , Monday
२०८२ वैशाख १५ गते सोमवार
Ads

नेपाल निर्माणमा एनआरएनको भूमिका

२०८२ वैशाख १५ गते ०६:००
नेपाल निर्माणमा एनआरएनको भूमिका

–सोमनाथ सापकोटा

संसारभर फैलिएका लाखौं गैरआवासीय नेपाली (एनआरएन) आज पनि नेपालको पहिचान, सपना र भविष्य बोकेर अघि बढिरहेका छन् । उनीहरूले विदेशमा काम र व्यवसाय गरेर आत्मनिर्भरता प्राप्त गरेका छन् तर उनीहरूको मन अझै पनि मातृभूमिप्रति गहिरो प्रेमले भरिएको छ ।

आज नेपालसँग एउटा सुनौलो अवसर छ– ग्लोबल प्रवासी नेपालीहरूको ज्ञान, अनुभव, सीप र सामथ्र्यलाई प्रयोग गरेर समृद्ध नेपालको सपना साकार पार्ने ।

एनआरएन रेमिट्यान्स पठाउने मात्र होइनन्; उनीहरू नेपालका सांस्कृतिक दूत, पुल निर्माणकर्ता र परिवर्तनका बाहक हुन् । मेडिकल, इन्जिनियरिङ, कृषि, सूचना प्रविधि र व्यवसायको क्षेत्रमा अनुभव बटुलेका उनीहरूले नेपालको शैक्षिक, औद्योगिक र सामाजिक संरचना उन्नत बनाउन सक्ने ठूलो सामथ्र्य राख्छन् ।

नेपाली युवालाई मार्गदर्शन गर्ने, प्रविधि स्थानान्तरण गर्ने र स्थानीय संस्थासँग सहकार्य गर्नेजस्ता माध्यमबाट उनीहरूको ज्ञानले मानव संसाधनको स्तर उचाइमा पुर्‍याउन सक्छ ।

नेपालमा लगानी गर्ने अपार सम्भावना छ– पर्यटन, जलविद्युत्, जैविक कृषि, सूचना प्रविधिलगायतका क्षेत्रमा । विदेशमा व्यावसायिक सफलता हात पारेका एनआरएनहरूले आफ्नो पुँजी, सोच र अन्तर्राष्ट्रिय अनुभवसहित नेपालमा रोजगारी सिर्जना, नवप्रवर्तन र दिगो विकासमा टेवा दिन सक्छन् । स्टार्टअप, साना उद्यम, ग्रामीण पर्यटन वा हरित ऊर्जा क्षेत्रमा लगानी गरेर समाजमैत्री र लाभदायक परियोजनाहरू अगाडि बढाउन सकिन्छ ।

आज प्रवासी नेपालीहरूले नेपालको आर्थिक विकासमा ठूलो योगदान दिइरहेका छन् । तथ्यांकअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनको २९ प्रतिशतभन्दा बढी रेमिट्यान्सबाट आर्जन हुन्छ, जुन विश्वमै उच्च दरमध्येको एक हो ।

यो आर्थिक जीवनरेखा लाखौं नेपाली परिवारको शिक्षा–दीक्षा, स्वास्थ्य र जीविकोपार्जनमा प्रत्यक्ष सहारा बनिरहेको छ । यदि यो आर्थिक शक्ति व्यवस्थित रूपमा उत्पादक क्षेत्रतिर मोड्न सकियो भने, त्यो समृद्ध नेपाल निर्माणको मेरुदण्ड बन्न सक्छ ।

त्यस्तै, एनआरएन नेपालका अन्तर्राष्ट्रिय ब्रान्ड प्रमोटर पनि हुन्, जहाँ आबद्ध नेपालीहरूले विदेशमा नेपाली संस्कृतिको प्रचारप्रसार, पर्यटन प्रवद्र्धन र सांस्कृतिक कार्यक्रमहरूको आयोजनमार्फत नेपालप्रति सकारात्मक धारणा निर्माण गर्न सक्ने सामथ्र्य राख्छन् ।

अर्कातर्फ, उनीहरूसँग अन्तर्राष्ट्रिय सम्बन्ध, संस्थागत पहुँच र नीतिगत सुझाव दिन सक्ने प्लेटफर्महरू छन् । सरकारले यो क्षमताको उचित प्रयोग गरेर देशका लागि दूरदर्शी नीति बन(ाउन उनीहरूलाई सल्लाहकारका रूपमा संलग्न गर्न सक्छ ।

धेरैजसो प्रवासी नेपालीहरू पहिल्यैदेखि सामाजिक क्षेत्रमा क्रियाशील छन्– विद्यालय निर्माण, छात्रवृत्ति, स्वास्थ्य शिविर, विपद् व्यवस्थापन आदिमा । अब यो सद्भावना र योगदानलाई दीर्घकालीन, पारदर्शी र राष्ट्रिय लक्ष्यसँग मिल्ने संरचनामा विकास गर्न आवश्यक छ ।

यस सामथ्र्यलाई पूर्ण रूपमा उपयोग गर्न सरकारले प्रवासीमैत्री नीति ल्याउन जरुरी छ । सम्पत्ति सुरक्षाको ग्यारेन्टी, लगानी प्रक्रिया सजिलो बनाउने, दोहोरो नागरिकता जस्ता अधिकार सुनिश्चित गर्ने, एनआरएन लगानी डेस्क स्थापना गर्नेजस्ता कदमले विश्वास जगाउन सक्छन् ।

राष्ट्रिय दीर्घकालीन समृद्धिका लागि, जनसमावेशी शासन प्रणाली, युवामा लगानी, ग्रामीण विकास, प्रविधिमैत्री संरचना र वातावरणीय दिगोपन जस्ता क्षेत्रमा प्राथमिकता दिनु अत्यावश्यक छ । आजको युगमा नेपालको समृद्धि केवल भित्रका नागरिकले होइन, बाहिर रहेका नेपालीहरूको जोश, सोच र समर्पणले पनि निर्देशित हुन्छ ।

यदि हामी प्रवासी नेपालीहरू एकताबद्ध भएर साझा लक्ष्यमा अघि बढ्यौं भने समृद्ध र स्वाभिमानी नेपाल केवल सपना होइन– हाम्रो साझा गन्तव्य बन्न सक्छ ।

(सापकोटा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपमहासचिव हुन् ।)

ADV

ताजा खबर

सम्बन्धित खबर