– डा. रवीन्द्र पाण्डे
यसपटकको नयाँ प्रजातिको महामारी गत सालको जस्तो सामान्य छैन् । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिबिरा आउने, आँखा रातो हुनेमध्ये केहि लक्षण मिलेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला । यसपटक परिवारमा एकजना संक्रमित भएमा सबै संक्रमित हुने अवस्था छ । तसर्थ कुनै लक्षण देखिएमा आइसोलेसनमा बस्नुहोला । संक्रमणको शंका लागेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला । सहेर वा हेरौं भनेर अलमल नगर्नुहोला । जति छिटो रोग पत्ता लाग्यो, त्यति छिटो उपचार पाउने अवस्था हुन्छ ।
पिसिआर पोजिटिभ आएमा गत साल जस्तो सप्लिमेन्ट (भिटामिन वा इम्युन बुस्टर) खाएर ढुक्क नहुनुहोला । यसपटक छिटो कोभिड निमोनिया हुने भएकोले तुरुन्तै नजिकको कोभिड अस्पतालको फिभर क्लिनिकमा जानुहोला । त्यहाँ चिकित्सकले तपाईँलाई परीक्षण गरेर आवश्यकताअनुसार छातीको एक्स रे, रगतको जाँच तथा सिटि स्क्यान गर्ने सल्लाह दिनुहुन्छ । यदि तपाईँको अवस्था खराब छ भने उहाँहरुले औषधि वा भर्नाको लागि सल्लाह दिनुहुनेछ । उहाँहरुको सल्लाह अक्षरस पालना गर्नुहोला ।
केहि सुझाब
१. लामो समय ज्वरो आयो, खोकी लाग्यो, सास फेर्न गाह्रो भयो, खाना खान गाह्रो भयो वा अक्सिजनको स्तर ९४ भन्दा तल भइरह्यो भने घरमा नबस्नुहोला । यो अवस्थामा तपाईंलाई छातीमा संक्रमण भएको बुझ्न सकिन्छ । जति छिटो अस्पताल पुग्यो त्यति छिटो भर्ना हुन् नपर्ने एवम् सजिलोसँग निको हुने अवस्था हुन्छ ।
२. गत साल संक्रमण भएका वा यो साल खोप लगाएका व्यक्तिलाई संक्रमण हुनसक्छ । प्रजाति फरक भएकोले गाह्रो हुन सक्छ । मैले खोप लगाएको छु वा पोहोरको एन्टिबोडीले काम गर्छ भनेर लापरबाही नगर्नुहोला । अप्ठ्यारो भए तुरुन्त अस्पताल जानुहोला ।
३. बालबालिका तथा युवालाई केहि हुँदैन भनेर घरमा नबस्नुहोला । यसपटक बालबालिका र युवाको संक्रमण दर, गम्भीर हुने दर तथा मृत्युदर गतसालको भन्दा धेरै छ ।
४. अस्पताल जाने बेलासम्म घोप्टो परेर सुत्नु भयो भने अक्सिजनको स्तर केहि बढ्दछ । तसर्थ पेटको बलमा घोप्टो परेर सुत्नुहोला ।
५. अस्पताल प्याक छन् भनेर नआत्तिनुहोला । अस्पताल जाँदैमा सबै भर्ना हुनु पर्दैन । प्याक भएका अस्पतालले अस्पताल बाहिरसमेत अक्सिजन दिएर उपचार गरिरहेका छन् ।
६. चिकित्सकको सल्लाह बिना आफै अक्सिजन लगाएर घरमा नबस्नुहोला । अक्सिजन उपचार हैन । निमोनिया वा अन्य छातीको संक्रमणको औषधि चलाउँदै अक्सिजन लगाउनुपर्छ । अक्सिजनको मात्रा चिकित्सकको सल्लाहअनुसार मात्र थपघट गर्नुपर्छ ।
७. औषधि उपचार प्रत्येक व्यक्तिको फरक हुनसक्छ । एकजनालाई निको भएको औषधिले अर्को व्यक्तिलाई निको नहुन सक्छ । तसर्थ स्वास्थ्यकर्मी बाहेकका व्यक्तिले सिफारिस गरेको औषधि सेवन नगर्नुहोला । कुनै पनि औषधिले कोरोना च्वाट्ट निको हुने वा लाग्न नदिने कुरा गर्छ भने त्यो गलत हो ।
८. प्रतिरोध क्षमता बढाउनको लागि जथाभावी आयुर्बेद औषधि नखानुहोला । सम्बन्धित चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारस अनुसार मात्र आयुर्बेद औषधि सेवन गर्नुहोला । आयुर्बेद औषधिले कोभिड निको हुँदैन । तपाईँको स्टामिना बढाउँछ । यस्तो बेला सबै चिकित्सा पद्दतिको एकीकृत उपचार प्रभावकारी हुन्छ ।
९. यसपटकको संक्रमणले निकै छिटो फोक्सोमा असर गर्ने किसिमको छ । ४–६ घण्टामा निकै बढी असर गर्न सक्छ । तसर्थ भोलि अस्पताल जाउँला भनेर नबस्नुहोला । निको भएका संक्रमितका कुरा सुन्नुहोला ।
१०. कुनैपनि चिकित्सकले औषधि चलाएको बेला पनि भित्रभित्रै असर हुनसक्छ । यो भाइरल संक्रमण भएको हुँदा एन्टिबायोटिकको भर पर्नु हुँदैन । यस्तो अवस्थामा एकपटक छातीको एक्स रे वा सिटि स्क्यान गर्नु सुरक्षित हुन्छ ।
११. अस्पतालमा गम्भीर बिरामीप्रति चिकित्सकको ध्यान बढी हुन्छ, तसर्थ नआत्तिनुहोला ।
१२. उपचारपश्चात पिसिआर नेगेटिभ आएपनि कोभिडले तपाईँका विभिन्न अंगमा असर गरेको हुनसक्छ । चिकित्सकको सल्लाह अनुसार यसको पनि उपचार गरेर स्वास्थ्यलाभ गर्नुपर्ने हुन्छ ।
१३. सरकारले जारी गरेका सुचना, सतर्कता तथा जनस्वास्थ्यका मापदण्ड पालनाबाट हामी संक्रमणबाट बच्नेछौँ । कृपया पटक्कै लापरबाही नगर्नुहोला । हामीले आफु, परिवार तथा समाजलाई संक्रमण हुन् नदिनको लागि सतर्क बनौं । सतर्क भएमा हामी अस्पताल जानु पर्दैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies