काठमाडौं : नेपालमा सरदर समयभन्दा १५ दिनअगावै सुरू भएको मनसुनले नागरिकलाई वर्षासँगै बाढी पहिरोको त्रास बढाएको छ । बिहीबार रातिबाट नेपालको पूर्वी क्षेत्रहुँदै प्रवेश गरेको मनसुन कोशी प्रदेशमा फैलिएको र त्यसको २४ घण्टामै पूर्वका विभिन्न स्थानमा बाढीले बितण्डा मच्याएपछि नदी तटीय क्षेत्रका नागरिकमा त्रासदी बढेको हो ।
बंगालको खाडी, दक्षिण भारतको केरला, श्रीलंका, माल्दिभ्स आसपासको क्षेत्र हुँदै मनसुन नेपालतर्फ सोझिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा १९ जेठबाट मनसुन शुरू हुने प्रक्षेपण गरिएपनि त्यसको ३ दिन अगावै कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड बाढीले क्षति पुु¥याएको छ ।
जसका कारण धनकुटा हुँदै जाने भोजपुर, संखुुवासभा, ताप्लेजुड, पाँचथरको यातायात ठप्प भएको छ । शनिबार झापामा माईखोलाको बाढीले २२ घर डुबानमा परेका छन ।
विभागका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहितको हल्कादेखि मध्यम वर्षा भइरहेको र केही दिन यसले निरन्तरता पाउने छ । पानी पार्ने प्रणाली अहिले उत्तरतिर सर्दै जाँदा थप पानी पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।
कोशी प्रदेशको झापा, इलाम, मोरङ र सुनसरी भएर बहने कन्काई नदी, बिरिङ खोला, केसलिया खोलालगायतको सतर्कता तहभन्दा माथिको बाढी मापन भएकाले त्यस भेगको नदी तटीय क्षेत्रमा बस्नेहरूले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
वर्षा गराउने बादल पूर्वी नेपालबाट उत्तरतर्फ सरिरहेकाले आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कमला, बागमती, पूर्वीराप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पुर्वानुमान भएपनि बढ्दो पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउनुुपर्ने विभागले जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार शनिबार बिहान परेको अविरल वर्षाका कारण धरान–धनकुटा सडकखण्डको सागुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक लेउती खोलाको बाढीले बगाएको छ ।
पूर्वी नेपालको झापा तथा धरान धनकुटा सडक क्षेत्रमा बाढी पहिरोका घटना भएको र सो क्षेत्रमा उद्धार तथा नागरिकको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरेर विपद् व्यवस्थापनको कार्य भइरहेको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले बताए ।
गत वर्षको २८ जेठदेखि २६ असोजसम्म विपदबाट ४ सय ९४ जनाको मृत्यु, ६६ जना बेपत्ता र ५ सय ३२ जना घाइते भएका थिए । सो अवधीमा १२ लाखभन्दा बढी मानिस प्रभावित भएको विपद प्राधिकरणले जनाएको छ । गत वर्ष २ हजार १ सय ३६ मनसुनजन्य घटना भएका थिए । जसबाट ५ हजार ९ सय ३७ परिवार प्रभावित भएका थिए । मनसुन अवधिमा ९ सय ४३ स्थानमा पहिरो जाँदा ३ सय ४३ जनाको मृत्यु, ४८ जना बेपत्ता, २ सय ७६ जना घाइते र १ हजार ५ सय ६१ परिवार प्रत्यक्ष प्रभावित बनेका थिए । वर्षाका कारण ४ सय ५९ वटा पहिरो, १ सय ४२ वटा बाढी, १ सय ६८ वटा भारी वर्षा र १ सय २३ वटा चट्याङका घटना भएका थिए । ५ सय ३८ स्थानमा भारी वर्षा भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । वर्षाकै कारण जसबाट ९ जनाको मृत्यु भयो भने ३८ जना घाइते भएका थिए । भारी वर्षाबाट १ हजार ८ सय १४ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
औसतभन्दा बढी वर्षा हुने
मौसम विभागका अनुसार यो वर्ष नेपालमा ३५ देखि ६५ प्रतिशत बढी वर्षा हुने अनुमान गरिएको छ । विभागका वरिष्ठ मौसमविद् विभूति पोख्रेलका अनुसार ५५ देखि ६५ प्रतिशत भूभागमा औसतभन्दा बढी वर्षा हुने अनुमान छ भने ३५ देखि ४५ प्रतिशत क्षेत्रमा पनि बढी पानी पर्ने सम्भावना देखिएको छ । नेपालमा ८० प्रतिशत वर्षा मनसुन अवधिमै हुने भएकाले बाढी, पहिरो र डुबानजस्ता प्रकोपका लागि सतर्क रहन विभागका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले आग्रह गरे । ‘१२ महिनामध्ये ४० प्रतिशत प्राकृतिक विपद् मनसुन समयमा हुने भएकाले जोखिम न्यूनीकरणका लागि सबै निकाय सतर्क रहनुपर्छ । समयमै पूर्वतयारी गरे विपद् न्यूनीकरणमा सहयोग पुुग्छ ।’
पूर्वतयारीमा राज्य संयन्त्र
मनसुनजन्य जोखिम न्यूनीकरणका लागि सरकारले पूर्वतयारीका काम गरिरहेको बताएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना बनाएको बताए । विपद् पूर्वतयारी तथा प्रतिकार्य कमान्ड सेन्टर बनाएर तुरुन्तै उद्धार, राहत र पुनःस्थापनामा जुट्ने गरी कार्ययोजना बनाइएको उनले मध्यान्हसँग भने ।
त्यस्तै नेपाली सेनाले मनसुन अवधिभरका लागि उद्धार तथा राहत कार्यमा ३५ हजार जनशक्ति तयारी अवस्थामा राखेको जनाएको छ । ‘हामीले बाढी, पहिरो प्रभावित क्षेत्रमा खटिन सक्ने गरी आवश्यक औजारसहितका टोली र हेलिकोप्टर तयारी अवस्थामा राखेका छौं’, सैनिक प्रवक्ता गौरवकुमार केसीले भने ।
त्यस्तै विपद् पूर्वतयारी तालिमदेखि आपतकालीन उद्धार टोली गठन गरी आवश्यक ठाउँमा खटाउने तयारीमा भइसकेको नेपाल प्रहरीले जनाएको छ । मनसुनजन्य विपद् व्यवस्थापनका लागि ३२ हजार प्रहरी जनशक्ति खटिन सक्ने गरी तयारी गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए । सशस्त्र प्रहरी बलले पनि १५ हजार जनशक्ति र १ हजार ५० थान उद्धार उपकरण तयारी अवस्थामा राखेको जनाएको छ । सशस्त्र प्रहरीले जेठ महिनाभित्र स्थानीय समुदायबाट करिब एक लाख ७० हजार विपद् सूचक रहेको ‘नेटवर्क’तयार गरिरहेको समेत जनाएको छ । मनसुनमा उद्धार, राहत र पुनःस्थापनाका लागि आवश्यक स्रोतसाधनको तयारी र तीनै तहका सरकार तथा सरोकारवाला निकायसँगको समन्वयमा विस्तृत कार्ययोजना बनाउदै गरेको गृहमन्त्रालय श्रोतले जनाएको छ ।
२० लाख प्रभावित हुने आंकलन
जल तथा मौसम विज्ञान विभागले यस वर्ष औसतभन्दा बढी वर्षा हुने भएकाले कम्तीमा २० लाख मानिसहरू प्रभावित हुने अनुमान गरेको छ । सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १ लाख १९ हजार ८३० घरधुरीका ५ लाख २३ हजार ६५६ जना प्रभावित हुने अनुमान गरेको छ । दोस्रो बागमती प्रदेशमा ७४ हजार घरधुरीका ३ लाख २७ हजार ३७६ जना र कोशी प्रदेशका ६३ हजार १२७ घरधुरीका २ लाख ७५ हजार ८६७ जना प्रभावित हुनसक्ने बताइएको छ । त्यस्तै सुदूरपश्चिमको ५२ हजार ११२ घरधुरीका २ लाख २७ हजार ७३० र मधेसका ५२ हजार ३३१ घरधुरीका २ लाख २८ हजार ६८७ र कर्णालीका २९ हजार १३२ घरधुरीका १ लाख २७ हजार ३०८ जना प्रभावित हुने पूर्वानुमा छ । कर्णाली, गण्डकीका अधिकांश र लुम्बिनीको उत्तरी भागमा सरदरभन्दा ६५ प्रतिशतसम्म बढी वर्षा हुने हुने भएकाले प्रभावितको संख्या थप बढ्ने प्राधिकरणको अनुमान छ । अघिल्लो वर्षको मनसुन अवधिमा १,३०३ मिलिमिटर वर्षा भएकोमा यो वर्ष औसत १,४७२ मिलिमिटर पुग्ने अनुमान गरिएको छ ।