२०८२ वैशाख १७ गते बुधवार / Apr 30 , 2025 , Wednesday
२०८२ वैशाख १७ गते बुधवार
Ads

मलेसिया रोजगारीमा सिन्डिकेटको खतरा

मध्यान्ह
२०८२ वैशाख १७ गते ०६:००
मलेसिया रोजगारीमा सिन्डिकेटको खतरा

–डिकबहादुर खत्री ‘कुमार’ 

यतिबेला नेपाली श्रमिकको आकर्षक गन्तव्य मुलुक मलेसियामा आप्रवासी कामदार भर्ना प्रक्रियालाई ‘सिस्टम’का नाममा एकाधिकार गर्ने विषयले चर्चा पाएको छ, जुन प्रक्रिया अवलम्बन गर्ने तयारीसँगै लामो समयदेखि पेसा÷व्यवसाय गरेर बसेका व्यवसायीको भविष्य के हुने भन्ने अन्योल बनाएको छ । 

अन्तर्राष्ट्रिय श्रम मापदण्ड र कानुनविपरीत, कामदारलाई अत्यधिक आर्थिक भार पार्ने किसिमले विगतमा मलेसियाको स्रोत मुलुक बंगलादेशमा सिन्डिकेटयुक्त मोड्युल अवलम्बन गरिएको थियो, जुन प्रणाली अन्तर्राष्ट्रिय रूपमै विवादितसमेत बन्न पुगेको थियो ।

अन्तराष्ट्रिय जगत्मै विवादित बनेपछि बंगलादेशले उक्त सिन्डिकेटयुक्त प्रणालीलाई विस्थापित गरेको थियो, जुन विवादका कारण मलेसियाले पनि आप्रवासी कामदार भर्ना प्रक्रियालाई नै स्थगित गरेको थियो । 

यो घटनाको १ वर्षपछि मलेसियाले पुनः नयाँ कामदारका लागि भर्ना खुलाउँदै छ । तर, मलेसियाले कामदारका लागि नयाँ भर्ना खुलाउँदै गर्दा कामदार पठाउने प्रक्रिया फेरि एक पटक विवादमा तानिएको छ । मलेसियाको परराष्ट्र मन्त्रालयले यतिबेला स्रोत मुलुकका दूतावासलाई पत्राचार गरी एम्बेसी मोड्युल, रिक्रुटमेन्ट मोड्युल र बायोमेडिकल मोड्युलका लागि सहयोग गर्न भनेको छ । 

एम्बेसी मागपत्र प्रमाणीकरणले दूतावासको क्षेत्राधिकारलाई कुण्ठित गर्छ र लेनदेनको चलखेल बढाउँछ । अनुगमनबिना जस्तासुकै (क्षमता भएका वा नभएका रोजगारदाता) मागपत्रहरू प्रमाणीकरण गर्नुपर्ने बाध्यताको सिर्जना हुन सक्छ । निश्चित संस्थाका नाममा बनेका मागपत्र मात्र प्रमाणीकरण गरिन सक्छ । 

रिक्रुटमेन्ट मोड्युल एकाधिकारका लागि सबैभन्दा ठूलो बाधकका रूपमा उदाउन सक्ने सिस्टम हो किनकि यो बिलकुलै नयाँ र यो निर्माणको उद्देश्य नै सिन्डिकेट लगाउनु हो । ठूलो लेनदेनपश्चात् निश्चित व्यावसायिक संस्थालाई मात्र पहुँच दिएर यो सिस्टम प्रयोगमा ल्याएमा इमान्दारीपूर्वक लामो समयदेखि मलेसिया कामदार पठाइरहेका व्यवसायी विस्थापित हुने छन् । 

बायोमेडिकल मोड्युल २०७२ सालदेखि संचालित नै छ तर दायित्वविहीन छ (वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४६ (ख) को (७) उपनियम (६) बर्खिलाप) ।

यहाँबाट पास भई गएका तर गन्तव्य पुगेर मेडिकल फेल भएर फर्की आएका कामदारलाई क्षतिपूर्ति नदिएर हजारौं कामदारलाई आर्थिक शोषण गरेको छ । गन्तव्य मुलुकहरूले विभिन्न नाममा ल्याउने श्रमिकको अहित र आर्थिक शोषण हुने यस्ता नियमहरूलाई पठाउने देशका सम्बन्धित मन्त्रालयसँग समन्वय गरी एकीकृत धारणाद्वारा निस्तेज पार्नुपर्छ ।

आईएलओ, इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन, जीआईजेड, विभिन्न मानवअधिकारवादी संस्थाहरू, नागरिक समाज, अधिकारकर्मीलगायतका श्रम आप्रवासनमा श्रमिकका लागि काम गरिरहेका संस्थाहरूले सक्रियता देखाई आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौताको मर्म र भावनाविपरीत यस्ता मापदण्ड हटाउन दबाब दिनुपर्ने देखिन्छ । 

जनताले स्वतन्त्र रूपले व्यवसाय गर्न पाउने अधिकार हनन हुनेगरी हुने गरेका यस्ता क्रियाकलाप खेदजनक छन् । नेपालको संविधान, २०७२ को भाग ४ धारा ५१ राज्यले अवलम्बन गर्ने नीतिहरूअन्तर्गत उपधारा (झ) श्रम र रोजगारसम्बन्धी नीतिहरूको (५) वैदेशिक रोजगारीलाई शोषणमुक्त, सुरक्षित र व्यवस्थित गर्न तथा श्रमिकको रोजगारी र अधिकारको प्रत्याभूति गर्न यस क्षेत्रको नियमन र व्यवस्थापन गर्ने संवैधानिक व्यवस्थाको समेत विपरीत हुनेगरी भित्र्याउन खोजिएको एकाधिकारवादी प्रणाली स्वीकार्य छैन ।

नेपालको राज्य संयन्त्र र सम्बन्धित मन्त्रालय चनाखो भएर उच्चतम् व्यवस्थापकीय क्षमता प्रदर्शन गरी गन्तव्य मुलुकको दौत्य सम्बन्धसमेतलाई मजबुत बनाउन सक्रिय भूमिका खेल्नुपर्ने देखिन्छ । 

(खत्री प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालका वरिष्ठ उपाध्यक्ष हुन् ।)

ADV

सम्बन्धित खबर