२०८२ जेठ २४ गते शनिवार / Jun 07 , 2025 , Saturday
२०८२ जेठ २४ गते शनिवार
Ads

भूमेमा छैटौं गुरिल्ला म्याराथनको तयारी

बालाराम शेर्पाली
२०८२ जेठ २३ गते २०:१९
भूमेमा छैटौं गुरिल्ला म्याराथनको तयारी

रुकुम पूर्व : रुकुम पूर्वको भूमे गाउँपालिका र रोल्पाको थवाङ गाउँपालिकाको संयुक्त आयोजनामा गुरिल्ला अल्ट्रा ट्रेल म्याराथनको छैटौं संस्करण आगामी असार ३ गते आयोजना हुने भएको छ ।

माओवादी सशस्त्र संघर्षका बेला गुरिल्लाहरूले प्रयोग गरेका ऐतिहासिक पदमार्गमा आधारित यो दौड प्रतियोगिताले युद्धका गोरेटोलाई अहिले शान्ति, पहिचान र पर्यटनको मार्गमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ । 

५५ किलोमिटर लामो यो दौड प्रतियोगिता रुकुम पूर्वको महत गाउँबाट सुरु हुनेछ । महत गाउँ तत्कालीन जनयुद्धको प्रारम्भिक केन्द्र मानिन्छ । दौड नइमाकिङ, लाबाङ, हुलबाङ, थोर्बाङ, जलजला, थार्पु, जुर्बाङ जस्ता बस्तीहरू हुँदै रोल्पाको ऐतिहासिक थवाङ गाउँमा पुगेर समाप्त हुनेछ । म्याराथनको मार्गले युद्धकालमा प्रयोग भएका तालिमस्थल, आश्रय केन्द्र र रणनीतिक गाउँहरू समेट्नेछ, जसले प्रतियोगितालाई केवल शारीरिक परीक्षण मात्र नभइ ऐतिहासिक अनुभूतिको यात्राजस्तै बनाउने आयोजकहरूको भनाइ छ ।

प्रतियोगितामा महिला र पुरुष दुवै समावेश हुनेछन् । विजेताहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र, मेडल र कप प्रदान गरिनेछ । पहिलो हुने खेलाडीले ७० हजार, दोस्रोले ४५ हजार र तेस्रोले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । चौथोदेखि दशौं स्थानसम्म पुग्ने खेलाडीहरूले पाँच–पाँच हजार रुपैयाँसहित प्रमाणपत्र, मेडल र ट्रफी पाउनेछन् । सहभागिताका लागि नेपालीलाई ५ सय र विदेशी खेलाडीका लागि १ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।

भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठका अनुसार म्याराथनले यस क्षेत्रको भूगोल, जनजीवन, इतिहास र संस्कृति समेटेर पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको छ । उनले भने, ‘गुरिल्ला म्याराथन अब खेल मात्र नभइ हाम्रो पहिचान र सम्भावनाको अभियान भएको छ । हरेक वर्ष गाउँपालिकाले बजेट विनियोजन गरेर यसलाई निरन्तरता दिइरहेको छ ।’

थवाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढाले थवाङलाई जनयुद्धको उर्वर भूमि भन्दै अब शान्ति र पहिचानको खेती गर्नुपर्ने बताए । उनले भने, ‘यो म्याराथन युद्धको भूमिमा शान्तिको उत्सव हो । जहाँ बन्दुक गर्जन्थ्यो, अहिले त्यहाँ युवा दौडिरहेका छन् ।’ उनका अनुसार म्याराथनका दिन गाउँमा उत्सवको माहोल सिर्जना हुने गरेको छ ।

छैटौं संस्करणमा प्रवेश गरेको गुरिल्ला म्याराथनले बन्दुक बोकेको विगतलाई अब बिब नम्बर र दौडको ऊर्जामार्फत् नयाँ स्वरूपमा बदल्ने प्रयास गरेको छ ।

ADV

सम्बन्धित खबर