–अपूर्व नेपाल
‘अबको प्रतिस्पर्धा शारीरिक होइन, दिमागको हो । सूचना प्रविधिको युगमा युवाहरूले सीप, दक्षता र नवप्रवर्तनमार्फत मात्र विश्वसँग प्रतिस्पर्धा गर्न सक्छन् ।’
गगन थापाको यो भनाइले सूचना प्रविधिको युगमा नेपाली युवाहरूको भविष्यबारे गहिरो सन्देश दिन्छ । आजको दिनमा सूचना प्रविधि केवल एउटा पेसा होइन, यो जीवनशैली, सोच र समृद्धितर्फको यात्राको माध्यम बन्न थालेको छ । विश्व आर्थिक संरचनामा तीव्र गतिमा भइरहेको रूपान्तरण, चौथो औद्योगिक क्रान्तिको प्रभाव र डिजिटल कारोबारको बढ्दो चलनले सूचना प्रविधिलाई युवाहरूको भविष्य निर्माणको केन्द्रमा ल्याएको छ ।
नेपाल जस्तो विकासोन्मुख देशमा ठूलो संख्यामा रहेको युवा जनसंख्यालाई रोजगारी, सीप र अवसरका माध्यमबाट सक्रिय रूपमा अर्थतन्त्रमा सहभागी गराउनु चुनौती र सम्भावनाको विषय हो । यी दुवै सन्दर्भमा सूचना प्रविधि एक उपयुक्त प्लेटफर्म बनेको छ किनकि सूचना प्रविधिमा भौगोलिक बाधा हुँदैन, समयको सीमा खुकुलो हुन्छ र सिर्जनशीलताका आधारमा अवसर आफैं सिर्जना गर्न सकिन्छ ।
नेपालका युवाहरूमा सूचना प्रविधिप्रति रुचि बढ्दो छ । पछिल्ला वर्षहरूमा वेब डेभलपमेन्ट, मोबाइल एप निर्माण, कृत्रिम बुद्धिमत्ता (एआई), ब्लकचेन, डेटा एनालिटिक्स, साइबर सुरक्षा, डिजिटल मार्केटिङ र ग्राफिक्स डिजाइन जस्ता क्षेत्रहरूमा युवा पुस्ता आकर्षित भइरहेका छन् ।
यिनै सीपको भरमा विश्वभर रहेका ‘आउटसोर्सिङ’ तथा ‘फ्रिलान्सिङ’ प्लेटफर्महरूमा नेपाली युवाहरूले आफ्नो पहिचान बनाउँदै लगेका छन् । देशभित्रै बसेर पनि विदेशी मुद्रा आर्जन गर्ने यी उपायहरूले वैदेशिक रोजगारीको वैकल्पिक मोडलको संकेत दिइरहेका छन् ।
सूचना प्रविधिका कारण उद्यमशीलता पनि सरल बनेको छ । विगतमा व्यवसाय संचालन गर्न ठूला संरचना, पुँजी र भौतिक पूर्वाधारको आवश्यकता पथ्र्यो तर आज एक ल्यापटप र इन्टरनेटको माध्यमबाट पनि अन्तर्राष्ट्रिय स्तरको व्यवसाय संचालन गर्न सकिन्छ । धेरै नेपाली युवाहरूले टेक स्टार्टअपको माध्यमबाट आफ्ना उत्पादन तथा सेवाहरू बजारमा ल्याएका छन् । केही सफल उदाहरणहरूले नयाँ पुस्तामा आत्मविश्वास जगाएका छन् ।
युवाहरूका लागि सूचना प्रविधिको अर्को महत्त्वपूर्ण पक्ष भनेको ज्ञान, जानकारी र शिक्षाको पहुँचमा भएको क्रान्तिकारी सुधार हो । अनलाइन कोर्सहरू, युट्युब ट्युटोरियल, ओपन सफ्टवेयर, डिजिटल लाइब्रेरी र विविध फोरमहरूले सिक्ने वातावरण अभूतपूर्व रूपमा बढाएका छन् । यसले गाउँ–शहर, धनी–गरिबबीचको शैक्षिक दुरी घटाउने काम गरेको छ ।
सम्भावना सँगसँगै यो क्षेत्रमा चुनौतीहरू पनि कम छैनन् । प्राविधिक शिक्षाको गुणस्तर, सीप विकासका कार्यक्रमहरूको पहुँच र सरकारी नीतिको स्पष्टता अझै पनि कमजोर छन् । धेरै युवा प्रविधिमा रुचि राख्छन् तर तालिम, मार्गदर्शन र अवसर नपाएर निराश हुने अवस्था पनि उत्तिकै छ । सूचना प्रविधि केन्द्रित पाठ्यक्रमहरू अधिकांश निजी संस्थानमा सीमित छन्, जुन सबैका लागि पहुँचयोग्य छैनन् । यसै कारण दक्ष जनशक्ति निर्माणमा गति आउन सकेको छैन ।
त्यसैगरी, डिजिटल पूर्वाधारको असमान विकासले पनि सूचना प्रविधिको लाभ देशव्यापी रूपमा पुग्न दिएको छैन । दूरदराजका गाउँहरूमा इन्टरनेट, विद्युतीय उपकरण र प्रविधिमा आधारित सिकाइका सामग्रीहरू अझै दुर्लभ छन् । सूचना प्रविधिमा युवाहरूको भविष्य उज्यालो बनाउन सरकारले नीति, लगानी र सहजीकरणका माध्यमबाट वातावरण निर्माण गर्नु अपरिहार्य छ ।
नीति निर्माण तहमा सूचना प्रविधिलाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्ने आवश्यकता छ । विद्यालयदेखि विश्वविद्यालयसम्म प्राविधिक शिक्षा अनिवार्य बनाउन सकिन्छ । साथै, सीप विकास कार्यक्रम, इनोभेसन ल्याब, स्टार्टअप अनुदान, कर सहुलियत र प्राविधिक अनुदान जस्ता उपायहरूमार्फत युवालाई प्रविधिमा लाग्न प्रोत्साहन दिन सकिन्छ ।
नेपालले सूचना प्रविधिमा अगाडि बढ्नका लागि वैदेशिक लगानी र सहकार्य पनि बढाउनुपर्छ । अन्तर्राष्ट्रिय प्रविधि कम्पनीहरूसँग सहकार्य गरी नेपालमा ‘आउटसोर्सिङ हब’ निर्माण गर्न सकिन्छ । यसले हजारौं युवालाई रोजगारी दिन सक्ने सम्भावना राख्छ ।
युवाहरूले पनि रोजगारी खोज्ने सोचमा सीमित नरही नवप्रवर्तन, अनुसन्धान र समस्या समाधानमा केन्द्रित हुनुपर्छ । प्रविधिको उपयोगले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, प्रशासन, यातायात जस्ता परम्परागत क्षेत्रहरूमा समेत क्रान्तिकारी सुधार ल्याउन सकिन्छ ।
सूचना प्रविधिमा नेपाली युवाहरूको भविष्य केवल सम्भावनाको कुरा होइन, यो अब राष्ट्रको आवश्यकता बनिसकेको छ । विश्वव्यापी प्रतिस्पर्धा र डिजिटल अर्थतन्त्रको दबाबबीच नेपाललाई आर्थिक र सामाजिक रूपमा उकास्न सूचना प्रविधिमा आधारित युवा शक्ति अपरिहार्य छ ।
गगन थापाको भनाइले देखाएको जस्तै अबको प्रतिस्पर्धा दिमागको हो । त्यसैले, सूचना प्रविधिमा हाम्रा युवालाई सक्षम बनाउने आजको रणनीति, भोलिको समृद्धि हो । प्रविधिमा हिजो चासो थियो, आज आवश्यकता छ र भोलिको नेतृत्व पनि प्रविधिको हातमा हुने छ भन्ने कुरा बुझेर अगाडि बढ्नु नै सबैका लागि हितकर हुने छ ।