
सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले एक–एक गोलको बराबरी खेलेका छन् । सुर्खेतको वीरेन्द्रनगरस्थित नेपाली सेनाको राजदल गणको खेलमैदानमा आज भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक–एक गोल गरेका हुन् ।
खेलको ५१औं मिनेटमा त्रिभुवन आर्मी क्लबका निराजन धामीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । खेलको ६८औं मिनेटमा कोशी प्रदेशका मिलन राईले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
बराबरीसँगै दुवै टोलीले प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । यसअघि सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगिसकेका छन् । यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले एपिएफ र कोशी प्रदेशले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलसहित फाइनल खेल जुम्लामा आयोजना हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।