काठमाडौं : संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा ३ वटा गुट देखिन थालेका छन् । पार्टी स्थापनादेखि नै ३ जना नेताबीच फरक दृष्टिकोणसहितको समन्वयात्मक अभ्यास गर्दै आएको कांग्रेसमा केही वर्षदेखि २ वटा बलियो गुट देखिँदै आएको कांग्रेसमा अहिले ३ गुटबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
हुनत पार्टी स्थापनाताका नै बीपी, सुवर्णशम्शेर र मातृकाप्रसाद कोइरालाबीच फरक–फरक गुट थिए । स्थापनाकालदेखि नै विभिन्न गुटबीच द्वन्द्व र मिलनलाई सँगसँगै लिएर आएको कांग्रेसको राजनीतिक जीवनमा १४ वटा महाधिवेशन भइसकेका छन् ।
१५औं महाधिवेशनको पूर्वसन्ध्यामा रहेको कांग्रेसमा गत महाधिवेशनमा ५ जना सभापति लडे पनि २ वटा मात्र गुट सशक्त थिए । १४औं महाधिवेशनमा संस्थापन गुटबाट शेरबहादुर देउवा र संस्थापनइतर गुटको नेतृत्व डा. शेखर कोइरालाले गरेका थिए ।
प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ पनि सभापतिमा उठेका थिए । यीमध्ये कोइरालाबाहेक सबै नेताहरू देउवा निकट थिए ।
१३औं महाधिवेशनमा देउवा क्याम्प छाडेका प्रकाशमा सिंह नेता रामचन्द्र पौडेल निकट मानिए पनि अन्ततः सबै नेताहरूले देउवालाई समर्थन गरेर सभापति बनाएका थिए ।
नेपाली कांग्रेसको विधानबमोजिम केन्द्रीय समितिको कार्यकाल ४ वर्षको छ । सो समय २०८२ मंसिरमा सकिँदै छ । यद्यपि, कांग्रेसमा १५औं महाधिवेशनको सुरसार छैन । तर, नेताहरूले भने महाधिवेशनमा कसरी भिड्ने भनेर आफ्नो तयारीलाई तीव्रता दिन थालेका छन् । सोहीअनुरूप नेताहरूको देशव्यापी दौडधुपले ३ वटा गुटमा विभाजित भएको देखिन थालेको हो ।
१४औं महाधिवेशनमा देउवालाई अर्को गुटबाट काउन्टर दिन डा. शेखर कोइराला सभापतिमा र गगन थापा महामन्त्रीमा उम्मेदवार हुँदा शेखर सभापतिमा पराजित भए तर महामन्त्रीमा देउवा गुटका नेताहरूलाई हराउँदै युवा नेता गगन थापाले सहजै जित हासिल गर्न सके ।
पार्टीको काममा सभापतिलाई सबैभन्दा नजिकबाट सहयोग गर्ने कार्यकारी पदाधिकारी महामन्त्री आफ्नो टिमबाट नहुँदा देउवालाई सुरुमा अप्ठ्यारो परे पनि बिस्तारै गगन थापा देउवाका लागि सहज हुन थालेका थिए । फेरि उनी यतिबेला देउवासँग त्यति नजिक छैनन् ।
उसो त थापा आफ्नै गुटका नेता कोइरालासँगसमेत नजिक छैनन् । थापाले छुट्टै गुट निर्माण गरेर जाने उनी निकटका नेताहरूले बताएका छन् ।
गत संसदीय दलको निर्वाचनमा शेखर–गगन गुटबाट शेरबहादुर देउवासँग चुनाव लडेका गगन दलको चुनावपछि नेता कोइरालासँग बिस्तारै टाढिँदै गएका हुन् ।
कोइराला–थापा गुटका ३२ मतमध्ये गगनलाई २५ भोट मात्र आएपछि उनी सशंकित हुँदै आफ्नो छुट्टै गुट निर्माण लागेका छन् । यतिबेला एउटा गुटको नेतृत्व सभापति देउवाले गर्दै छन् भने अर्को गुटको नेतृत्व डा. शेखर कोइरालाले गरेका छन् ।
आफ्नो छुट्टै गुट बनाउन लागिपरेका गगन थापाले पनि देशभरका युवा नेताहरूबीच सहकार्यको हात फैलाएका छन् । सोहीअनुसार उनी पार्टीको महामन्त्रीको हैसियतमा देश दौडाहामा छन् । शेखर गुटले पनि आफ्नो तरिकाले निरन्तर कार्यक्रमहरू गर्दै आएका छन् ।
१५औं महाधिवेशनमा संस्थापन गुटबाट वर्तमान सभापति शेरबहादुर देउवा चुनाव लड्न नपाउने भए पनि सो गुटबाट को उम्मेदवार बन्ने भन्ने देउवाले छलफल गराएका छैनन् । तर, शेखर र गगन १५औं महाधिवेशनमा सभापतिका पक्का दाबेदार हुन् । देउवाले आफ्नो गुटबाट उम्मेदवार उठाउँदा सभापति जित्नेगरी लाग्नुपर्ने बाध्यता पनि छ । यसरी हेर्दा आगामी महाधिवेशनका लागि नेपाली कांग्रेसमा ३ गुटबीच बलियो भिडन्त हुने पक्का भएको छ ।
देउवालाई ६ नेताको दबाब
यसैबीच पार्टीको १५औं महाधिवेशन समयमा गर्न दबाब बढाउने नाममा ६ जना नेताहरूको बैठक बसेको छ । देउवा गुटमा रहेका कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र डा. प्रकाशशरण महतबीच भएको छलफलमा आफ्नो गुटबाट आगामी १५औं महाधिवेशनको नेतृत्वका लागिको तयार हुने भन्ने नै थियो ।
देउवा फेरि सभापति हुन विधानले नदिने भए पनि उनले आफ्नो उम्मेदवार समयमै तयार गरेर महाधिवेशनको तयारीमा लाग्नुपर्ने नेताहरूले देउवालाई दबाब दिएका छन् । यसअघि २ फागुनमा सिटौलासहितका ११ नेताले सभापति शेरबहादुर देउवालाई भेट्दै भावी सभापतिको उम्मेदवार तोकिदिन माग गरेका थिए ।
त्यसपछि निधि, शशांक र सिंहको आयोजनामा नेताहरू पटक–पटक छलफल गर्दै आएका छन् । सुरुमा जोडिएका ३ नेताबाट अहिले यो समूहमा ७ नेता पुगेका छन् । देउवाका विश्वासपात्र नेता महत पछिल्लो पटक थपिएका हुन् । खड्कासमेत मिसिने तयारीमा छन् । देउवाले आफूहरूलाई छाडेर डा. शेखर कोइराला र महामन्त्री गगन थापालाई रोज्छन् कि भन्ने चिन्ता यी नेताहरूलाई छ ।
आइतबारको छलफल पूर्वउपसभापति गोपालमान श्रेष्ठको अगुवाइमा उनकै छोराको निवास सानेपामा बोलाइएको थियो ।
यस्तो छ देउवा रणनीति
पूर्वसभापति गिरिजाप्रसाद कोइराला बाँचुञ्जेल त्यसबेलाको संस्थापन गुटले पार्टी कब्जा जस्तै गरेको थियो । तर, सुशील कोइराला कांग्रेसको नेतृत्वमा आएयता देउवा गुटले मिच्दै अन्ततः पार्टीमा एकलौटी निर्णय गर्न सक्ने अवस्थामा पुर्याएका छन् ।
गिरिजाप्रसादको निधनपछि देउवाले तत्कालीन संस्थापन गुटलाई तितरबितर बनाएका हुन् । १३औं महाधिवेशनमा संस्थापन गुटका नेता रामचन्द्र पौडेललाई सभापतिमा हराउन देउवाले कृष्णप्रसाद सिटौलालाई आफूतिर ल्याएका थिए भने १४औं महाधिवेशनमा शेखरलाई हराउन शशांक, प्रकाशमान र सुजाता कोइरालालाई आफ्नो पक्षमा प्रयोग गर्न भ्याए ।
त्यति मात्र होइन, रामचन्द्र पौडेललाई समेत चुप लाग्ने बनाएका देउवाले आगामी महाधिवेशनमा आफ्नो गुटलाई मिलाएर एक ढिक्का बनाउन भने त्यतिकै चुनौती रहेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
यद्यपि, देउवा, शेखर र गगनबीचको ‘टसल’लाई अझ उचाइमा पु¥याएर मिल्न नदिने र आफ्नो पक्षबाट सभापति जिताउन दुवै पक्षको मौन समर्थन जुटाउने प्रयत्नमा छन् ।