२०८२ जेठ ३ गते शनिवार / May 17 , 2025 , Saturday
२०८२ जेठ ३ गते शनिवार
Ads

गठबन्धन टुटाउन ‘प्रचण्ड’ कसरत

जीवन शर्मा
२०८२ जेठ ३ गते ०६:५०
गठबन्धन टुटाउन ‘प्रचण्ड’ कसरत

काठमाडौं : सरकारको प्रमुख सहयात्री दल नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई रिझाएर सत्ता परिवर्तनको खेलमा परिणाम निकाल्ने प्रयत्नमा लागेको प्रमुख प्रतिपक्षी दल नेकपा (मओवादी केन्द्र)ले अनेक तिकडम गरिरहेको छ ।

विगत १० महिनादेखि सत्ताको प्यास लागेको माओवादी केन्द्र कुनै हालतमा वर्तमान सरकार गिराएर आफू सत्तामा पुग्ने रणनीतिअन्तर्गत निरन्तर देउवा रिझाउन लागिपरेको हो ।  

तर, सभापति देउवाले यसअघि नै यही गठबन्धन सरकारलाई अझ बलियो बनाउँदै अघि बढ्ने प्रस्ट पारिसकेका छन् । उनले अहिले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको समर्थनबाट पछि नहट्ने प्रचण्डलाई भनिसके पनि माओवादी केन्द्रका केही नेता तथा सांसदहरू अझै देउवालाई गलाउने लाइनमा छन् । यद्यपि, देउवा अहिले नै एमालेलाई दिएको समर्थन फिर्ता गर्ने अवस्थामा छैनन् ।  

यसैको वरिपरि घुमेका उक्त दलका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कसरी हुन्छ, पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवालाई रिझाउन चाहन्छन् । त्यसैअनुरूप शुक्रबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवाको गृह जिल्ला डडेल्धुरा पुगेर देउवासँग टेलिफोन संवाद गरेका थिए । उक्त संवादलगत्तै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा देउवा निवास बूढानीलकण्ठ पुगेर भेटवार्ता गरेका छन् ।  

उपमहासचिव शर्माले कांग्रेस सभाति देउवासँग शुक्रबार दिउँसो निवासमै पुगेर भेटघाट गरेका सामाजिक संजालमार्फत जानकारी दिए । ‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल’, उनले सामाजिक संजालमार्फत सार्वजनीक गरेका छन् ।

देउवा र जनार्दनबीच भएको भेटको तस्बिरलाई माओवादी केन्द्रका कार्यकर्ताहरूले सामाजिक संजालमा पोस्ट गर्दै ओली नेतृत्वको सरकार ढल्ने संकेत भनेका छन् । शर्मा देउवा प्रधानमन्त्री हुँदा उनको क्याबिनेटमा अर्थमन्त्री थिए । 

१७ असार २०८१ मा संसद्का प्रमुख २ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमतिलाई कार्यान्वयन गर्दै बनेको वर्तमान सरकारले स्थिरता, सुशासन र विकासकाको नारालाई व्यवहारमा ल्याउन नसकेको आमटिप्पणी भइरहेको छ ।

‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’का लागि डडेल्धुरा पुगेका प्रचण्डले फोनमा कुरा गरेर देउवाको मन जित्ने प्रयास गरेका छन् ।

‘यो अब शेरबहादुर देउवाजीको जिल्ला भनेर पनि चिनिन्छ, देउवाजीसँग पनि सम्पर्क भयो र उहाँले पनि मेरो जिल्लामा स्वागत भन्नुभयो । डडेल्धुरामा स्वागत भन्नुभएको छ’, प्रचण्डले शुक्रबार डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए ।

यसअघि १५ मंसिर २०८० मा नेकपा एमालेका अध्यक्ष  एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेल्धुरा पुगेका बेला फोनवार्ता गरेका थिए । मेची–महाकाली अभियानको सिलसिलामा डडेल्धुरा पुगेका ओलीले देउवासँग फोनवार्ता गरेका थिए ।

त्यतिबेला एमाले प्रमुख प्रतिपक्षी दल थियो भने अहिले माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दल छ । सोही टेलिफोन संवादबाट देउवा–ओली निकट हुँदै अन्ततः सत्ता समीकरणसम्म पुगेको थियो ।

सोही नजिरलाई स्थापित गर्न प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र लागिपरेको देखिन्छ । यद्यपि, अहिले नै सरकार ढलिहाल्ने अवस्था नरहेको राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउँछन् ।

‘एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच भएको सहमति कार्यान्वयन भएर जाने अवस्था आए यो गठबन्धन अझै केही हुँदैन । प्रधानमन्त्री ओलीले १४ महिनापछि शेरबहादुरजीलाई प्रधानमन्त्री किस्तीमा राखेर दिन्छु भन्नुभएको र देउवा पनि बचनमा पक्का भएकाले अहिले नै ओलीसँगको सहकार्य टुटाउने पक्षमा हुनुहुन्न’, आचार्यले भने ।

प्रधानमन्त्री ओलीले यसअघि जस्तै फेरि धोका दिएर शेरबहादुर देउवालाई जिम्मा लगाउने भनेको प्रधानमन्त्री पदमा दायाँबायाँ हुने अवस्था देखिए स्वाभाविक रूपमा गठबन्धन परिवर्तन हुने उनको विश्लेषण छ ।

नयाँ सत्ता समीकरणदेखि नै सरकार ढलिहाल्छ भन्दै हिँडेका पूर्वप्रधानमन्त्री प्रचण्डले १० महिनासम्म प्रयास गर्दा पनि सरकारमा सम्मिलित दलबीच खासै खटपट देखिएको छैन । सरकारका गतिविधि सच्याउनुपर्छ भन्दै प्रमुख साझेदार दल नेपाली कांग्रेसका नेताहरूले सार्वजनिक अभिव्यक्तिलाई बलियो बनाएका छन् तर उनीहरूको आशय सत्ता गठबन्धनको काँध फेर्ने नभएको नेपाली कांग्रेसकै नेताहरूले बताउँदै आएका छन् । 

पार्टी सरकारमा सहभागी भए पनि आगामी निर्वाचनमा कांग्रेसको मुख्य प्रतिस्पर्धा एमालेसँग नै हुने भएकाले सरकारमा सहभागी नभएका पार्टीका नेताहरूले आफ्नो संगठन बलियो बनाउने अभियानअन्तर्गत सरकारका कमजोरीलाई औंल्याउँदै पार्टीका नेताहरूलाई सच्चिएर जान दबाब दिनु जरुरी रहेको नेपाली कांग्रेसका नेता एनपी साउदले बताए । तर, सत्ता सहयात्री नै परिवर्तन गर्नुपर्छ भन्ने कोणबाट आफुूहरूले कुरा नगरेको उनको दाबी छ ।

प्रधानमन्त्री ओली स्वयं पनि देउवाको ढाडसप्रति पूर्ण विश्वस्त भएर प्रतिपक्षीहरूको चलखेललाई तीखो प्रहार गर्दै आएका छन् ।

ADV

सम्बन्धित खबर