१०औं राष्ट्रिय महाधिवेशनबाट नेकपा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा सर्वसम्मत निर्वाचित गणेश पाण्डे पत्रकारको श्रम अधिकार सुनिश्चित गर्ने विषयमा चैतारी प्रतिबद्ध रहेको बताउँछन् । प्रेस चौतारी स्वतन्त्र, मर्यादित र उत्तरदायी पत्रकारिताको पक्षमा रहेको बताउने उनी मिडियालाई दिगो, जिम्मेवार र सत्यतामा आधारित बनाउन आफूहरू लागि परेको बताउँछन् । प्रस्तुत छ समग्र पत्रकारिता क्षेत्रका विषयमा प्रेस चैतारी नेपालका अध्यक्ष गणेश पाण्डेसँग मध्यान्ह दैनिकले गरेको कुराकानीको सम्पादित अंश :
पछिल्लो समयको मिडिया ट्रेन्डलाई प्रेस चौतारी नेपाल कसरी हेर्छ ?
नेपालको मिडिया तीव्र रूपान्तरणको चरणमा छ । प्रविधिको विकाससँगै पत्रकारिता डिजिटल माध्यममा गइसकेको छ, जुन सकारात्मक संकेत हो । सूचनाको पहुँच बढेको छ, आवाज दिने माध्यमहरू विस्तार भएका छन् । तर यहीसँगै समस्या पनि देखिएको छ– सूचनाको विश्वसनीयता, स्रोतको प्रमाणीकरण, पत्रकारिताको आचारसंहितामा कमजोरी र सामाजिक सञ्जालमा फैलिने अफवाहको प्रभाव ।
हामी यो मान्छौं कि मिडिया अब छिटो हो, तर गहिरो छैन । गहिराइको पत्रकारिता, अनुसन्धानमूलक र समावेशी दृष्टिकोणको खाँचो अझै छ । कतिपय मिडिया हेडलाइन पत्रकारितामै सीमित छन् । प्रेस चौतारी नेपाल यस्तो ट्रेन्डप्रति चिन्तित छ र मिडियालाई दिगो, जिम्मेवार र सत्यतामा आधारित बनाउन लागि परेको छ ।
हाल प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सामाजिक सञ्जालमा व्यापक ट्रोल, व्यंग्य र आलोचना भइरहेको छ । प्रेस चौतारी नेपालको दृष्टिकोण के हो ?
हामी लोकतन्त्रमा विश्वास राख्छौं । जसले आलोचनाको अधिकार दिन्छ । तर आलोचना र चरित्र हत्याबीचको सिमाना छुट्याउन आवश्यक हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भइरहेका ट्रोलहरूमध्ये केही सन्दर्भमा पत्रकारिताको मर्यादा नाघिएको देखिन्छ । स्वतन्त्रता कुनै पनि हालतमा गालीगलौज र अपमानमा बदलिनु हुँदैन ।
प्रेस चौतारी नेपाल यो मान्दछ कि सत्ता समीक्षाको अधिकार मिडियासँग हुन्छ, तर त्यसको भाषा, प्रस्तुति र उद्देश्य लोकतान्त्रिक, तथ्यगत र मर्यादित हुनुपर्छ । ट्रोल संस्कृति मिडियाको होइन, भीडको मनोविज्ञान हो । पत्रकारिताले त्यो बाटो पछ्याउनु हुँदैन ।
समग्र मिडिया क्षेत्रको अवस्था र संरचनागत चुनौतीहरू के छन् ?
नेपालको मिडिया संरचना बाहिरीरूपमा बलियो देखिए पनि भित्रैबाट अझै संस्थागत कमजोरीले ग्रसित छ । श्रमिक पत्रकारहरूको अवस्था अझै जटिल छ– स्थायित्व छैन, पारिश्रमिक न्यून छ, सुरक्षित वातावरण छैन । मिडियाको स्वतन्त्रता भनेको केबल राज्यविरुद्ध आवाज उठाउनु मात्र होइन, आन्तरिक संरचना सुधार गर्नु पनि हो ।
मिडिया व्यवसायलाई मात्र होइन, सेवामूलक संस्थाको रूपमा पनि हेर्नुपर्छ । आज पत्रकार केबल खबर बनाउने मात्रै होइन, विज्ञापन ल्याउने, भिडियो काट्ने, थम्बनेल बनाउने र ‘हिट्स’ गन्ने चक्रमा फसेका छन् । यस्तो अवस्थामा गहिरो पत्रकारिता सम्भव छैन । प्रेस चौतारीले यिनै विषयहरूलाई उठाउँदै श्रम ऐन, पत्रकार आचारसंहिता, सामाजिक सुरक्षा कोषमा सहभागिता र न्यूनतम पारिश्रमिक निर्धारणमा आवाज उठाउँदै आएको छ ।
प्रेस चौतारी नेपालको राष्ट्रिय नेतृत्वमा आएको नयाँ टिमको प्राथमिकता के हो ?
हामीले १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेका छौं । यो महाधिवेशनले हामीलाई नयाँ दिशा र दायित्व दिएको छ । अबको हाम्रो प्राथमिकता छनः
१. पत्रकारको श्रम अधिकार सुनिश्चित– स्थायी नियुक्ति, सामाजिक सुरक्षा, पारिश्रमिक सुनिश्चितता ।
२. सुरक्षाको प्रत्याभूति– पत्रकारमाथि हुने आक्रमण, धम्की र मानसिक हिंसाबाट रक्षा ।
३. नैतिक पत्रकारिताको प्रवर्धन– अनलाइन पत्रकारिता र सामाजिक सञ्जालमा पनि आचारसंहिता लागू गर्ने पहल ।
४. अन्तर्राष्ट्रिय समन्वय विस्तार– आईएफजे (इन्टरनेशनल फेडेरेसन अफ जर्नालिस्ट)को सदस्यता लिनु र अन्तर्राष्ट्रिय सहयोग विस्तार गर्नु ।
५. प्रशिक्षण र सशक्तिकरण– सातै प्रदेश र ७७ जिल्लामा पत्रकार प्रशिक्षण, नेतृत्व विकास र डिजिटल साक्षरता अभियान ।
राष्ट्र निर्माणमा मिडियाको भूमिका कस्तो देख्नुहुन्छ ?
मिडिया भनेको केबल सूचना दिने यन्त्र होइन, विचार निर्माण गर्ने शक्तिशाली संस्थान हो । राष्ट्रले मिडियाबाट आत्मा देख्छ । मिडिया निष्पक्ष र विवेकशील भए मात्र समाजले न्याय पाउँछ । पत्रकारिता विकासको साक्षी मात्र होइन, मार्गदर्शक पनि हो । त्यसैले, मिडियाको भूमिकालाई जिम्मेवारीसाथ पुर्याउनु हाम्रो सबैको साझा दायित्व हो ।
अन्त्यमा के भन्न चाहानुहुन्छ ?
प्रेस चौतारी नेपाल २७ वर्षदेखि मिडिया अधिकार, श्रम सुरक्षाका लागि क्रियाशील रहँदै आएको संस्था हो । हामी पत्रकारिता स्वतन्त्रताका पक्षमा छौं, तर त्यो स्वतन्त्रता जिम्मेवारी र मर्यादासँग बाँधिएको हुनुपर्छ । आजको चुनौतीहरू सामना गर्न हामी सबैले एकजुट भएर विवेकका साथ न्याय र तथ्यको पक्षमा उभिनुपर्छ ।