–उत्तम कार्की
‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित ‘प्रश्नोत्तर’ कविताको यो हरफ जस्तै छ, सुनिरकिशन मानन्धरको सोच र सपना पनि । उसो त जब जोकोही मानिस आफ्नो लक्ष्य, उद्देश्य अनि गन्तव्यमा पुग्नका लागि ठोस योजना बनाएर दृढ संकल्पसहित निरन्तर लागि नै रहन्छ, तब मात्र ऊ ढिलोचाँडो सफल हुन्छ ।
हो, सुनिरले पनि कलिलो उमेरबाटै यही सूत्र अपनाए, अनवरत रूपमा अघि बढिरहे । अहिले उनको सोच, सपनासमेत एक तहमा पूरा भएको छ । २० वर्षीय सुनिर अहिले अमेरिकी बन्दरगाहहरूमा सवारी साधन निर्माणमा केन्द्रित कम्पनी ‘मेरिडियन’का संस्थापक बनेका छन् ।
झट्ट हेर्दा गहँुगोरो, हल्का जुँगाको रेखी बसेको, स्वाभाविक पहिरनको, सामान्य अल्लारे ठिटो जस्तो देखिन्छन् सुनिर । मिजासिलो बोली बोल्ने र अरूको भनाइ धैर्यपूर्वक सुन्ने सुनिरलाई सुरुमा भेट्दा बेरोजगार, गन्तव्यहीन यात्री पो हो कि भन्ने लाग्छ । तर, त्यो अनुमान सरासर गलत हुन्छ ।
सुनिर यतिबेला निकै व्यस्त छन् । उनलाई भेटघाट तथा जमघट गर्ने व्यक्ति असाधारण, राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरका समेत हुन्छन् ।
सुनिरको जन्म १४ चैत २०६१ मा काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका– २३, झोछेंमा किशोरकिशन मानन्धर र सुनिताको एक मात्र सन्तानको रूपमा भएको हो । मध्यम वर्गीय परिवारका सुनिरको बाल्यकाल साथीसंगीको तुलनामा पृथक् रह्यो ।
सानैदेखि अध्ययनमा अब्बल, सिर्जनाका धनी उनलाई त्यस्तै ३–४ वर्षको उमेरमा घर नजिकैको तत्कालीन अरनिको बोडिङ स्कुल, भोटेबहालमा भर्ना गरियो । त्यहाँ उनले कक्षा ४ सम्म अध्ययन गरे । त्यसपछि ललितपुरको हात्तीवनस्थित आई.जे. पाइनियर स्कुल जान थाले ।
२०७६ सालमा राम्रो अंक ल्याएर त्यहाँबाटै एसईई पास गरेपछि उच्चशिक्षाका लागि बानेश्वरको ग्लोबल इन्टरनेसनल कलेज भर्ना भए । त्यहाँ ‘ए लेभल’मा अध्ययनरत रहँदा अमेरिकी विश्वविद्यालयमा भाषा अध्ययन गर्न र जुनियर राष्ट्रिय पौडीबाजको रूपमा प्रशिक्षण लिनका लागि प्रतिस्पर्धामा छनोट भएर सुनिर २०७८ सालमा अमेरिका पुगे ।
रोचक पक्ष, १७ वर्षको उमेरमा ७०० डलर बोकेर एक्लै अमेरिका छिरेका सुनिर केही समयको अन्तरालमै सुशिक्षित इञ्जिनियर बने । यही मेसोमा १ दिन सवारी साधनहरू निर्माणमा एक्लै खटिरहेका सुनिरको भेट अहिले विश्वका शीर्ष लगानीकर्तामध्येका एक सर्किट लन्चका संस्थापक एलेक्स डान्टाससँग भयो ।
उनले सुनिरको कथाव्यथा सबै सुने, क्षमता जाँच गरे र साथ पनि दिने निर्णय सुनाए । सुनिरको कामबाट प्रभावित एलेक्सले उनलाई निःशुल्क ‘सर्किट लन्च’को व्यवस्था गरिदिए । यो भनेको रोबोटिक्स, हार्डवेयर र मेकाट्रोनिक्स नवप्रवर्तनका लागि संसारको सबैभन्दा उन्नत सहकार्यस्थलमध्ये एक हो ।
क्यालिफोर्नियाको ओकल्यान्डमा अवस्थित यो भौतिक प्रविधिको अत्याधुनिक क्षेत्र स्टार्टअप र आविष्कारकहरूको घर हो ।
यस्तैमा सुनिरले १५१७ कोष मेडिसी ग्रान्ट बेगल कोष अनुदान पनि प्राप्त गरे । यो कोष क्षमता देख्नुअघि युवा निर्माणकर्ता र दूरदर्शीहरूलाई प्रोत्साहन गर्नका लागि स्थापना गरिएको हो । यो तपाईंले पहिले नै के गरिसक्नुभएको छ भन्नेबारेमा होइन, कहाँ जाँदै हुनुहुन्छ भन्ने विश्वासका लागि हो । सुनिरले १५१७ टोलीलाई भेट्नु संयोग थियो ।
उनी थिएल फेलोसिपका सहसंस्थापक र १५१७ कोषका संस्थापक डेनियल स्ट्र्याचम्यानले ओकल्यान्डमा रक्षा–केन्द्रित ह्याकाथनका बारेमा गरेको ट्वीटमा ठोक्किए । डेनियलको कारको साँचो रिभर्स–इन्जिनियरिङ गरे । अन्जानमा त्यो व्यक्तिलाई प्रभावित पारे, जो पछि उनको सबैभन्दा बलिया सारथिमध्ये एक बने ।
भनिन्छ, बिहानीले दिनको झल्को दिन्छ । हुन पनि अपवादबाहेक दिन कस्तो होला भन्ने छनक बिहानै पाइन्छ । सुनिर पनि यसैका उदाहरण हुन् । खोज, अनुसन्धान र आविष्कारमा सानैदेखि एकाग्र हुने उनी पछि आफ्नो रोजाइको उद्देश्यमा निरन्तर समर्पितसमेत भए । सुनिरले यसअघि ‘प्लेटफर्म’का रूपमा स्वड्राइभिङ प्रविधिको परीक्षण र सवारी साधन निर्माण गरिसकेका छन्, जसमा उनले ३ वटा फरक प्रकारका अटोपाइलटहरू निर्माण गरे ।
त्यस्तै, अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि ‘रियल इस्टेट मार्केटप्लेस’ निर्माण गरे, जुन अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई क्रेडिट इतिहास वा भाडा रेकर्डको आवश्यकताबिना आवास खोज्न मदत गर्ने प्लेटफर्म हो । यसरी उनले विद्यार्थीहरूलाई एजेन्टहरूको साटो सिधै घरधनीहरूसँग जोड्ने काम गरे ।
त्यसो त कामको सिलसिलामा आइलागेका जस्तासुकै चुनौती सामना गर्दै त्यसलाई अवसर अनि अनुभव ठान्छन् सुनिर । ‘आत्मबल नै सफलताको सबैभन्दा ठूलो सूत्र हो । सफल मानिसका जीवनकथाबाट यही प्रमाणित हुन्छ । आत्मबलले मानिसलाई उच्च स्थानमा पु¥याउँछ, जुन सबै मानिसमा हुँदैन’, उनी भन्छन्, ‘जीवनमा आउने उत्तारचढावलाई जसले सहज ढंगले लिन्छ, त्यही मानिस सफल हुन्छ । त्यो मानिस सफलताको शिखर चुम्न सफल हुन्छ, जसले जीवनका कतिपय तगारालाई शक्तिमा परिणत गर्छ ।’
सुनिरले अमेरिकामा संसारका उत्कृष्ट थुप्रै सहयोग, फेलोसिप, अनुदान, सम्मान अनि पुरस्कार प्राप्त गरेका छन्, जसका कारण उनलाई त्यहाँ स्थापित हुने, थप प्रगति र सुनौलो भविष्य निर्माण गर्ने सुवर्ण अवसर मिलेको छ ।
बुस्ट भीसी (संस्थापक सुरुवात कार्यक्रम), इमर्जेन्ट भेन्चर्स (टायलर कोवेनबाट अनुदान), १५१७ कोष मेडिसी ग्रान्ट बेगल कोष अनुदान, भव्य अनुदान फेलो (२ वर्षे कार्यक्रम), सर्किट लन्च (निवासमा उद्यमी), अन डेक संस्थापक फेलोसिप (बिल्ड स्पेस सिजन ५ एक्सेलेरेटर) आदि यसैका केही प्रमाण हुन् ।
हुन पनि सुनिरले हात पारेका उपलब्धिहरू कुनै २५ वर्षमुनिका असाधारण युवा अग्रगामीहरूलाई प्रदान गर्ने, कुनै हजारौंमध्येबाट १ जना छनोटमा पर्ने त कुनै ठूलो धनराशी र असाधारण सुविधाका छन् । आजसम्म विश्वमा २० जनाले मात्र प्राप्त गरेका त्यो सम्मान पाउने पहिलो नेपाली नागरिक र एसियाबाट त्यस्तो अनुदान जित्ने पहिलो व्यक्ति सुनिर बनेका छन् ।