–जीवन शर्मा
पर्यावरण भनेको हाम्रो वरपरको वातावरण हो । पृथ्वीमा मानव वा जीवजन्तु जिउनलायक परिवेश वा वातावरणीय अवस्थालाई पर्यावरण भनिन्छ ।
अहिले विश्व पर्यावरण विनाशको प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ । यसले मानव मात्र होइन, सिंगो जीव जगत्लाई नै संकटमा पार्दै लगेको छ । अहिले ग्लोबल वार्मिङको चर्चा खुब हुँदै आएको छ । यसका बारेमा संयुक्त राष्ट्रसंघदेखि विभिन्न फोरममा छलफल र रोकथामका बारेमा बहस हुने गरेको छ ।
पर्यावरण संरक्षणको क्षेत्रमा धनीदेखि गरिब देशहरूले आ–आफ्नो हैसियतअनुसारको बजेट छुट्ट्याउने कार्य पनि गरिरहेका छन् तर पनि ती सबै औपचारिकतामा सीमित छन् । पर्यावरण विनाशको मूल कारण के हो ? भन्ने कुराको जरो कुरामा नपुगी गरिने औपचारिक कार्यक्रमले मात्र यसको समाधान दिन सक्दैन । तसर्थ, यसको मूल समस्या र समाधानका बारेमा वैज्ञानिक समाधान दिन जरुरी छ ।
पर्यावरण र पुँजीवाद पर्यावरण विनाश वा संरक्षणमा विश्व राजनीतिक समाज व्यवस्थामा भर पर्छ । अहिले जुन गतिमा पर्यावरण विनाश भइरहेको छ, त्यसको मूल कारण भनेको पुँजीवादी विश्व व्यवस्था हो । पुँजीवादी विश्व व्यवस्था अहिले भूमण्डलीकृत साम्राज्यवादी चरणमा छ ।
पुँजीवादको मूल चरित्र र विशेषता भनेको जसरी हुन्छ, छिटोभन्दा छिटो नाफा कमाउनु हुन्छ । त्यो नाफा पनि समाजका लागि होइन, व्यक्तिका लागि केन्द्रीकृत गरिन्छ । पुँजीवादी र पुँजीपतिहरूले मानव श्रमलाई शोषण गरेर जति सक्दो छिटो प्राकृतिक स्रोतलाई दोहन गरेर नाफा कमाउँछन् । त्यसका लागि पुँजीवादी समाज व्यवस्थाले उनीहरूलाई सुविधा उपलब्ध गराएको हुन्छ ।
नियम तथा कानुनमार्फत सम्पूर्ण अधिकार प्रदान गरेको हुन्छ । जस्तो कि अहिले खोलानालाको गिट्टी, बालुवा, वनजंगल, खनिज पदार्थ, कलकारखानालगायतमा लगानी र फाइदाको सम्पूर्ण एकाधिकार तिनै पुँजीपति र उनका एजेन्टहरूलाई दिइएको छ ।
ठेकेदार र ठेकेदार कम्पनीले कहिल्यै पनि प्राकृतिक स्रोत भावी सन्ततिलाई भनेर छाड्दैन बरु जतिसक्दो आजै सकेर भए पनि नाफा कमाउन चाहन्छ । आज पर्यावरण विनाशको मूल कारण यही बनेको छ । आज विकसित भनिएका धनी देशहरूले आफ्नो देशमा पर्यावरण विनाश गरेर विकास गरिरहेका छन् तर विकासोन्मुख देशहरूमा पर्यावरण संरक्षण गर्ने नाममा विकास अवरुद्ध गरिरहेका छन् ।
उनीहरूले कमजोर देशबाट कच्चा पदार्थको दोहन गर्ने र आफ्नो देशमा समृद्धि हासिल गर्ने नयाँ रणनीति लिएका छन् । अझ त्यसमा पनि मानव स्वास्थ्यका लागि हानिकारक युरेनियम जस्ता धातुको उत्खनन आफ्नो देशमा होइन, गरिब देशहरूमा गर्ने रणनीति लिएका छन् ।
अहिले जति पनि जथाभावी पर्यावरण विनाशको मूल कारण नै पुँजीवादी विश्व व्यवस्था रहेको छ । महान वैज्ञानिक स्टेफेन हकिङले पनि मर्नुभन्दा पहिले पुँजीवादी व्यवस्थाका कारण पृथ्वीको आयु ६०० वर्ष मात्र हुने चेतावनी दिएका छन् ।
पृथ्वीमा भएका अनेकौं तत्त्वहरूमध्ये कुनै एकको घटी वा बढीले समग्रलाई प्रभाव पार्छ । अझ भन्ने हो भने, अन्य प्राणी, वनस्पति तथा समग्रमा मानव जातिको अस्तित्वमा समेत प्रश्न चिह्न खडा गर्न सक्छ । त्यस कारण पृथ्वीमा भएका विविध तत्त्वको अन्तरनिर्भताका कारण नै मानव जातिले पर्यावरणको बनावट र संरक्षणका लागि चिन्तित हुनुपर्ने अवस्था देखापरेको छ ।
पर्यावरणमा देखिने असन्तुलनले मानिसका आर्थिक, सामाजिक, जैविकलगायतका समग्र क्रियाकलाप प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित हुन्छन् ।
आजको संसारमा राजनीतिक, वैचारिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, गरिबी, द्वन्द्वलगायत अनेकौं संकटका तारजाली हामीलाई रोक्न अघिल्तिर तेर्सिएका छन् । तिनलाई पन्छाउँदै अघि बढ्ने क्रममा हामीले सबैभन्दा पहिले पन्छाउनुपर्ने भनेकै पर्यावरणीय संकटको जालो हो ।
हाम्रो साझा पृथ्वी र पर्यावरण नै रहेन भने हामीले अन्य संकटहरू कहाँ गएर पन्छाउने छौं ? त्यसैले, आजको पहिलो र अन्तिम प्रश्न नै हाम्रो पर्यावरण युवा पुस्ताले जोगाउँछ ? भन्ने हो ।